२८ वैशाख , काठमाण्डौ।
काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेपनि सबै यात्रुलाई सुरक्षित उद्यार गरिएको र विमानस्थल पनि सुचारु भएको छ । सो विमानमा लागेको आगो दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको हो । इस्तानबुलबाट काठमाडौं आएको टिके ७२६ विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।
तर आगो नियन्त्रणमा आएको र विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । उक्त विमानमा कुल २८८ जना सवार थिए ।
जसमा २७३ यात्रु, ११ चालकदलका सदस्य र ४ शिशु रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ ।उक्त विमान धावनमार्गमै रोकिएपछि केहीबेर अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको थियो ।
त्यसक्रममा बुद्ध एयरको जहाज सिमरा, श्रीएयरको विमान विराटनगर, एयर इन्डियाको जहाज दिल्ली र फ्याइ दुबईको जहाज लखनउ डाइभर्ट भएका थिए । घटनाका क्रममा टर्किस एयरलायन्सको वाइडबडी विमान ट्याक्सी–वे ‘ब्राभो’ मा अड्किएको थियो । विमानको करिब ३० प्रतिशत भाग रनवेमा र बाँकी ७० प्रतिशत भाग ट्याक्सी–वेमा रहेका कारण सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र विमानस्थल सञ्चालन रोक्नुपरेको थियो ।
तर अब विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ । जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो । यसअघि दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको हो ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् ।
टर्किस विमान ल्यान्ड गर्ने क्रममा राइटसाइडका ह्विलहरूमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । प्रारम्भिक जानकारीअनुसार विमानको दायाँ मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको (टायर अन फायर) थियो । आगलागीको सम्भावित कारणमा हार्ड ल्यान्डिङ, टायर प्रेसर वा अन्य प्राविधिक कारण हुनसक्ने बताइएको छ ।
तर विस्तृत अनुसन्धान जारी छ । घटनापछि विमानलाई ग्राउन्डेड गरिएको छ र काठमाडौंबाट उड्ने तयारीमा रहेका यात्रुहरूलाई होटलमा बस्ने व्यवस्था गरिएको छ । अत्यावश्यक यात्रुहरूलाई अन्य विमानमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको छ । विमान हाल पूर्ण रूपमा ग्राउन्डेड (उडान रोकिएको) अवस्थामा छ र प्राविधिक परीक्षण भइरहेको छ ।
विमानको मर्मत, मर्मतसम्भार तथा ओभरहोल (एमआरओ) टोलीले त्रिभुवन विमानस्थलमै अनुसन्धान गर्नेछ। साथै प्राधिकरणको फ्लाइट सेफ्टी विभागले पनि विस्तृत जाँच गर्नेछ । टर्किस एयरलाइन्सले नेपालमा हप्तामा पाँच वटा उडान सञ्चालन गर्दै आएको छ, जसले नेपाललाई युरोप, अमेरिका र क्यानडासँग जोड्दै आएको छ । यो नेपालमा सञ्चालन हुने युरोप–आधारित लामो दूरीको उडानमध्ये एक प्रमुख एयरलाइन्स मानिन्छ ।



