काठमाडौं- कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार (पेडियाट्रिक केयर) सेवा सुदृढीकरणका लागि उक्त सहयोग गरेको हो । सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बैंकले जनाएको छ ।
नेपाल सरकारअन्तर्गत सञ्चालित गंगालाल हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकता सम्बोधन गर्न सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचारको गुणस्तर सुधार, जीवनरक्षा दर वृद्धि तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।




