काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा सहकारीका २२० जना साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका तीन जना बचतकर्ताले बचत रकम फिर्ता पाएका हुन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गर्ने गरिएको स्पष्ट पारेको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। अब बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाबमोजिम बचत फिर्ता गर्ने कार्य निरन्तर भइरहेको समितिले जनाएको छ।



