२५ साउन , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रममा सम्झौता नगरी तेहरानविरुद्ध विजय घोषणा गर्ने वा युद्ध अन्त्य गर्ने सम्भावनाको बारेमा विचार गरिरहेको दाबी गरिएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार तेहरानले होर्मुज जलमार्ग पुनः खोल्न नयाँ माग गरेपछि यो उद्देश्य अझ कठिन भएको छ ।
ह्वाइट हाउसले इरानसँग आणविक सम्झौता गर्न बाध्य पार्नेभन्दा पनि रणनीतिक होर्मुज जलमार्ग हुँदै व्यावसायिक ढुवानी पुनस्र्थापित गर्ने आफ्नो उद्देश्यलाई परिष्कृत गर्ने विचार गरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

ट्रम्पले प्रशासनका वरिष्ठ सहयोगीहरूसँग तेहरानसँगको द्वन्द्व अन्त्य गर्ने विषयमा निजी रूपमा छलफल गरेका छन् । अधिकारीहरूले बताएअनुसार यदि अमेरिकाले इरानको आणविक कार्यक्रमलाई निगरानीमा राख्न सक्छ र रणनीतिक जलमार्गमा ट्राफिक पुनः सुरु गर्न सक्छ भने ट्रम्पले यस क्षेत्रमा युद्धविराम अनिश्चित कालका लागि लम्ब्याउनेछन् ।
आइतबार एक्सियोससँगको एक अन्तर्वार्तामा ट्रम्पले यस वर्ष फेब्रुअरीमा सुरु भएको प्रत्यक्ष सैन्य टकरावको सट्टा इरानमाथि आर्थिक दबाब बढाउन तयार रहेको संकेत गरेका थिए । ‘हामी यसलाई कम महत्व दिइरहेका छौं। हामी इरानको विशाल मुद्रास्फीति र उनीहरूसँग पैसा नभएको तथ्यलाई हेरिरहेका छौं,’ उनले भने ।
वाशिंगटनले अहिले तेहरानसँग केवल अर्ध–वार्ता गरिरहेको उनको भनाइ छ । यसैबिच, ट्रम्पले घनिष्ठ सहयोगी इजरायलबाट पनि विरोधको सामना गरिरहेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वाशिंगटन–समर्थित गाजा शान्ति योजनालाई अस्वीकार गर्दै इजरायली सेना हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म क्षेत्रबाट पछि नहट्ने बताएका छन् ।
युद्ध लम्बिँदै जाँदा अमेरिकाको ध्यान परिवर्तन हुँदै गएको र होर्मुजको जलमार्गबाट ढुवानी खोल्नु युद्ध अन्त्य गर्ने एउटा महत्त्वपूर्ण सर्त बनेको छ । इरानले पनि होर्मुजको जलमार्ग खोल्नका लागि स्थायी रूपमा युद्ध अन्त्य गर्नुपर्ने, नौसेना नाकाबन्दी हटाउनुपर्ने, मध्यपूर्व क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने र प्रतिबन्धहरू हटाउनुपर्ने लगायतका मागहरू राखेको छ ।
इरानसँगको युद्धले अमेरिकामा पेट्रोलको मूल्यमा पनि असर पारेको छ, जसले गर्दा ट्रम्प प्रशासनमाथि युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ। ट्रम्प आफ्नो कार्यकालमा इरानले आणविक कार्यक्रम सजिलै पुनः सुरु गर्न नसकोस् भन्ने चाहन्छन्। साथै, अमेरिकी गुप्तचर निकायहरूले यसको निगरानी गर्न सक्नेमा उनको जोड छ ।
यसैबीच यता इरानका सर्वोच्च नेता मोज्तवा खामेनीले पूर्व आईआरजीसी प्रमुख मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा पद ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’ को सचिवमा नियुक्त गरेका छन् । यस पदमा नियुक्त भएसँगै रेजाईले परिषद्मा खामेनीको प्रतिनिधिका रूपमा समेत काम गर्नेछन् ।
यसअघि यो पद अलि लारीजानीले सम्हालेका थिए, जसको गत मार्चमा अमेरिकी–इजरायली आक्रमणमा हत्या भएको थियो । लारीजानीपछि मोहम्मद बाकिर जुल्कादरले यो जिम्मेवारी सम्हाल्दै आएका थिए । नवनियुक्त रेजाई इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका पूर्व प्रमुख हुन् ।
