नेपालमा प्रेममा असफल भएपछि टावर चढ्ने खतरनाक ट्रेन्ड सुरु?

२ साउन ८३, आइतबार

३ साउन , काठमाण्डौ ।

मानिस प्रेममा पर्छन्, सँगै जिउने बाचा गर्छन्, र कहिलेकाहीँ तिनै बाचाहरू टुट्दा विक्षिप्त पनि हुन्छन् । पछिल्लोसमय नेपालमा आफ्नो प्रेम पाउन वा प्रेमी–प्रेमिकालाई दबाब दिन ज्यानै जोखिममा पारेर अग्ला टेलिकमका टावरहरूमा चढ्ने जुन नयाँ र डरलाग्दो ’ट्रेन्ड’ सुरु भएको छ । त्यसले सबैलाई अचम्मित र त्रसित बनाएको छ ।

आजको सर्लाहीबाट सार्वजनिक भएको ताजा घटनाबाट कुरा सुरु गरौँ। बिहानको झिसमिसेमै सर्लाहीको मलंगवामा एउटा अकल्पनीय दृश्य देखियो। बिहान ५ बजेर ४५ मिनेट जाँदा, जब धेरैजसो मानिसहरू निद्रामै थिए, गोडैता नगरपालिका–९ का एक २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको विशाल टावरको टुप्पोमा पुगिसकेका थिए।

Advertisement

बिहानपख बाटो हिँड्नेहरूले जब टावरको टुप्पोमा एक मानिसलाई देखे, गाउँमा एकाएक कोलाहल मच्चियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर गणेश पाण्डेका अनुसार, ती युवकको एउटै मात्र माग थियो “जसरी पनि मेरी प्रेमिकासँग मेरो विवाह गराइदेऊ, नत्र म यहीँबाट हाम फालेर प्राण त्याग्छु।“

क्षणभरमै टावरको वरिपरि सयौँ मानिसको भिड जम्मा भयो। परिवारका सदस्यहरूको रुवाबासी चल्न थाल्यो। तलबाट स्थानीय र प्रहरीले अनेकौँ बिन्तीभाउ गरे, तर ती युवक टसमस भएनन्। प्रहरीलाई परिस्थितिलाई नियन्त्रणमा लिन निकै सकस प¥यो।

Advertisement

लामो समयको मनोवैज्ञानिक प्रयास, निरन्तरको सम्झाइबुझाइ र अनेकौँ आश्वासन पछि बल्ल साढे ८ बजेतिर ती युवकलाई सकुशल टावरबाट भुइँमा ओराल्न प्रहरी सफल भयो। सुरक्षा संवेदनशीलता र उनको मानसिक अवस्थालाई ध्यानमा राख्दै उनको नाम गोप्य राखिएको छ। अहिले उनलाई उपचार र आवश्यक परामर्शका लागि अस्पताल लगिएको छ।

टावरमा चढेर मरिदिने धम्की दिने यो घटना कुनै पहिलो भने होइन। ठीक यस्तै प्रकृतिको कहालीलाग्दो घटना गत जेठ महिनामा पनि घटेको थियो, जसले सिङ्गो देशकै ध्यान तानेको थियो। बाँके जिल्लामा पनि ठ्याक्कै यस्तै प्रकृतिको एउटा घटना घटेको थियो ।

डुडुवा गाउँपालिका–१, उचुवा सन्तलियाकी १८ वर्षीया युवतीले आफ्नो प्रेम सम्बन्धलाई घरपरिवारले स्वीकार नगरेपछि वडा नम्बर २ को जाफरपुर्वा गाउँस्थित मोबाइल टावरमा चढेकी थिइन्। स्थानीयका अनुसार, आफ्नै गाउँका एक युवकसँग उनको प्रेम सम्बन्ध थियो।

दुवै मुस्लिम समुदायका भएपनि परिवारले उक्त सम्बन्ध स्वीकार गरेको थिएन।परिवारको त्यही असहमतिबाट विक्षिप्त बनेकी ती किशोरी दिउँसोपख टावरको टुप्पोमा पुगिन् र एउटै अडान लिइन “मेरो प्रेमीलाई नबोलाएसम्म म तल झर्दिनँ।“ इलाका प्रहरी कार्यालय बेतहनी र जिल्ला प्रहरी कार्यालय बाँकेको टोली तत्काल घटनास्थल पुग्यो।

प्रहरीले तलबाटै धेरै सम्झाउने प्रयास ग¥यो, तर उनी आफ्नो मागमा टसमस भइनन्। वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद बर्माका अनुसार, प्रेम सम्बन्धकै विषयलाई लिएर उनी टावरमा चढेकी थिइन्। अन्ततः जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाको समन्वयमा किशोरीका आफन्तहरूलाई नै त्यहाँ बोलाइयो।

लामो समयको सम्झाइबुझाइ र अनेकौँ प्रयासपछि मात्रै ती किशोरीलाई सुरक्षित रूपमा टावरबाट तल झारिएको थियो। दर्शकबृन्द, बाँकेको डुडुवा घटनाको एक हप्ताअघि मात्रै नेपाल–भारत सीमा नाका रुपैडिहामा पनि ठीक यस्तै घटना भएको थियो, र आज फेरि सर्लाहीमा उही प्रकृतिको घटना दोहोरिएको छ।

यी लगातारका घटनाहरूले एउटा डरलाग्दो यथार्थलाई औँल्याइरहेका छन्। सामाजिक सञ्जालमा भाइरल हुने यस्ता भिडियो र टिकटक ट्रेन्ड को नकारात्मक प्रभाव हाम्रो युवापुस्ताको मस्तिष्कमा कति गहिरोसँग परिरहेको छ भन्ने कुराको यो जीवन्त उदाहरण हो।

रिल लाइफ को नक्कल रियल लाइफमा कति घातक हुन सक्छ भन्ने कुरा यी घटनाहरूले स्पष्ट पारेका छन्।प्रहरीको संयमता, परिवारको साथ र समयमै गरिएको सही काउन्सिलिङले यी अमूल्य जीवनहरू त बचे, तर सधैँ भाग्य र समय अनुकूल हुन्छ भन्ने छैन।

त्यसैले, प्रेममा धोका खाँदैमा वा भनेको कुरा पूरा नहुँदैमा मृत्युलाई रोज्नु कुनै पनि हालतमा समाधान होइन। आफ्ना छोराछोरीको मानसिक अवस्था बुझ्न, उनीहरूका भावना सुन्न र उनीहरूलाई सही मार्गदर्शन दिन अभिभावकहरू बेलैमा सचेत हुन नितान्त जरुरी भइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top