काठमाडौँ – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना गरेकाे NAIMA Nepal Mobility Expo 2026 आजदेखि सुरू भएकाे छ। एक्स्पो २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोको उद्घाटन आज मंगलबार बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा भएकाे छ। उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघसंस्थाका पदाधिकारी, नाइमाका सञ्चालक समिति तथा सदस्य संस्थाका प्रतिनिधि, प्रदर्शनी साझेदार संस्था र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेकाे छ ।
नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी हुनेछन्। एक्स्पोमा नयाँ प्रविधि, नवप्रवर्तन तथा दिगो मोबिलिटीसँग सम्बन्धित उत्पादन र सेवाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा लर्निङ सेसन, नीतिगत संवाद तथा उद्योग अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन हुनेछन्। नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै तयारी अघि बढाएको बताए।

उनका अनुसार प्रदर्शनीसँगै लर्निङ सेसन, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदानप्रदान, सीप विकास तथा सुरक्षित र जिम्मेवार मोबिलिटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए। उनले ६ दिनसम्म सञ्चालन हुने विभिन्न लर्निङ सेसन, नीतिगत संवाद तथा उद्योग अन्तरक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे।
उद्घाटन समारोहपछि मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो खुला रहनेछ। त्यसपछिका दिनमा भने बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणले एक्स्पो अवलोकन गर्न सक्नेछन्।
एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक, पावर्ड बाईमा रेडबुल, बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन्।