उनी इरानको ‘एक्स्पेडियन्सी डिस्सर्नमेन्ट काउन्सिल’ का सदस्य समेत हुन्, जसले संसद् र गार्डियन काउन्सिलबिचको विवाद समाधान गर्ने गर्दछ । रेजाईले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धका क्रममा सैन्य कमाण्डरको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उक्त युद्धलाई इरानमा ‘पवित्र रक्षा’ को रूपमा चिनिन्छ । यसैबिच, सर्वोच्च नेता खामेनीले निवर्तमान सुरक्षा सचिव मोहम्मद बाकिर जुल्कादरलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् । उता इरानसँग जारी युद्धमा प्रयोग भएर घट्दै गएको हतियार भण्डार पुनः भर्न अमेरिकी रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न पेन्टागनले आग्रह गरेको छ ।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले शनिबार जारी गरेको विज्ञप्तिमा युद्धमा खटिने अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन मन्त्रालयले गोलाबारुद खरिद बढाउन काम गरिरहेको बताएका छन् । उनले खतराको मागअनुसार सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन खरिद प्रक्रिया तीव्र पार्न खोजिएको बताएका छन् ।
उनले यो प्रक्रिया तीव्र पार्न पेन्टागनले गरेका प्रयासको पुष्टि गर्दै पाँच महिनादेखि जारी द्वन्द्वपछि मात्र सुरु नभएको दाबी गरेका छन् । त्यसअघि नै सुरु गरिएको सैन्य आधुनिकीकरण प्रयासको हिस्सा भएको बताएका छन् ।
‘द वासिङ्टन पोस्ट’ले प्राप्त गरेको एक मेमोअनुसार, उपरक्षामन्त्री स्टिभ फेनबर्गले बुधबार रक्षा उद्योगका प्रमुखहरूलाई पत्र लेख्दै महत्वपूर्ण क्षमताका लागि अझ तीव्र र आक्रामक उत्पादन सुनिश्चित गर्ने योजना पेस गर्न २१ दिनको समय दिएका छन् । फेनबर्गले वर्षौं लामो विकास चक्र स्वीकार्य नभएको उल्लेख गर्दै कार्यक्रमको समयतालिका तत्काल छोट्याउन र उत्पादन क्षमता विस्तार गर्नुपर्ने बताएका छन् ।
इरानसँगको हालैको युद्धमा अमेरिकी सेनासँग पहिल्यै घटिसकेको उन्नत क्षेप्यास्त्र इन्टरसेप्टरको भण्डार थप प्रयोग भएपछि यो मेमो आएको हो । विज्ञहरूका अनुसार आक्रामक र रक्षात्मक दुवै प्रकारका हतियारको अभावले अमेरिकी सेनाको सुरक्षामा जोखिम बढाउन सक्छ ।
वासिङ्टनस्थित थिंक ट्यांक ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को विश्लेषणअनुसार, पेट्रियट र थाड इन्टरसेप्टरको मौज्दात घटेका कारण अमेरिका र उसका मध्यपूर्वी सहयोगीहरूले ती वायु रक्षा प्रणाली जोगाउन ठूलो जोखिम मोल्नुपर्ने अवस्था आउन सक्छ ।
उदाहरणका लागि, अमेरिकी सेनाले इरानबाट आउने ड्रोन र क्षेप्यास्त्रविरुद्ध कम इन्टरसेप्टर प्रहार गर्नुपर्ने हुनसक्छ । यसले कुनै क्षेप्यास्त्र वा ड्रोनले आफ्नो लक्ष्यमा प्रहार गर्न सफल हुने जोखिम बढाउन सक्छ । डोनाल्ड ट्रम्पले हतियार अभावबारे सार्वजनिक भएका समाचारप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार उनले पाँच महिनाको युद्धपछि अमेरिकी हतियार भण्डारको अवस्थाबारे कुरा गर्दै अमेरिकाले कुनै रणनीतिक घाटा नव्यहोरेको बताए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा अमेरिकासँग विशेषगरी केही निश्चित प्रकारका गोलाबारुदको विशाल भण्डार रहेको दाबी गरेका छन् ।
