२७ चैत , काठमाण्डौ ।
बालेन सरकारले भन्सार र पूर्वाधार शुल्कमा छुट दिएपछि पेट्रोलियम पर्दाथमा केही राहत पुग्ने आशा गरेका जनताको फेरि मूल्यबृद्धिले ढाड सेकिने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।
मूल्यबृद्धिको यो खबरसहित हामी नेपाल टाइम्स अनलाइन टेलिभिजनमा उपस्थित भएका हौं । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल÷मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल÷मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
‘भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६.६५, डिजेलमा प्रति लिटर रु.१०९ दशमलव ५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६ दशमलव ३७घाटा रहेको छ।
निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिन्छ’ आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७ दशमलव ०० डिजेल÷मट्टितेलमा प्रति लिटर रु.२५ दशमलव०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६ ले वृद्धि गरिएको छ’ निगमले भनेको छ ।
अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ । मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आइतबार मात्र पेट्रोलियम पदार्थको भन्सार शुल्क र पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियोे । तर, छुट पश्चात् पनि निगमको घाटा पूर्ति नभएको भन्दै मूल्य वृद्धि गर्नु परेको जनाएको छ ।
पश्चिम एसिया युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अन्तर्राष्ट्रिय रुपमा समस्या देखिँदा नेपाल सरकारले त्यसबाट बच्न उपयको खोजि गरिरहेको छ । पेट्रोलिमय पदार्थको खपत कम गराउन भन्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले आकासिदो पेट्रोलियम पदार्थको मूल्यका कारण घाटामा गइरहेको नेपाल आयल निगमलाई केही राहत दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अघि पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा, डिजेल र मट्टितेलमा १२ रुपैयाँ ३ पैसा, हवाई इन्धनमा २ रुपैयाँ १३ पैसा र ग्यासमा प्रति सिलिण्डर ९० रुपैयाँ ८१ पैसा भन्सार शुल्क लिँदै आएको थियो ।
पूर्वाधारमा भने पेट्रोल र डिजेलमा प्रतिलिटर १०÷१० रुपैयाँ लिँदै आएको थियो । तर मन्त्रिपरिषद्को निर्णयसँगै अब पेट्रोलतर्फको भन्सार महसुल १२ रुपैयाँ ६१ पैसा, डिजेल र मट्टितेलमा ६ रुपैयाँ, हवाई इन्धनमा १ रुपैयाँ ६ पैसा र ग्यासमा ४५ रुपैयाँ ४० पैसा छुट भएको छ । त्यस्तै पेट्रोल र डिजेलमा पूर्वाधार करबापत अब ५÷५ रुपैयाँ छुट भएको छ ।
यस हिसाबमा अब पेट्रोलमा १७ रुपैयाँ ६१ पैसा, डिजेलमा ११ रुपैयाँ छुट हुने छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत र पेट्रोल तथा डिजेलमा लाग्दै आएको पूर्वाधार करमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सामान्य प्रशासनमन्त्री रावलले पनि मूल्य नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न कर छुटको निर्णय लिइएको बताइन् । ‘सरकार पारदर्शी छ, तथ्य लुकाउँदैन र जनताको पीडा पनि बुझ्छ,’ उनले भनिन् । सबैभन्दा धेरै कर लाग्ने शीर्षकबाट ५० प्रतिशत कटौती गर्दा मूल्य नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा रहेको उनले बताइन् ।
पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले आह्वानसमेत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी सामान्य प्रशासनमन्त्री रावलले सम्भव भएसम्म ‘वर्क फ्रम होम’का लागि सरकारका तर्फबाट आह्वान भएको बताइन् ।’ आवश्यक परे जोर–बिजोर प्रणाली पनि लागू गर्ने उनले बताइन् ।
आयल निगमको मूल्य स्थिरीकरण कोषमा माघ अन्तिमसम्म १९ अर्ब रुपैयाँ जम्मा थियो । यो कोष मूल्य नियन्त्रणकै लागि प्रयोग गर्ने सर्तमा निर्माण गरिएको हो । कोषमा प्रतिलिटर पेट्रोलबाट १.८७ रुपैयाँ, डिजेल र मट्टीतेलबाट समान १.६७ रुपैयाँ, आन्तरिक हवाई इन्धनबाट २.५१ रुपैयाँ र बाह्य हवाई इन्धनबाट २.७० रुपैयाँ झिकेर राख्ने गरिन्छ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १९.१० रुपैयाँ झिकेर राखिन्छ । यसरी जम्मा गरिएको कोषमा अहिले करिब दुई अर्ब मात्रै बाँकी रहेको छ । अर्कातिर निगमको चालू आर्थिक वर्ष ०८२÷८३ को हालसम्मको वित्तीय अवस्था ऋणात्मक भइसकेको छ ।


