२६ साउन , काठमाण्डौ ।
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि बैंकले उक्त रकम सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।

यो सहयोग विशेष गरी मुटुरोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकले जनाएको छ।
नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत मुटुरोग उपचार केन्द्रमध्ये एक हो।
केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु र बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

बढ्दो बिरामीको चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न बैंकले सहयोग उपलब्ध गराएको हो।
स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास व्यक्त गर्दै कुमारी बैंकले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान पु¥याउँदै आएको छ।
यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचारको गुणस्तर अभिवृद्धि गर्न, जीवनरक्षा दर बढाउन र स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
“समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
विगत २५ वर्षदेखि निरन्तर बैङ्किङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका ३०२ शाखा, ३१ विस्तारित काउन्टर, ३०२ एटिएम र ४० शाखारहित बैङ्किङ एकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।




