बालेनको सपनाः जनकपुरलाई Wedding Hub बनाउने योजना कहाँ पुग्यो?

३२ असार ८३, शुक्रबार

१ साउन , काठमाण्डौ ।

आजभोलि विश्वभर नै डेस्टिनेसन वेडिङ अर्थात् कुनै नयाँ, सुन्दर र रमणीय गन्तव्यमा पुगेर विवाह गर्ने चलन निकै बढ्दो छ। मानिसहरू आफ्नो विवाहको लागि इन्डोनेसियाको बाली पुग्छन्, भारतको जयपुर पुग्छन्, वा युरोपका प्राचीन सहरहरू रोज्छन्।

तर, के हाम्रो आफ्नै देश नेपाल, अझ विशेष गरी माता सीताको पवित्र जन्मभूमि जनकपुर, विश्वकै उत्कृष्ट र आकर्षक विवाह गन्तव्य बन्न सक्ला त? जनकपुरलाई ’विवाह गन्तव्य’ (वेडिङ डेस्टिनेसन) बनाउने विषयकेही वर्ष यता चर्चामा छ, तर घोषणा यता यथार्थमा कति प्रगति भयो त ?

Advertisement

आज हामी यही प्रश्नहरुको सेरोफेरोमा रहेर तथ्याङ्क र सरोकारवालाका आवाजसहित यो वस्तुस्थिति बारे चर्चा गर्नेछौँ। पछिल्लो सपना सुरु हुन्छ, गएको माघ ५ गतेको रास्वपाको चुनावी अभियानबाट । जनकपुरको पवित्र भूमिमा उभिएर सम्बोधन गर्ने क्रममा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका हालका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले एउटा गम्भीर प्रश्न उठाएका थिए ।

उनले भनेका थिए “राम र जानकीको विवाह भएको यो यति पवित्र भूमि छाडेर नेपालीहरू नै ’डेस्टिनेसन वेडिङ’का लागि भारतको जयपुर वा इन्डोनेसियाको बाली किन गइरहेका छन ?“ यो केवल एउटा प्रश्न मात्र थिएन, यो जनकपुरको सम्भाव्यतामाथिको एउटा ठूलो सङ्केत थियो।

Advertisement

नभन्दै, यो सोचले राज्यको नीति निर्माण तहमा पनि प्रवेश पायो। यसपालिको बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जनकपुरलाई विवाहको गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने कुरा स्पष्ट रूपमा उल्लेख गरे। तर सरकारको नीति अनि बजेटमा यो विषय समेटिएको चाँही पहिलो पटक मात्रै होइन ।

आर्थिक वर्ष २०८१÷८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले समेत जनकपुरलाई विवाहको ’हब’ र लुम्बिनीलाई ’बर्थिङ हब’ बनाउने महत्त्वाकाङ्क्षी घोषणा गरेका थिए। घोषणा त भए, बजेटमा पनि राखियो । तर, नतिजा देखिएन। नीति र बजेट कागजमा मात्रै देखिए।


दर्शकवृन्द, जब हामी भारतीय नागरिकलाई नेपालमा आएर विवाह गर्न प्रेरित गर्ने कुरा गर्छौँ, तब हामीले उनीहरूको संस्कृतिलाई पनि बुझ्न जरुरी हुन्छ । कि भारतीय विवाहहरू भव्य हुन्छन्, जहाँ गरगहना र उपहारको ठूलो महत्त्व हुन्छ। तर, हाम्रो कानुन र नीतिहरू यहाँनेर ठूलो तगारो बनेर उभिएका छन्।

हालै मात्र होटेल व्यवसायी सङ्घ (हान) का प्रतिनिधिहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष भेटेर यही समस्याको ध्यानाकर्षण गराएका छन्। भारतीयहरूको नेपालका विवाह गन्तव्यमा अत्यन्तै धेरै रुचि रहेको तर, उनीहरू विवाहका लागि आउँदा लगाउने र ल्याउने गरगहनामा हाम्रो भन्सार र कानुनले जुन जटिलता सिर्जना गरेको र त्यसले उनीहरूलाई निरुत्साहित बनाइरहेको हानका उपाध्यक्ष दिनेश तुलाधरको भनाई छ ।

प्रधानमन्त्रीले यो समस्या समाधान गर्ने आश्वासन त दिएका छन, तर नीतिगत अस्पष्टता नहटेसम्म विदेशी जोडीलाई आकर्षित गर्न गाह्रो हुने व्यवसायीहरूको भनाई छ । एक प्रतिशत पनि काम भएको छैन? काठमाडौँको सिंहदरबारमा नीतिहरू बन्दै गर्दा, जनकपुरको वास्तविक अवस्था कस्तो छ त ?

