२५ साउन , काठमाण्डौ ।
प्रकृति जब रिसाउँछ, तब संसारका ठूला र आधुनिक भनिएका सहरहरू पनि कति निरीह बन्छन् भन्ने यतिबेला एउटा ताजा र डरलाग्दो उदाहरण बनेको छ, चीन । पूर्वी चीनको आकाश अहिले अँध्यारो छ, सडकहरू नदीमा परिणत भएका छन् र १० लाखभन्दा बढी मानिसहरूले आफ्नो घर छाड्नु परेको छ ।
यो सबैको पछाडि एउटै नाम छ, डल्फिन चक्रवात । तर यो कुनै सामान्य आँधी मात्र होइन । यसले ६ हजार किलोमिटरको यात्रा तय गरेको छ, जुन एउटा औसत चक्रवातको तुलनामा तीन गुणा बढी हो । यसले एकातिर फिलिपिन्समा ज्यान लिइरहेको छ भने अर्कोतिर हङकङमा अहिलेसम्मकै उच्च गर्मीको रेकर्ड तोडिरहेको छ ।

डल्फिन चक्रवातले चीनको जमिनमा ठोकिनुअघि यसले प्रशान्त महासागरमा ६,००० किलोमिटरको दुरी पार गरेको थियो । मौसमविद्हरूका अनुसार यो एउटा दुर्लभ घटना हो । सामान्यतया चक्रवातहरू यति लामो समयसम्म जीवित रहँदैनन्, तर डल्फिनले सबै अनुमानलाई गलत साबित गरिदियो ।
सोमबार स्थानीय समय अनुसार साँझ ५ः३० बजे, यो चक्रवात झेजियाङ प्रान्तको युहुआनमा पहिलो पटक ठोक्कियो । त्यतिबेला यसको गति १५० किलोमिटर प्रतिघण्टा थियो। कल्पना गर्नुहोस्, १५० किलोमिटरको रफ्तारमा चल्ने हावाले घरका छतहरू र बिजुलीका पोलहरूलाई कस्तो हालत बनायो होला ? तर, यतिले मात्र पुगेन ।
युहुआनमा ताण्डव मच्चाएको करिब एक घण्टापछि यो चक्रवात वेन्झाउ सहरमा दोस्रो पटक ठोक्कियो । एउटै आँधीले दुई पटक जमिनमा प्रहार गर्नु भनेको विनाशको मात्रा दोब्बर हुनु हो । चिनियाँ अधिकारीहरूले यसको गम्भीरता बुझेर सुरुमै रेड अलर्ट जारी गरेका थिए, जुन उनीहरूको चेतावनी प्रणालीको सर्वोच्च तह हो ।
विश्वको प्रमुख आर्थिक केन्द्र साङ्घाई पनि यो चक्रवातको चपेटाबाट उम्किन सकेन । साङ्घाई जस्तो सहर, जो कहिल्यै सुत्दैन, त्यहाँ डल्फिनको डरले सन्नाटा छायो । साङ्घाईमा मात्र १,४०० भन्दा बढी उडानहरू रद्द गरिए । यसको सिधा असर विश्वव्यापी आपूर्ति श्रृंखला र हजारौँ यात्रुहरूमा पर्यो ।
साङ्घाईको ऐतिहासिक र पर्यटकीय क्षेत्र फ्रेन्च कन्सेसन अहिले बाढीको चपेटामा छ । भुइँतलामा रहेका पसलहरूमा पानी पसेको छ। पर्यटकहरूको आकर्षणको केन्द्र मानिने डिज्नील्याण्ड, लेगोल्याण्ड र साङ्घाईको बण्ड क्षेत्रका भ्युइङ प्लेटफर्महरू पूर्ण रूपमा बन्द छन् ।
स्थानीय प्रशासनले मानिसहरूलाई घरभित्रै बस्न कडा निर्देशन दिएको छ । सडकमा गाडीको सट्टा पानी बगिरहेको छ र मानिसहरू घुँडासम्मको पानीमा सुरक्षित स्थान खोज्दै हिँडिरहेका देखिन्छन् । सबैभन्दा ठूलो पक्ष भनेको विस्थापितहरूको संख्या हो ।
१० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । झेजियाङको वेन्झाउ सहरबाट मात्र ९ लाख मानिसलाई विस्थापित गरिएको छ । उनीहरूका लागि १,००० भन्दा बढी आपत्कालीन आश्रयस्थलहरू खोलिएका छन् । ताइझाउ सहरबाट पनि करिब ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधीका कारण झेजियाङको राजधानी हाङ्जाउमा सरकारले सबै सार्वजनिक पार्किङ शुल्क मिनाहा गरेको छ । विपत्तिको बीचमा मानवीय क्षतिको कुरा गर्दा, झेजियाङको वेनलिंगमा एक नौ वर्षीय बालक समुद्रमा बगेर बेपत्ता भएको खबरले सबैलाई दुःखी बनाएको छ ।
यद्यपि चिनियाँ अधिकारीहरूले ठूलो संख्यामा मानवीय क्षति नभएको बताएका छन्, तर बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ । यो चक्रवातका बीचमा एउटा अचम्मको घटना सार्वजनिक भयो। जब मानिसहरू आफ्नो ज्यान जोगाउन संघर्ष गरिरहेका थिए, केही व्यक्तिहरू भने इन्टरनेटमा अफवाह फैलाउन व्यस्त थिए ।
चिनियाँ प्रहरीले यस सन्दर्भमा दुई जनालाई पक्राउ गरेको छ । एक ६० वर्षीय व्यक्तिले एआईको प्रयोग गरेर एउटा नक्कली भिडियो बनाए, जसमा साङ्घाईको एउटा अग्लो भवनबाट मानिस खसेको देखाइएको थियो । यो भिडियो यति वास्तविक देखिन्थ्यो कि मानिसहरूमा त्रास फैलियो ।
अर्का ३२ वर्षीय व्यक्तिले पुरानो बाढीको फुटेजलाई सम्पादन गरेर अहिलेको डल्फिन चक्रवातको हो भन्दै भ्रामक प्रचार गरे । डल्फिन चक्रवातको विनाश चीनमा मात्र सीमित छैन । यो चीन पुग्नुअघि नै यसले फिलिपिन्समा ठूलो क्षति पु¥याइसकेको थियो ।
फिलिपिन्सको नागरिक रक्षा कार्यालयका अनुसार, डल्फिन र यो साताका अन्य आँधीका कारण त्यहाँ ८ जनाको मृत्यु भइसकेको छ । ७,००० भन्दा बढी मानिसहरू अहिले पनि राहत शिविरमा आश्रय लिइरहेका छन् । त्यस्तै, जापानको ओकिनावा टापुमा पनि यसको प्रभाव देखियो ।
तीव्र हावाका कारण लडेर पाँच जना वृद्धवृद्धाहरू घाइते भए। तर सबैभन्दा अनौठो र विरोधाभासपूर्ण प्रभाव हङकङमा देखियो । डल्फिनले हङकङतर्फ तातो हावा धकेल्यो, जसका कारण आइतबार त्यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो । यो हङकङको इतिहासकै अहिलेसम्मको उच्च तापक्रम हो ।
एउटै आँधीले कतै बाढी र कतै प्रचण्ड गर्मी निम्त्याउनुले मौसमको चरम अवस्थालाई झल्काउँछ । यस गर्मीयाममा चीनमा देखिएको चरम मौसमका कारण ठूलो जनधनको क्षति भएको छ। जुलाईको सुरुदेखि नै एसियाली मुलुक चीनका विशाल भूभागमा भारी वर्षा भइरहेको छ।
यसका कारण अचानक आउने बाढी तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। गत महिना देशका विभिन्न भागमा घातक आँधी र वर्षापछि राष्ट्रपति सी जिनपिङले विपद् रोकथाम तथा राहतका लागि ‘पूर्ण क्षमताका साथ’ काम गर्न आह्वान गरेका थिए।
चीन रेलवे सांघाई ग्रुपका अनुसार शनिबारबाटै याङ्त्से नदीको डेल्टा क्षेत्रमा आइतबारदेखि केही रेल सेवा स्थगित गर्ने निर्णय गरिएको थियो। केही रेलमार्गमा अवरोध बिहीबारसम्म जारी रहने बताइएको छ। यो कदम सांघाई आसपासका प्रमुख बन्दरगाहहरू बन्द गरिएपछि चालिएको हो।
