मौसम अपडेटः ५ प्रदेशमा भारी वर्षा, २४ घण्टामा ४७ विपद्का घटना

६ साउन ८३, बिहीबार

७ साउन , काठमाण्डौ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले आज देशभर नै मध्यम वर्षा हुने र विभिन्न ५ प्रदेशमा भने भारी वर्षा हुने पूर्वानुमान छ । पछिल्लो २४ घण्टामा मात्रै विपद्का ४७ वटा घटना घटेका छन् । सरकारले मनसुनजन्य उच्च विपद्को जोखिम रहेको भन्दै सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बादल लागेको छ ।

Advertisement

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा आज विहानैदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

राति भने देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागको केही र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर कुल ४७ वटा विपद्का घटना घटेका छन् । प्राधिकरणका अनुसार विपद्का कारण रु १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ । विपद्मा परेर तीन जनाको ज्यान जाँदा आठ जना घाइते भएका छन् । यही ५ देखि ६ साउन बिहानसम्म सर्पदंश र आगलागीका आठ÷आठ वटा घटना घटेका छन् ।

यस्तै, बाढीका दुई, पहिरोका १४, अविरल वर्षाका आठ, जनावर आक्रमणका तीन र हावाहुरीको एक घटना घटेका छन् । यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढीपहिरो, कटान, डुबान, चट्याङ, सर्पदंशजस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ । ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ ।

वर्षा भइरहेको समयमा काठदाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ । जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटो, भिडियो नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को सङ्केत देखिएमा सुरक्षित स्थानमा जान तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ ।

यसैगरी, आफ्नो घरवरिपरि रहेका ढल तथा नाली सफा राख्न, बर्खाको समयमा सर्पले डस्ने जोखिम धेरै हुने भएकाले घरवरपर सफा राख्न र राति बाहिर हिँड्दा टर्च लाइटको प्रयोग गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ । चट्याङ पर्न लागेमा तुरुन्त सुरक्षित स्थानमा जान, महत्वपूर्ण कागजात, अत्यावश्यक औषधि तथा नबिग्रने खानेकुरा एउटा झोलामा सुरक्षित राख्न र मोबाइलमा पर्याप्त ब्यालेन्स तथा ब्याट्री चार्ज गरेर राख्न प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।

अफवाहको पछि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम तथा विपद्बारेको आधिकारिक सूचना नियमित रूपमा सुन्न एवं हेर्न सचेत गराइएको छ । विपद्सम्बन्धी सूचना एवं उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top