३२ असार , काठमाण्डौ ।
अमेरिकी रक्षा मन्त्रालयले ३० वर्ष वा सोभन्दा माथिका सबै सैनिकका लागि वार्षिक टेस्टोस्टेरोन परीक्षण सुरु गर्ने घोषणा गरेको छ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले बुधबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत यो कार्यक्रम सैनिकहरूको नियमित वार्षिक स्वास्थ्य परीक्षणमा समावेश गरिने जानकारी दिएका हुन् ।
उनका अनुसार ३० वर्ष वा सोभन्दा माथिका सैनिकका लागि परीक्षण अनिवार्य हुनेछ भने ३० वर्षभन्दा कम उमेरका सैनिकले इच्छाअनुसार परीक्षण गराउन सक्नेछन् । परीक्षणमा टेस्टोस्टेरोनको कमी देखिएमा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी (टीआरटी)लगायत उपचार उपलब्ध हुनेछन्, तर उपचार गर्ने वा नगर्ने निर्णय सम्बन्धित सैनिककै इच्छामा निर्भर रहने हेगसेथले बताए ।
हेगसेथले यो कार्यक्रम कृत्रिम रूपमा क्षमता बढाउने प्रयास नभई सैनिकहरूको प्राकृतिक शारीरिक क्षमता पुनस्र्थापना र सुदृढ गर्ने उद्देश्यले ल्याइएको दाबी गरेका छन् । उनले भने, ‘यो पहल कृत्रिम रूपमा क्षमता बढाउनका लागि होइन। यसको उद्देश्य सैनिकहरूको प्राकृतिक क्षमता पुनस्र्थापना गर्नु, दीर्घकालीन स्वास्थ्यको रक्षा गर्नु र युद्धका लागि आवश्यक जैविक आधार सुदृढ बनाउनु हो,’ ।
अमेरिकाको मेयो क्लिनिकका अनुसार पुरुषमा ३० वा ४० वर्षको उमेरपछि टेस्टोस्टेरोनको स्तर हरेक वर्ष करिब १ प्रतिशतका दरले स्वाभाविक रूपमा घट्दै जान्छ । यो योजना हेगसेथले सेनामा कडा शारीरिक मापदण्ड र ’योद्धा संस्कृति’ स्थापित गर्ने अभियानअन्तर्गत ल्याएको पछिल्लो कदम हो ।
यसअघि उनले सैनिकहरूको तौल, फिटनेस र बाह्य स्वरूपसम्बन्धी कडा मापदण्ड लागू गर्ने घोषणा गरेका थिए । यो घोषणापछि डेमोक्रेटिक पार्टीका केही सांसदहरूले यसको आलोचना गरेका छन् । सिनेटर ट्यामी डकवर्थले यस कार्यक्रमलाई लैङ्गिक पहिचानसँग सम्बन्धित स्वास्थ्य सेवासँग मिल्दोजुल्दो भएको टिप्पणी गरिन् ।
हेगसेथको निर्णयले उनी निश्चित वैचारिक समूहहरूको प्रभावमा रहेको देखाएको प्रतिनिधिसभा सदस्य क्रिसी होलाहानले भनिन् । दुवै सांसदले महिला सैनिकका लागि पनि यस्तै हर्मोन परीक्षणको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार अमेरिकी सेनामा कार्यरत महिलामा बाँझोपन (इन्फर्टिलिटी) सम्बन्धी समस्या सामान्य जनसंख्याको तुलनामा बढी देखिने भएकाले समान स्वास्थ्य परीक्षण आवश्यक छ ।
यो निर्णय अमेरिकी स्वास्थ्य विभागले टेस्टोस्टेरोन उपचारसम्बन्धी केही पुराना कडा नियमहरू खुकुलो बनाउने घोषणा गरेको केही समयपछि आएको हो । तर, यसले राजनीतिक विवाद पनि निम्त्याएको हो । यसैबीच अमेरिकी संसदका १०० भन्दा बढी डेमोक्र्र्याट सांसदले इजरायललाई दिइने अर्बौं डलरको सैन्य सहायता रोक्ने प्रस्तावका पक्षमा मतदान गरेका छन् ।
प्रस्ताव अन्ततः असफल भए पनि यसले इजरायलसम्बन्धी नीतिमा डेमोक्र्र्याटिक पार्टीभित्र बढ्दो मतभेदलाई उजागर गरेको छ । बुधबार रिपब्लिकन सांसद थोमस मासीले प्रस्तुत गरेको संशोधन प्रस्तावका पक्षमा १०३ डेमोक्र्र्याट सांसदले मतदान गरे । राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचक मानिने मासीले इजरायललाई दिइने अमेरिकी सैन्य सहयोगप्रति लामो समयदेखि प्रश्न उठाउँदै आएका छन् ।
प्रस्ताव अन्ततः ३१४ विरुद्ध १०४ मतले अस्वीकृत भयो । ९८ डेमोक्र्र्याट सांसदले यसको विपक्षमा मतदान गरे । १० जना तटस्थ रहे । प्रगतिशील डेमोक्र्र्याटले यो मतदानलाई आफ्नो पक्षमा आएको ऐतिहासिक परिवर्तनका रूपमा व्याख्या गरेका छन् । पहिलोपटक प्रतिनिधिसभाका बहुसंख्यक डेमोक्र्र्याट सांसदले इजरायललाई अर्बौं डलरको सैन्य सहायता रोक्ने पक्षमा मत दिएका उनीहरूले बताएका छन् ।
पार्टीभित्र मत विभाजन हुने सम्भावना देखिएपछि डेमोक्र्र्याटिक नेतृत्वले आफ्ना सांसदलाई कुनै निश्चित पक्षमा मतदान गर्न निर्देशन दिएको थिएन । दुई वर्षअघि यस्तै प्रस्तावमा ३७ डेमोक्र्र्याट सांसदले मात्र समर्थन गरेका थिए । यसैबीच अमेरिकामा गरिएको नयाँ जनमत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिकले इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत भएको ठानेको देखाएको छ ।
युगभ र द इकोनोमिस्टले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार ५७ प्रतिशत उत्तरदाताले इरानविरुद्ध युद्ध सुरु गर्नु गलत निर्णय भएको बताएका छन् । सर्वेक्षणमा सहभागी भएका २७ प्रतिशतले मात्र यो निर्णय सही रहेको बताएका छन्। सर्वेक्षणले युद्धको अवधिबारे पनि अमेरिकी जनतामा निराशावादी धारणा रहेको देखाएको छ ।
यसअनुसार ४६ प्रतिशत अमेरिकीले युद्ध अझ कम्तीमा एक वर्ष वा त्यसभन्दा बढी समयसम्म जारी रहने विश्वास व्यक्त गरेका छन् । युद्ध एक महिनाभित्र समाप्त हुनेछ वा अहिले नै सकिएको छ भन्ने धारणा राख्नेहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ । मार्चमा यस्तो धारणा राख्ने २० प्रतिशत उत्तरदाता रहेकामा अहिले त्यो संख्या घटेर ८ प्रतिशतमा झरेको सर्वेक्षणले देखाएको छ ।