चीनको सबैभन्दा ठूलो जहाज इन्धन भर्ने केन्द्रका रूपमा रहेको झोउशान बन्दरगाहको सञ्चालनसमेत रोकिएको छ। चीनको मौसम विज्ञान प्रशासनले आइतबारदेखि बुधबारसम्म फुजियान, झेजियाङ, सांघाई, जियाङ्सु, हेबेई, बेइजिङ र तियानजिनलगायतका विस्तृत क्षेत्रमा भारीदेखि अत्यधिक भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
प्रभावित क्षेत्रमा अधिकारीहरूले तयारीलाई थप तीव्र बनाएका छन्। झेजियाङका अधिकारीहरूले शनिबार साँझ ताइझोउबाट करिब ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। यस्तै, सांघाईका अधिकारीहरूले उच्च जोखिममा रहेका क्षेत्रबाट ३० हजारभन्दा बढी बासिन्दालाई अन्यत्र सारिएको बताएका छन्।
मौसमविद्हरूले आगामी केही दिनमा केही क्षेत्रमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिएका छन्। अत्यधिक वर्षाका कारण विशेषगरी झेजियाङमा ठूलो बाढी र पहिरोको जोखिम बढ्न सक्ने बताइएको छ। ताइवानले डल्फिनको प्रभाव महसुस गरिसकेको छ।
शनिबार आँधीको बाहिरी क्षेत्र उत्तरी ताइवानसम्म पुगेको थियो। यस क्रममा राजधानी ताइपेईसहितका क्षेत्रमा भारी वर्षा भएको थियो। डल्फिनको प्रत्यक्ष खतरा भारतमा भने पर्ने छैन। तर यसको अप्रत्यक्ष प्रभाव भारतीय मनसुन प्रणालीमा पर्न सक्ने मौसमविद्हरूको अनुमान छ।
यति शक्तिशाली आँधीले पश्चिमी प्रशान्त क्षेत्रमा ठूलो मात्रामा ताप र आद्र्रता तान्न सक्छ। यसका कारण बंगालको खाडी र भारतमा वर्षा गराउने मौसम प्रणालीका लागि उपलब्ध आद्र्रतामा असर पर्न सक्छ। यसको परिणामस्वरूप मध्य र उत्तर भारतका केही क्षेत्रमा केही समयका लागि मनसुनी वर्षा कमजोर हुन सक्ने अनुमान गरिएको छ ।
डल्फिन चक्रवात किन यति लामो समयसम्म टिक्यो र किन यति धेरै शक्तिशाली बन्यो भन्ने प्रश्नका पछाडि वैज्ञानिकहरूले दुईवटा मुख्य कारण औँल्याएका छन् । पहिलो हो एल निनो । यो वर्ष शक्तिशाली एल निनो सक्रिय छ । यसको अर्थ प्रशान्त महासागरको पानीको सतह सामान्यभन्दा बढी तातो छ ।
तातो पानीले चक्रवातलाई इन्धनको काम गर्छ। जति धेरै तातो पानी, त्यति नै धेरै ऊर्जा चक्रवातले प्राप्त गर्छ । दोस्रो हो, जलवायु परिवर्तन । पृथ्वीको बढ्दो तापक्रमले गर्दा समुद्रहरू तातिरहेका छन् । यसले चक्रवातहरूको आयु मात्र बढाएको छैन, उनीहरूको वर्षा गराउने क्षमता पनि बढाएको छ ।
डल्फिनले आगामी केही दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा गराउने अनुमान गरिएको छ । यो भनेको केही दिनमै महिनाभरिको वर्षा हुनु हो, जसले पहाडी क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा भीषण बाढी निम्त्याउँछ । डल्फिन चक्रवात अहिले चीनको भित्री भागतिर बढिरहेको छ । खतरा अझै टरेको छैन । अधिकारीहरूले बुधबारसम्म सतर्क रहन चेतावनी दिएका छन् ।




