रहेनन् गणेश, दोषी को हो ? गृहमन्त्रालयमा आकस्मिक बैठक

२५ असार ८३, शुक्रबार

२६ असार , काठमाण्डौ ।

चाउने अथक प्रयासका बीच आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो ।

यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

Advertisement

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पु¥याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनलाई वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।

नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो । उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए ।

Advertisement

पत्रकार सम्मेलनमा अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीले नेपालीको उपचार जटिल र अत्यन्त संवेदनशील अवस्थामा भइरहेको भन्दै बिरामीको गोपनीयता कायम राख्दै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

‘बिरामीको जीवन रक्षाका लागि सरकार, अस्पताल र चिकित्सक टोली एकढिक्का भएर लडिरहेका छौं,’ बुढाथोकीले भनेका थिए, ‘त्यहीअनुसार उपचार भइरहेको छ । यहाँहरुको सकारात्मक सहयोगको पनि वीर अस्पताल अपेक्षा गर्दछ।’ अस्पतालले उपचारमा संक्रमणको जोखिम न्यूनीकरण गर्न र उपचार प्रक्रियामा बाधा नपुगोस् भन्नका लागि उपचारमा संलग्न व्यक्तिबाहेक अन्य व्यक्तिलाई अस्पतालमा आएर अनावश्यक भीडभाड नगरिदिन आग्रह गरेको थियो।

बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।

यता आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ । गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’ गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार गुरुङ केहि बेरमा वीर अस्पतालमा पुग्दैछन् ।

यस्तै नेपालीले आत्मदाह प्रयास गरेकोबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गतका प्रहरीलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा झिकाइएको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राहदानी विभाग अगाडिको पार्किङमा नेपालीको बाइकमा ह्वील लक गर्नुअघि के–कस्तो कुरा भएको हो भन्नेबारे बुझ्न उनीहरूलाई बोलाइएको हो ।

बाइकमा ह्वील लक गरेलगत्तै उनले आफ्नो शरीरमा आगो लगाउना साथ त्यहीँ रहेको महानगरपालिका प्रहरीले खासै वास्ता नगरेको आरोप छ । शरीरमा अत्यधिक आगो सल्किएपछि राहदानी विभागको ड्युटीमा रहेका प्रहरी र प्रत्यक्षदर्शीले नेपालीको उद्धर गरेका थिए ।

प्रहरीले महानगरपालिका प्रहरीका दुई महिलासहित पाँच जनालाई सोधपुछका लागि बोलाइएको एसपी भट्टराईले बताए । गणेशले ट्राफिक जरिवानाकै कारण यस्तो बाटो रोज्नु परेको भन्दै व्यापक रुपमा आलोचना समेत बढेको छ । गणेश आफै जलनमा परेपछि प्रहरीले उनका दाई मदन नेपालीलाई खबर गरेको थियो । मदनका भाइ गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे ।

श्रीमती र झन्डै तीन वर्षकी छोरीसहित भक्तपुरमा डेरा गरी बस्ने गणेश बुधबार भने दाइकै डेरामा पुगेका थिए । दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए भने लोकसेवाको तयारी पनि सँगसँगै गरिरहेका थिए ।

उनले भने, ’अहिले यस्तो भयो ।’ उनले इमर्जेन्सीमा रहेका बेला भाइसँग २–४ कुरा भएको उनले बताएका छन् । उनले भने, ’बाबा–मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो ।’
काठमाडौं प्रहरी परिसरका अनुसार नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विल लक लगाइदिएको थियो ।

आफ्नो बाइकमा ह्विल लक लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए । उता काठमाडौं महानगरपालिकाका नगर प्रहरी विष्णुप्रसाद जोशीले भने सार्वजनिक आवागमनमा अवरोध वा फुटपाथमा अवरोध हुँदा महानगर प्रहरीले ह्विल लक लगाएको तर उनले जरिवाना नतिर्ने बताएपछि मोटरसाइकल उठाउन गाडी पुगेका बेला त्यस्तो घटना भएको बताएका छन् ।

घटनापछि ३ वर्ष पनि नपुगेकी छोरी च्यापेर गणेशकी श्रीमती एकमाया हान्निँदै अस्पताल पुगेकी थिइन् । तर उनले आकस्मिक उपचार कक्षभित्र छिरेर श्रीमान्लाई भेट्न भने पाइनन् । यस्तो किन भयो भन्ने बारे उनी पनि अनविज्ञ छिन् । एकमायालाई श्रीमान्ले कतिमा मोटरसाइकल किनेका थिए र त्यसको किस्ता ठ्याक्कै कति तिरे भन्ने एकिन विवरण पनि छैन ।

यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा सत्यतथ्य नबुझी प्रहरीमाथि आरोप लगाउने काम भएको बताएको छ । नेपालीलाई ट्राफिक जरिबानासमेत नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दाबी गरेको छ । राहदानी विभागले पनि गणेश राहदानीको सेवा लिन नआएको प्रष्टिकरण दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top