एमाले बैठकका मुख्य निर्णय : भण्डारी वरिष्ठ नेतादेखि संगठन सुदृढीकरणसम्म

८ असोज ८३, बिहीबार
Share this
688shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।बैठकले ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी सदस्यहरूलाई मनोनीत गरेको छ। यसै क्रममा पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वमा अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत गरिएको छ।

Advertisement

त्यस्तै, बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन्।

बैठकले काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

Advertisement

बैठकले स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने, सल्लाहकार परिषद् तथा विभिन्न विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ।बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा प्रस्तुत भएको बताएका छन्। उनले बैठकमा सहभागी सबै केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद दिएका छन्।

भोटेकोशी बाढीप्रति दुःख

Advertisement

बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।एमालेले बाढीमा १ हजार ४ सयभन्दा बढी नागरिकको ज्यान गएको र ६ हजारभन्दा बढी अझै बेपत्ता रहेको जनाएको छ। बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरमा विकसित बस्ती, जलविद्युत् आयोजना, पूर्वाधार तथा सीमापार व्यापारमा ठूलो क्षति पुगेको पनि एमालेको भनाइ छ।

बैठकले बाढीपछिको उद्धार तथा राहतमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाएको छ। प्रदेश तथा स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरेको, राष्ट्रिय दलहरूसँग सहकार्य नगरेको र उद्धारका क्रममा विदेशी सहयोग लिन सुरुमा अनिच्छा देखाएको भन्दै सरकारको आलोचना गरेको छ।

एमालेले बाढीबाट विस्थापित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर पुनःस्थापनाको काम अघि बढाउन माग गरेको छ।

ओली र पौडेलको गिरफ्तारीप्रति आपत्ति

एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति समेत आपत्ति जनाएको छ।नयाँ सरकार गठन भएलगत्तै ओलीको निवास घेराउ तथा गिरफ्तारीलाई एमालेले राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ। भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न पनि बैठकले माग गरेको छ।

त्यस्तै, सुकुम्बासी बस्तीमा भएको डोजर कारबाही, ट्रेड युनियन तथा स्ववियु अधिकारमा कटौती, सञ्चारमाध्यमको स्वतन्त्रतामाथि नियन्त्रण तथा सरकारको आलोचना गर्ने नागरिक, अभियन्ता र बौद्धिक व्यक्तिमाथि भएको गिरफ्तारीप्रति बैठकले आपत्ति जनाएको छ।

संविधान संशोधनमा पनि प्रश्न

संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलप्रति पनि एमालेले प्रश्न उठाएको छ। आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भए पनि संविधानका आधारभूत संरचनामा असर पर्ने गरी संशोधन गर्न नहुने एमालेको धारणा छ।

बैठकले महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति र करसम्बन्धी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गर्न तथा गत वर्षका घटनामा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि आग्रह गरेको छ।

एमालेले प्रवासी नेपालीको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।

बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै संगठन पुनर्जागरण र सुदृढीकरणका लागि ठोस योजना अघि बढाउने निर्णय गरेको छ। आगामी निर्वाचनको तयारी र लोकतन्त्रको रक्षालाई पार्टीका प्रमुख कार्यभारका रूपमा अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।

७ असोज २०८३ प्रेस नोट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top