काठमाडाैं— कोशी प्रदेशमा नेकपा (एमाले) संसदीय दलको नेता परिवर्तन गर्ने अन्तिम तयारी भइरहेको दाबी गरिएको छ। हालका मुख्यमन्त्री तथा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई हटाएर उपनेता तिलकुमार मेन्याङ्वाेलाई दलको नेता तथा मुख्यमन्त्री बनाउने तयारी भइरहेको देखिन्छ ।
मुख्यमन्त्री कार्कीलाई स्वेच्छाले मार्गप्रशस्त गर्न आग्रह गरिए पनि उनले अस्वीकार गरेपछि इतर पक्षले संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर सङ्कलन थालेको जनाएको छ। इतर पक्षकी प्रदेशसभा सदस्य मीना श्रेष्ठले नेपाल टाइम्ससँग कुरा गर्दै दलको नेता परिवर्तन गर्न आवश्यक बहुमत सदस्यको हस्ताक्षर सङ्कलन भइसकेको दाबी गरिन्। ‘प्रदेशको वर्तमान परिस्थितिअनुसार अघि बढ्नुपर्छ भन्ने पार्टी अध्यक्षको भनाइलाई हामीले स्वीकार गरेका छौँ। तर मुख्यमन्त्रीज्यूले त्यसलाई मान्नुभएको छैन। अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उहाँले मार्गप्रशस्त गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’ श्रेष्ठले भनिन्।
उनका अनुसार यदि अध्यक्षको सुझावसमेत नमानेर कार्की पदमा कायम रहे, सङ्कलन गरिएको हस्ताक्षर संसदीय दलको नेता परिवर्तन गर्न प्रयोग गरिनेछ। ‘विधानअनुसार आवश्यक बहुमत सदस्यको हस्ताक्षर जुटाइसकेका छौँ ।’ उनले भनिन्।


श्रेष्ठले ३० भन्दा बढी प्रदेशसभा सदस्यको हस्ताक्षर सङ्कलन भइसकेको दाबी गर्दै त्यसको प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्ने आफूहरूको चाहना रहेको बताइन्। ‘पछिल्लो समय प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्न सबै नेताहरू प्रयासरत देखिनुहुन्छ। सकेसम्म सहमतिमै अघि बढ्ने हाम्रो चाहना हो,’ उनले भनिन्। ‘यदि सहमति भएन भने हस्ताक्षरका आधारमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढ्छ र उपनेता तिलकुमार मेन्याङ्बोलाई दलको नेता चयन गर्छौं।’ श्रेष्ठले कार्की नेतृत्वको मन्त्रिपरिषद्का केही मन्त्रीसमेत पार्टी अध्यक्ष ओलीको निर्देशनअनुसार अघि बढ्नुपर्ने पक्षमा रहेको दाबी गरिन्।
उनले प्रदेशको नामकरणका विषयमा उठिरहेका असन्तुष्ट आवाजलाई पनि सम्बोधन गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।
यता मुख्यमन्त्री हिक्मतकुमार कार्की भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफलमा छन्। उनले मंगलबार पनि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। उनलाई मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाउने प्रयासस्वरूप गत शनिबार एमाले प्रदेश कमिटीका इन्चार्ज शेरधन राई सक्रिय बने पनि कोशी प्रदेशमा एमालेको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ।
मुख्यमन्त्री कार्कीले भने अध्यक्षको एकल निर्णयका आधारमा होइन, पार्टीको संस्थागत निर्णय भए आफू तत्काल मार्गप्रशस्त गर्न तयार रहेको बताउँदै आएका छन्।




