काठमाडौं : नेपाल खाद्य संस्थानले दशैंका लागि शुक्रबारदेखि खसी र च्याङग्रा बिक्री शुरु गर्ने भएको छ । संस्थानले बिहीबार ५०० च्याङग्रा र ३०० खसी बिक्री शुरु गर्न लागेकाे हो ।
संस्थानले खसीको मूल्य किलाेकाे ५०० र च्याङग्राको ७०० रुपैंयाँ तोकेको छ । बजार मूल्य भन्दा सस्तोमा खसी च्याङग्रा बिक्री गर्न लागेको संस्थानको सूचना अधिकृत शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले खसी बजार मूल्य भन्दा ४५ रुपैंया र च्याङग्रा ५० रुपैंया सस्तोमा बिक्री गर्न लागेको हो ।
संस्थानले बिहिबार ९ बजेदेखि बिक्री शुरु गर्ने तयारी गरेको छ । संस्थानसँग भएको खसीले २ दिनको भाग धान्ने अनुमान गरिएको छ । त्यपछि थप खसी च्याङग्रा थप गर्ने छ ।
हाल लोकल खसीको बजार मूल्य ५३० र भारतीय खसीको ५४५ रूपैयाँमा कारोबार भैरहेको चौपाय खरिद बिक्री सेवा संघका संरक्षक दिपक थापाले बताए । उनका अनुसार च्याङग्राको बजार मूल्य ७५० रहेको छ ।
संस्थानले दशैका लागि मकवानपुर र दाङबाट १ हजार खसी र मुस्ताङबाट १ हजार च्याङग्रा काठमाडौं ल्याएको हो । खसी च्याङग्रा संस्थानको थापाथलीस्थित डिपोबाट बिक्री गर्ने संस्थानले जनाएको छ ।
यसैगरी संस्थानले राजधानीको ४ स्थानमा सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको छ । सूचना अधिकृत सापकोटाका अनुसार असोज १२ गतेदेखि शुरु भएको सुपथ मूल्यको पसलमा उल्लेख्य ग्राहकले सहभागी जनाएका छन् ।
संस्थानले हाल पसलमा सोना मनसुली चामल प्रतिकिलो ४० रुपैंयामा बिक्री गरिरहेको छ । यसैगरी, जिरा मसिनो ५५, बास्मती ८१, गोरखनाथ ३८ र जापानिज चामल ७५ रुपैंयामा बिक्री गरिरहेको छ । यस्तै सिमी दाना १२० र फापर ७० रुपैंया प्रतिकेजी बिक्री गरिहेको छ ।
महानगरपालिकाले गर्यो पशु बजारको अनुगमन
काठमाडौं महानगरपालिकाले बिहीबार कलंकी, बालाजु, बिजुलीबजार र टुकुचाका चौपाया बिक्री केन्दैको पशुको निरीक्षण गरको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा पशु बजारको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले ४ वटा चौपायाँ बिक्री केन्द्रमा २ हजार ५११ चौपायाँ जाँच गरको छ । जसमा सबैभन्दा बढी कलंकीमा १ हजार २४५ वटा खसी, १६५ वटा बोका, ६० वटा भेडा, ७ वटा थुमा र ३६५ वटा च्याङ्ग्रा जाँचिएको हो । यीमध्ये २ वटा खसी खान अयोग्य रहेको टोलीले जनाएको छ ।