१५ साउन, काठमाण्डौ ।
संयुक्त राज्य अमेरिका र इरानबीचको चुलिँदो सैन्य द्वन्द्वले मध्यपूर्व क्षेत्रको सुरक्षा व्यवस्था गम्भीर संकटमा धकेलिएको छ । यो संवेदनशील परिस्थितिबीच अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्ग तथा जलमार्गहरूको सुरक्षा सुदृढ गर्न साउदी अरबले अघि बढाएको ’समुद्री रक्षा गठबन्धन’ को प्रस्तावलाई १४ वटा मुलुकले औपचारिक समर्थन गरेका छन्।
साउदी अरबको रक्षा मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, सामरिक रूपमा अति महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय जलमार्गहरूमा भइरहेको अवरोध हटाउन र विश्वव्यापी व्यापारिक आपूर्ति शृङ्खला सुरक्षित राख्न यो गठबन्धन निर्माणको पहल गरिएको हो।

यद्यपि, सुरक्षाको कारण देखाउँदै मन्त्रालयले उक्त गठबन्धनलाई समर्थन गर्ने अन्य देशहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन।अमेरिका–इरान टकरावको प्रत्यक्ष असर विश्वको ऊर्जा तथा पेट्रोलियम पदार्थको ढुवानी हुने प्रमुख मार्गहरूमा पर्न थालेको छ।
विशेष गरी वैश्विक अर्थतन्त्रको मेरुदण्ड मानिने होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूको आवागमन न्यून बिन्दुमा पुगेको छ। यसअघि सामान्य अवस्थामा सो जलमार्ग भएर दैनिक औसतमा करिब १२० वटा ठूला व्यापारिक जहाजहरू आवतजावत गर्ने गरेका थिए।
तर, पछिल्लो २४ घण्टाको अवधिमा यहाँ जम्मा १५ वटा मात्र व्यावसायिक जहाजहरूले यात्रा गरेको तथ्याङ्क बाहिर आएको छ।
समुद्री यातायात तथा जहाजहरूको वास्तविक समयको स्थिति ट्र्याक गर्ने संस्था ‘मरीनट्राफिक’ ले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा जम्मा १० वटा जहाजहरू मात्र पर्सियन गल्फतर्फ प्रवेश गरेका छन्, जसमध्ये ७ वटा कार्गो जहाज र ३ वटा इन्धन बोक्ने ट्यांकरहरू रहेका छन्।
यसैगरी, सोही अवधिमा मात्र ५ वटा जहाजहरू गल्फ अफ ओमानतर्फ बाहिरिएका छन्। यस किसिमको अनपेक्षित गिरावटले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्ति र व्यापारिक ढुवानीमा गहिरो असर पार्ने देखिएको छ।
मध्यपूर्वको अर्को सामरिक रूपमा अति संवेदनशील मानिने ‘बाब अल–मन्देब’ जलडमरूमध्यको यातायात पनि प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा यस जलमार्ग भएर ४८ वटा व्यावसायिक जहाजहरू पार गरेका छन्, जुन अघिल्लो दिन ३७ वटा थियो।
इरान समर्थित हुथी विद्रोहीहरूले यस साँघुरो समुद्री मार्गमा दबाब र प्रभाव बढाउन थालेपछि समग्रमा बाब अल–मन्देबमा जहाजको आवागमन युद्धपूर्वको तुलनामा करिब एक–पाँचौँ भागले घटेको जनाइएको छ।
यसैक्रममा, यो द्वन्द्व अब अन्य क्षेत्रीय मुलुकहरूतर्फ पनि फैलिने संकेत देखिएको छ। इजिप्टले बुधबार आफ्नो प्रमुख ‘दमियेटा बन्दरगाह’ क्षेत्रमा भएको शङ्कास्पद ड्रोन आक्रमणका कारण दुईवटा व्यापारिक जहाजमा भीषण आगलागी भएको पुष्टि गरेको छ ।
यद्यपि, हालसम्म यस आक्रमणको जिम्मेवारी आधिकारिक रूपमा कुनै पनि पक्षले लिएको छैन। यदि यो जानाजानी गरिएको सुनियोजित आक्रमण हो भन्ने पुष्टि भएमा, हाल चलिरहेको अमेरिका–इरान द्वन्द्व सुरु भएयता इजिप्टको भूभाग र भौतिक संरचनामाथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हुनेछ।
