इरानको ‘अपरेसन लाइटनिङ’को सत्रौँ चरण सुरु,कुबेतमा बम वर्षा

३ साउन , काठमाण्डौ ।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूविरुद्ध फेरि हवाई हमलाको नयाँ अभियान थालिएको घोषणा गरेको छ। बीबीसी फारसीका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहरी क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफमा अपरेसन लाइटनिङको १७औँ चरण सुरु गरिएको छ।’

इरानी सेनाका अनुसार, यो अपरेसनअन्तर्गत कुवेतको क्याम्प अल–अदिरीमा रहेको अमेरिकी हतियार भण्डारलाई निसाना बनाइएको छ। यसैगरी अली अल–सलेम एयर बेसमा रहेको सैन्य उपकरण र कर्मचारी सुविधालाई पनि फेरि लक्ष्य गरिएको छ।

Advertisement

इरानले अमेरिकासँग हालै तनाव बढेदेखि कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा निरन्तर आक्रमण गरिरहेको दाबी गरेको छ। यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन । यसैबिच कुवेती सेनाले इरानको हवाई आक्रमणको जवाफ दिइरहेको दाबी गरेको छ।

अमेरिकी सेनाले इरानमाथि लगातार आठौँ रात हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (यूएस सेन्ट्रल कमान्ड) का अनुसार यी आक्रमणहरूमा इरानका निगरानी प्रणाली, हवाई प्रतिरक्षा संरचना, समुद्री सैन्य क्षमता तथा मिसाइल र ड्रोन भण्डारण स्थललाई निशाना बनाइएको छ।

Advertisement

यी आक्रमण इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाएपछि गरिएको हो। उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यसपछि मध्यपूर्वमा तनाव थप बढेको छ भने अमेरिकाले क्षेत्रका आफ्ना सैनिकलाई उच्च सतर्कतामा राखेको छ।

इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्ट का अनुसार पश्चिम एसियामा रहेका ५० हजारभन्दा बढी अमेरिकी सैनिकलाई पूर्ण रूपमा ’अलर्ट मोड’ मा राखिएको छ। सम्भावित थप कारबाहीलाई ध्यानमा राख्दै अमेरिकाले अरब क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाइरहेको छ।

यसका लागि जर्मनीको स्पाङ्डाहलेम एयर बेसबाट एफ–१६ तथा बेलायतबाट एफ–३५ स्टेल्थ लडाकु विमान पठाइँदैछ। ती विमान इजरायल र अन्य अमेरिकी सैन्य अड्डामा तैनाथ गरिने जनाइएको छ। साथै, हवाई उडानकै क्रममा इन्धन भर्न सक्ने अतिरिक्त एरियल रिफ्युलिङ विमान पनि इजरायल पठाइँदै छन्।

त्नाव बढ्दै गएपछि अमेरिकी विदेश मन्त्रालयले विश्वव्यापी सुरक्षा सतर्कता जारी गरेको छ। मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकलाई उच्च सावधानी अपनाउन आग्रह गर्दै इरान समर्थित समूहहरूले अमेरिकी नागरिक तथा अमेरिकी हितका लक्ष्यहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ।

जेरुसेलम पोस्ट का अनुसार अमेरिका र इरानबीच बढ्दो तनावलाई इजरायलले पनि नजिकबाट निगरानी गरिरहेको छ। अमेरिकी सेनाले लगातार आठ दिनको आक्रमणपछि नवौँ दिनका लागि पनि सैन्य कारबाहीको तयारी गरिरहेको बताइएको छ। इजरायली अधिकारीहरूका अनुसार हालसम्म इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण नगरे पनि आगामी दिनमा परिस्थिति जुनसुकै दिशामा जान सक्ने आकलन गरिएको छ।

यसैबीच, अमेरिकी अधिकारीहरूले इजरायललाई तत्काल प्रत्यक्ष युद्धमा सहभागी नहुन आग्रह गरेका छन्। इजरायलले इरानविरुद्धको सैन्य अभियानमा सहभागी हुने प्रस्ताव गरे पनि वासिङ्टनले त्यसलाई अस्वीकार गरेको बताइएको छ। यद्यपि, यदि इरानबाट इजरायलमाथि प्रत्यक्ष आक्रमण भयो भने इजरायली सेनाले तेहरानलगायतका रणनीतिक पूर्वाधारमा पुनः आक्रमण गर्न सक्ने संकेत इजरायली अधिकारीहरूले दिएका छन्।

सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ हवाई आक्रमण गर्न निर्देशन दिएका छन्। अमेरिकी सेनाले यी आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता कमजोर बनाउनु र जोर्डनमा भएको आक्रमणको प्रतिशोध लिनु रहेको जनाएको छ।

जोर्डनमा मारिएका दुई सैनिकसँगै यस द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ। यसअघि बेपत्ता रहेका एक नौसेना पाइलटलाई पनि मृत घोषणा गरिएको थियो। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले अमेरिकाले जुन महिनामा भएको युद्धविराम सम्झौता पटक–पटक उल्लङ्घन गरेको आरोप लगाएका छन्।

उनले इरानले त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका १० वटा इरानी मिसाइल अवरोध गरी खसालेको जनाएको छ। यस घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको अधिकारीहरूले बताएका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले जोर्डनस्थित अल–अजराक एयर बेसमा कम्तीमा दुई अमेरिकी लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। तर अमेरिकाले यस दाबीको पुष्टि गरेको छैन। इरान–अमेरिका तनावका कारण विश्वकै प्रमुख तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्यमा संकट गहिरिएको छ।

इरानले जलमार्ग बन्द गरेको दाबी गरिएको छ भने अमेरिकाले पनि नाकाबन्दीको चेतावनी दिएको छ। यसले विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ। अमेरिकाले इरानका बन्दरगाह र समुद्री गतिविधिमाथि पुनः कडा प्रतिबन्ध लागू गरेको जनाएको छ।

सेन्ट्रल कमान्डका अनुसार धेरै व्यापारिक जहाजले आफ्नो मार्ग परिवर्तन गरिसकेका छन्। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व तथा अरब क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षा परामर्श जारी गरेको छ। मन्त्रालयले क्षेत्रीय सुरक्षा अवस्था अत्यन्त अस्थिर रहेको र कुनै पनि बेला परिस्थिति थप बिग्रन सक्ने चेतावनी दिएको छ।

अपरेसन लाइटनिङ इरानले अमेरिकाविरुद्ध सञ्चालन गरिरहेको प्रतिशोधात्मक सैन्य अभियान हो। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य तथा रणनीतिक पूर्वाधारमा हवाई आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले यो अभियान सुरु गरेको जनाएको छ।

यस अभियानमार्फत इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा, हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र तथा अन्य रणनीतिक संरचनालाई मिसाइल र ड्रोनमार्फत निशाना बनाइरहेको दाबी गरेको छ। इरानी अधिकारीहरूका अनुसार अभियानको मुख्य उद्देश्य अमेरिकी सैन्य उपस्थितिलाई चुनौती दिनु, अमेरिकी आक्रमणको प्रतिशोध लिनु तथा क्षेत्रीय शक्ति सन्तुलनमा आफ्नो प्रभाव कायम राख्नु हो।

यसअन्तर्गत जोर्डन, कुवेत, बहराइनलगायत देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी विभिन्न चरणमा ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमण गरिएको इरानले जनाएको छ। इरानले ‘अपरेसन लाइटनिङ’ चरणबद्ध रूपमा सञ्चालन भइरहेको बताएको छ।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का अनुसार अभियानका क्रममा अमेरिकी सैन्य पूर्वाधारमा क्षति पुगेको दाबी गरिएको छ। तर इरानले गरेका सबै दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। अमेरिकाले पनि इरानका धेरै दाबीलाई अस्वीकार गर्दै आफ्ना सैन्य कारबाही इरानको आक्रमण रोक्न र आफ्ना सैनिकको सुरक्षा सुनिश्चित गर्न गरिएको बताएको छ।

विश्लेषकहरूका अनुसार ‘अपरेसन लाइटनिङ’ केवल सैन्य अभियान मात्र नभई अमेरिका र इरानबीचको शक्ति प्रदर्शनको एउटा महत्वपूर्ण चरण पनि हो। यदि दुवै पक्षले सैन्य आक्रमणलाई निरन्तरता दिए भने यसले क्षेत्रीय द्वन्द्वलाई अझ व्यापक बनाउने र विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा सुरक्षा व्यवस्थामा समेत गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top