उनका अनुसार अमेरिकामा ठूलो मात्रामा हतियार उत्पादन भइरहेको छ । आवश्यकताअनुसार ती हतियार पठाइँदै छन् । उनले रक्षा ठेकेदारहरूले अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो संख्यामा प्लान्ट र कारखाना निर्माण गरिरहेको समेत बताए ।
शनिबार पेन्टागनका प्रवक्ता पार्नेलले हतियार उत्पादन तीव्र पार्न माग गर्ने फेनबर्गको मेमो वास्तविक भएको पुष्टि गरेका छन् । उनका अनुसार यसले अमेरिकी कंग्रेसमा बजेटका लागि पेस गरिने आर्थिक वर्ष २०२८ को बजेट निर्माणमा आवश्यक जानकारी प्रदान गर्नेछ ।
यो रक्षा औद्योगिक आधार पुनर्निर्माण गर्ने पेन्टागनको जारी प्रयाससँग पूर्ण रूपमा मेल खाने उनले बताएका छन् । रक्षा खर्चसम्बन्धी विधेयक हाल अमेरिकी कंग्रेसमा रोकिएको छ । सांसदहरू इरानविरुद्ध ट्रम्पले गरेको सैन्य कारबाहीप्रति असन्तुष्ट छन् ।
उनीहरूले पेन्टागनको खर्च गत वर्षको करिब ९०० अर्ब डलरबाट बढाएर १.५ ट्रिलियन डलर पु¥याउने ह्वाइट हाउसको प्रस्तावको समेत विरोध गरिरहेका छन् । विज्ञहरूले बजेट बढाइए पनि पेट्रियट र थाड इन्टरसेप्टरको मौज्दात युद्धअघिको अवस्थामा फर्काउन कम्तीमा तीन वर्ष लाग्ने चेतावनी दिएका छन् ।
‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ले गत महिना गरेको अनुमानअनुसार, युद्धअघि अमेरिकासँग दुई हजार ३३० वटा पेट्रियट इन्टरसेप्टर थिए । अप्रिलमा युद्धविराम लागु हुँदासम्म यो संख्या घटेर एक हजार ३० मा पुगेको थियो ।
हालैको युद्धपछि पेट्रियट इन्टरसेप्टरको मौज्दात ७५९ देखि ८२७ को बीचमा रहेको अनुमान गरिएको छ । यो द्वन्द्व सुरु हुनुअघिको मौज्दातको तुलनामा कम्तीमा ६५ प्रतिशत कमी हो । त्यस्तै, थाड इन्टरसेप्टरको संख्या युद्धअघि ४५२ रहेकोमा अप्रिलमा युद्धविराम सुरु हुँदासम्म २३२ देखि २६२ को बीचमा झरेको ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ले जनाएको छ ।
मेरिकाले केही मौज्दात पुनः भरेर थाड इन्टरसेप्टरको संख्या २३४ देखि २७८ पु¥याउन सफल भएको थियो । तर, यो संख्या पनि द्वन्द्व सुरु हुनुअघिको तुलनामा अझै कम्तीमा ३८ प्रतिशत कम हो । यसै महिनाको सुरुमा अमेरिकी रक्षा मन्त्रालयले मिसाइल प्रतिरक्षा प्रणालीमा प्रयोग हुने पार्टपुर्जाको उत्पादन क्षमता बढाउने प्रयासस्वरूप ‘लकहिड मार्टिन’ र ‘नर्थरोप ग्रुम्मान’सँग नयाँ सम्झौता गरेको थियो ।
तर, अमेरिकी हतियार भण्डारको अवस्थालाई लिएर विज्ञहरूले अझै चिन्ता व्यक्त गरिरहेका छन् । ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को विश्लेषणका लेखकहरूमध्ये एक, सेवानिवृत्त अमेरिकी मरिन कप्र्स कर्नेल मार्क क्यान्सियनले बुधबार अल जजिरासँग अमेरिकी सेनासँग बाँकी रहेका इन्टरसेप्टरको संख्या धेरै नभएको र त्यसको राम्रो विकल्प पनि नरहेको बताएका छन् ।
उनका अनुसार पेट्रियट इन्टरसेप्टरको भण्डार सकिएमा इरानी क्षेप्यास्त्रहरूले अमेरिकी वा सहयोगी पक्षका लक्ष्यलाई सिधै प्रहार गर्ने जोखिम बढ्नेछ ।




