२० साउन , काठमाण्डौ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसनजिकै रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ कोर्समा सुरक्षा व्यवस्थाको निगरानी गरिरहेको देखिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार, ती व्यक्तिले गल्फ कोर्सको तस्बिर र भिडियो खिचिरहेका थिए । उनको साथबाट गोलीगट्टा फेला परेको छ भने कारबाट लोड गरिएको एउटा पेस्तोल पनि बरामद गरिएको छ ।

लस एन्जलस काउन्टी सेरिफ विभागका अनुसार, पक्राउ परेका व्यक्तिको खल्तीबाट १६ राउन्ड अट्ने म्यागजिन र गोलीगट्टा फेला परेको थियो ।
सोमबार उनको घरमा गरिएको खानतलासीका क्रममा ठूलो मात्रामा हतियार, म्यागजिन, गोलीगट्टा, बुलेटप्रुफ ज्याकेट तथा चिन्ताजनक सामग्री लेखिएका नोटबुकहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो गिरफ्तारी राष्ट्रपति ट्रम्प रिपब्लिकन नेसनल कमिटीको फन्डरेजिङ डिनरमा सहभागी हुन ¥यान्चो पालोस भर्डेसस्थित ट्रम्प नेसनल गल्फ कोर्स पुग्ने तयारी गरिरहेका बेला सार्वजनिक गरिएको बताइएकोे छ ।
प्रहरीले ३८ वर्षीय ती व्यक्तिलाई अवैध रूपमा लुकाएर हतियार राखेको तथा प्रतिबन्धित गोलीगट्टा बोकेको आरोपमा पक्राउ गरेको जनाएको छ । सेरिफ विभागका अनुसार, एल सेगुन्डो प्रहरी विभागले उनीविरुद्ध डकैतीसम्बन्धी एक मुद्दामा पहिलेदेखि नै अनुसन्धान गरिरहेको थियो ।
लस एन्जलस काउन्टी सेरिफ विभागले हाल समुदायका लागि कुनै विश्वसनीय सुरक्षा खतरा नरहेको जनाएको छ । तर राष्ट्रपतिविरुद्ध षड्यन्त्रको आशंका गरिएको छ ।
यसैबीच, सन् २०२५ मा एक अमेरिकी जुरीले फ्लोरिडास्थित ट्रम्पको कन्ट्री क्लबमा उनको हत्या गर्ने प्रयास गरेको अभियोगमा एक व्यक्तिलाई दोषी ठहर गरेको थियो ।
राष्ट्रपति ट्रम्प यतिखेर क्यालिफोर्नियाको भ्रमणमा छन् र मङ्गलवार सोही गल्फ कोर्समा आयोजना हुने रिपब्लिकन पार्टीले चन्दा सङ्कलन गर्न आयोजना गर्न लागेको रात्रिभोजमा हुने कार्यक्रम थियो ।
राष्ट्रपति ट्रम्पको विरलै हुने क्यालिफोर्निया भ्रमणका क्रममा उक्त घटना भएको हो । ह्वाइट हाउसका अनुसार ट्रम्पले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमको आलोचना गर्दै भाषण गर्ने कार्यक्रम थियो ।
न्यूसमलाई सन् २०२८ को राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका सम्भावित दाबेदारका रूपमा हेरिएको छ । राष्ट्रपति ट्रम्प बुधवार लस भेगस जाने कार्यक्रम छ ।
त्यहाँ उनले एउटा जुवाघरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि चुनावी गतिविधि तीव्र भएका बेला उनका यी भ्रमणहरू भइरहेका हुन् ।
उक्त निर्वाचनले अमेरिकी कङ्ग्रेसको शक्ति सन्तुलन तय गर्ने ठानिएको छ । राष्ट्रपति ट्रम्प हालैका वर्षहरूमा तीन पटक हत्या गर्ने प्रयासबाट जोगिएका छन् । यद्यपि अधिकारीहरूले आइतवार पक्राउ परेका व्यक्तिले ट्रम्पलाई हानि पु¥याउने उद्देश्य राखेका थिए वा थिएनन् भन्नेबारे केही बताएका छैनन् ।
ती सन्दिग्ध व्यक्तिमाथि त्यस्तो अभियोगमा मुद्दा पनि चलाइएको छैन । यसैबीच उता अमेरिकी सैन्य आधार शिविरमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा मङ्गलबार आठ जना दक्षिण कोरियाली विद्यार्थीलाई पक्राउ गरिएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।
पक्राउ पर्ने क्रममा उनीहरूले अमेरिका विरोधी नारा लगाएको जनाइएको छ । राजधानी सियोल नजिकै रहेको ओसान एयर बेसमा प्रवेश गरेको आरोपमा अमेरिकी सैन्य कर्मचारीले चार पुरुष र चार महिला विद्यार्थीलाई नियन्त्रणमा लिएका थिए ।
पछि उनीहरूलाई दक्षिण कोरियाली प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीका अनुसार दक्षिण कोरियाको सैन्य संरचनाको सुरक्षा कानुनअन्तर्गत उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
सोधपुछका क्रममा सबै विद्यार्थीले आफ्नो कानुनी अधिकार प्रयोग गर्दै बयान दिन अस्वीकार गरेका छन् । प्रहरीका अनुसार विद्यार्थीहरूले घटनास्थलमा “अमेरिकी सातौँ वायुसेनालाई ध्वस्त पारौँ”लगायतका नारा लगाएको जनाएको छ ।
अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समूहले आधार शिविरको मुख्य प्रवेशद्वारबाट अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको उल्लेख गर्दै अमेरिकी सैन्य संरचनामा गैरकानुनी प्रवेशको प्रयासलाई गम्भीर रूपमा लिइने बताएको छ ।
घटनालाई लागू हुने अमेरिकी र दक्षिण कोरियाली कानुनअनुसार सम्बोधन गरिने सेनाले जनाएको छ । ‘कोरियन प्रोग्रेसिभ युनिभर्सिटी स्टुडेन्ट युनियन’ले सामाजिक सञ्जालमार्फत पक्राउ परेका विद्यार्थी आफ्ना सदस्य रहेको जनाएको छ ।
उक्त समूहका अनुसार उनीहरूले दक्षिण कोरियाको सेमीकन्डक्टर क्लस्टर परियोजनासम्बन्धी अमेरिकी सेनाको भूमिकाको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए । दक्षिण कोरियाली प्रहरीले उक्त समूहको दाबीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने अमेरिकी सेनाले पनि यसबारे प्रतिक्रिया दिएको छैन ।
दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार, अमेरिकाले सेमीकन्डक्टर परियोजनाका कारण स्थानान्तरण गर्न लागिएको सैन्य विमानस्थलमा आफ्नो महत्त्वपूर्ण चासो रहेको जनाएको छ ।
उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणलाई रोक्न सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन् । सन् १९५०–५३ को कोरियाली युद्ध युद्धविराममा टुङ्गिएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति कायम रहँदै आएको छ ।
दक्षिण कोरियामा अधिकांश नागरिकले अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको समर्थन गर्ने सर्वेक्षणले देखाए पनि अमेरिकी सैन्य उपस्थिति र दुई देशबीचका केही मुद्दाले समय–समयमा अमेरिका विरोधी भावना उत्पन्न गराउँदै आएका छन् ।
सन् २०१९ मा पनि अमेरिकी सैन्य खर्चसम्बन्धी विवादको विरोध गर्दै अमेरिकी राजदूतको निवासमा प्रवेश गरेका चार दक्षिण कोरियाली विद्यार्थी पक्राउ परेका थिए ।