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीका शब्दमा सुन्ने हो भने अवस्था निकै निराशाजनक छ । “घोषणा त भयो, तर सय प्रतिशतमा एक प्रतिशत पनि काम भएको छैन। यो राम–सीताको विवाहस्थल हो, यहाँ पर्याप्त बजेट विनियोजन गरेर काम गर्नुपर्नेभनको भनाई छ।

भण्डारीका अनुसार जनकपुर आउने भारतीय पर्यटकहरूले पाइला–पाइलामा सास्ती भोग्नुपर्छ। विगतमा राति १० बजेसम्म खुला रहने भन्सार छुट पुर्जीको व्यवस्था अहिले बेलुका ५ बजे नै बन्द हुन्छ। अझ आर्थिक कारोबारको झन्झट त झनै उदेकलाग्दो छ। पहिला सीमामा रहेका सटही काउन्टरहरू बन्द गरिएका छन्।

भारतीय पर्यटकले ५ लाख रुपैयाँ त परै जाओस्, जम्मा २५ हजार रुपैयाँ मात्रै बोकेर आउन पाउने नियम छ। विवाहमा दिइने उपहारका सामानहरू ल्याउँदा पनि भन्सार काट्नैपर्ने बाध्यताले ’अतिथि देवो भवः’ को हाम्रो नारालाई नै गिज्याइरहेको भान हुन्छ।

यति धेरै गुनासा र समस्याहरूका बीच, सरकारले भने केही रणनीतिक कदमहरू चालिरहेको दाबी गर्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, सरकार जनकपुरलाई विवाहको, पोखरालाई ’हनिमुन’को र लुम्बिनीलाई ’बर्थिङ हब’को रूपमा विकास गर्न प्रतिबद्ध छ।

सांस्कृतिक रूपमै नेपाल र भारतबीच गरगहना लगाउने चलन छ र यसलाई सम्बोधन गर्न अर्थ मन्त्रालयसँग समन्वय गरेर नीतिगत बाटो फुकाउने प्रयासमा रहेको आचार्यको भनाई छ। सबैभन्दा खुसीको कुरा त के छ भने, सरकारले प्राचीन स्मारकसम्बन्धी कानुनअन्तर्गत जनकपुरलाई राष्ट्रिय स्मारकमा सूचीकृत गरी ’विश्व सम्पदा सूची’ मा पार्ने प्रयास गरिरहेको छ।

सन् २०२७ को ’आरोग्य वर्ष’ र वि.सं. २०८५ को ’नेपाल भ्रमण वर्ष’सम्ममा यी सबै कुराले मूर्तरूप लिए जनकपुर साँच्चै नै विश्वस्तरको गन्तव्य बन्ने सरकारको विश्वास छ। नेपालमा विवाह पर्यटनको सम्भावना जनकपुरमा मात्र सीमित छैन। नेपाल पर्यटन बोर्डले यसै वर्षको अप्रिलमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र हानसँग मिलेर भारतका ’वेडिङ प्लानर’ हरूसँग एउटा महत्त्वपूर्ण छलफल गरेको थियो।

भारतीय उच्च मध्यम वर्गले गर्ने खर्च हाम्रा होटेलहरूका लागि निकै आकर्षक रहेको छ ।  तराईका सीमा क्षेत्रमा पूर्वाधारहरू राम्रो बन्दै गएका छन् भने बिहार राज्यमा मदिरा प्रतिबन्धित भएका कारण पनि कर्पोरेट कार्यक्रम र विवाहका लागि भारतीयहरू नेपालका सीमावर्ती होटेलमा आउने क्रम बढ्दो छ।

अझ रोचक कुरा त के छ भने, पश्चिमा देशका जोडीहरू पनि नेपालको प्राकृतिक सुन्दरताबाट लोभिएका छन्। मौसम, प्रकृतिको निकटता, र सांस्कृतिक विविधता यी सबै हिसाबले नेपाल एक उत्कृष्ट ’वेडिङ डेस्टिनेसन’ बन्न सक्ने पूर्ण सम्भावना छ । तर, सम्भावनाको यो सुनौलो महल निर्माण गर्न केवल बजेटका सुन्दर भाषणहरू मात्र पर्याप्त छैनन्।

सीमा नाकामा हुने व्यावहारिक झन्झट, मुद्रा सटहीका कडा नियम, र गरगहनामाथिको भन्सार नीतिजस्ता ’साना तर गम्भीर’ तगाराहरू पन्छाउनु सरकारको पहिलो दायित्व हो।जनकपुरले आफ्नो सिन्दुरे इतिहासलाई सदूपयोग गरेर आधुनिक अर्थतन्त्रको बलियो खम्बा बन्ने बाटो हेरिरहेको छ।

कुरा होइन काम गर्ने भन्ने बालेन सरकारले के यो योजनालाई साँच्चै वास्तविकतामा बदल्ला ? या यो पनि केवल एउटा चुनावी र बजेटको नारा मात्रै बनेर रहला? यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top