२७ साउन , काठमाण्डौ ।
सुनसरीको बर्जु गाउँपालिका–६ मा १५ शय्याको आधुनिक अस्पताल निर्माण हुने भएको छ। अस्पताल भवन निर्माणका लागि १५ करोड ९३ लाख ३८ हजार ८३० रुपैयाँ बजेट स्वीकृत भएसँगै नेपाल सरकार, भारत सरकार र बर्जु गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।


भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनामार्फत अस्पताल निर्माण गर्न लागिएको हो। काठमाडौंमा भएको कार्यक्रममा नेपाल सरकार, भारतीय दूतावास र बर्जु गाउँपालिकाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

स्वीकृत कुल बजेटमध्ये ९५ प्रतिशत रकम भारत सरकारले अनुदानका रूपमा उपलब्ध गराउनेछ भने बाँकी ५ प्रतिशत रकम बर्जु गाउँपालिकाले सह–वित्तीयकरणमार्फत व्यहोर्नेछ। विस्तृत परियोजना प्रतिवेदन, प्राविधिक डिजाइन तथा लागत अनुमानका आधारमा बजेट स्वीकृत गरिएको हो।

अस्पताल निर्माणको गुणस्तर र कार्यान्वयनको नियमित अनुगमनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरिनेछ। निर्माण सम्पन्न भएपछि अस्पतालको दीर्घकालीन मर्मतसम्भारका लागि छुट्टै कोषसमेत स्थापना गरिने सम्झौतामा उल्लेख छ।
अस्पताल निर्माणपछि बर्जु गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्थानीय तहमै सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विस्तारसँगै अस्पतालले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ।

सम्झौतापत्रमा नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट उपसचिव होमनाथ काफ्ले, भारतीय दूतावासका तर्फबाट विकास साझेदारी काउन्सिलर अविनाश कुमार सिंह र कार्यान्वयन एजेन्सीको रूपमा रहेको बर्जु गाउँपालिकाका तर्फबाट अध्यक्ष जिवछ कुमार रायले हस्ताक्षर गरेका छन्।