उता इरानको राजधानी तेहरानमा रहेको इस्लामिक रिभोलुसनरी गाड्र्स (क्ष्च्न्ऋ) ले कडा चेतावनी जारी गर्दै होर्मुज जलमार्ग आगामी दिनहरूमा पनि पूर्ण रूपमा बन्द रहने स्पष्ट पारेको छ। साथै, उसले आफ्ना सामरिक क्षेत्रमाथि हस्तक्षेप गर्ने ‘आक्रमणकारीहरूलाई आजै कडा सजाय दिइने’ चेतावनी समेत दोहो¥याएको छ।
अमेरिकी सैन्य नेतृत्वले यसअघि मङ्गलवार आफ्ना मध्यपूर्वस्थित सैन्य अखडामाथि इरानले ड्रोन तथा क्षेप्यास्त्र आक्रमणको असफल प्रयास गरेको दाबी गरेको थियो, जसको बदलास्वरूप बुधबार राति अमेरिकी फौजले इरान समर्थित विभिन्न अखडा लक्षित गर्दै ठूलो स्तरमा हवाई आक्रमण गरेको थियो।क्षेत्रीय द्वन्द्वका अन्य मोर्चामा पनि सैन्य गतिविधीहरू तिव्र बनेका छन्।
इजरायली सेनाले दक्षिणी लेबनानको सामरिक ‘ब्यूफोर्ट’ क्षेत्रमा सक्रिय हिजबुल्लाह समूहका भूमिगत सुरुङ सञ्जालहरूलाई लक्षित गरी ठूलो कारबाही गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले संयुक्त वक्तव्य जारी गर्दै करिब ७०० टन शक्तिशाली विस्फोटक पदार्थको प्रयोग गरी हिजबुल्लाहका ती रणनीतिक सुरुङहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरेका छन्।
इजरायलले उत्तरी क्षेत्रका आफ्ना नागरिकहरूको सुरक्षाका लागि ती भूमिगत संरचनाहरू नष्ट गर्न अनिवार्य रहेको उल्लेख गरेको छ। साथै, हिजबुल्लाहले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले दक्षिणी लेबनानको घोषित ‘सुरक्षा क्षेत्र’ मा आफ्नो सैन्य उपस्थिति निरन्तर जारी राख्ने र हिजबुल्लाहलाई आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न नदिने दृढता व्यक्त गरेको छ।
यद्यपि, हिजबुल्लाहले यस कारबाहीबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। वर्तमान भूराजनीतिक संकटका बीच समुद्री यातायातमा ‘जीपीएस स्पुफिङ’ जस्ता इलेक्ट्रोनिक हस्तक्षेपहरू पनि गम्भीर चुनौती बनेर उभिएका छन्।
यस आधुनिक प्रविधिको दुरुपयोग गरी जहाजहरूको नेभिगेसन प्रणालीमा कृत्रिम हस्तक्षेप गरिने हुँदा राडारमा जहाजको वास्तविक स्थानभन्दा पूर्ण रूपमा फरक स्थान देखाउने गर्दछ, जसले गर्दा अन्तर्राष्ट्रिय जलमार्गमा यात्रा गर्ने नागरिक जहाजहरूको सुरक्षामाथि ठूलो जोखिम थपिएको छ।
पछिल्लो २४ घण्टामा होर्मुज र बाब अल–मन्देब दुवै क्षेत्रमा नागरिक तथा व्यावसायिक जलयानहरू यस प्रकारका डिजिटल हस्तक्षेपबाट गम्भीर रूपमा प्रभावित भएको पाइएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमको कोतर्फबाट प्राप्त विवरणअनुसार, जुलाई ३० सम्म अमेरिकी नौसेनाले क्षेत्रमा जारी कडा प्रतिबन्ध तथा सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने क्रममा २४ वटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ।
यसका साथै, शङ्कास्पद देखिएका दुईवटा जहाजहरूलाई पूर्ण रूपमा निष्क्रिय बनाइएको तथा अन्य दुईवटा जहाजमा बलपूर्वक प्रवेश गरी सुरक्षा निरीक्षण तथा जाँच पड्ताल गरिएको सेन्टकमले जनाएको छ।
मध्यपूर्वका यी अति संवेदनशील र जीवनरेखा मानिने समुद्री मार्गहरूमा दिनप्रतिदिन तनाव गहिरिँदै जाँदा यसले आगामी दिनमा विश्वव्यापी ऊर्जा आपूर्ति श्रृंखला, इन्धनको मूल्य, अन्तराष्ट्रिय व्यापार र समग्र वैश्विक अर्थतन्त्रमा अझ गहिरो तथा दूरगामी नकारात्मक असर पार्ने निश्चितप्रायः देखिएको छ।




