काठमाडौं- फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपाली विज्ञापन तथा मार्केटिङ कम्युनिकेसन्स क्षेत्रले शानदार प्रदर्शन गरेको छ। नेपालका आउटरीच नेपाल, लेमन र डिजिटल इनसहित पाँच एजेन्सीले कुल १७ अवार्ड जितेका छन्।
नेपालले जितेका अवार्डमध्ये १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन्। नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा गत शुक्रवार (साउन २२) मा आयोजित समारोहमा विजेता एजेन्सीलाई अवार्ड प्रदान गरिएको हो।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले विभिन्न विधामा अवार्ड जितेका हुन्। फ्लेम अवार्ड्स एशिया, रेस्टलेस ७ यंग तथा अन्य साझेदार संस्थाको आयोजनामा हुँदै आएको अवार्डले भारत तथा एसियाका उदीयमान बजारमा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ।

उपभोक्ता अन्तर्दृष्टि, नवीनता, सिर्जनशीलता, प्रविधि, समुदाय संलग्नता तथा मापनयोग्य प्रभावका आधारमा उत्कृष्ट कामलाई अवार्ड प्रदान गरिन्छ।
यस वर्ष नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन्। आउटरीच नेपाल, लेमन र डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल र एमएमएम ल्याब्सले पनि अवार्ड हात पारेका छन्। भारतसहित दक्षिण एसियाका अग्रणी एजेन्सी तथा संस्थाबीच कडा प्रतिस्पर्धा रहेको अवार्डमा नेपाली एजेन्सीहरूले उल्लेखनीय सफलता हासिल गरेका हुन्।
यस वर्षको जुरीको नेतृत्व सन्तोष देसाइले गरेका थिए। भारत, बङ्गलादेश, नेपाल, भियतनाम, फिलिपिन्स र श्रीलंकालगायत विभिन्न देशका ४० भन्दा बढी जुरी सदस्यले अवार्डका लागि प्राप्त प्रविष्टिको मूल्यांकन गरेका थिए। आउटरीच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (आन)का प्रथम उपाध्यक्ष उज्ज्वल शाक्यले यो उपलब्धि नेपालको मार्केटिङ कम्युनिकेसन्स उद्योगका लागि गर्वको क्षण भएको बताए।
‘यो नेपालको लागि गर्वको क्षण हो। हाम्रो मार्केटिङ कम्युनिकेसन्स उद्योगमा रहेको प्रतिभा, क्रिएटिभिटी र महत्वाकांक्षाको राम्रो पहिचान हो,’ उनले भने, ‘यो उपलब्धि हाम्रो टिम, आइडियालाई विश्वास गर्ने विज्ञापनदाता तथा पार्टनरको सामूहिक प्रयास हो।’
फ्लेम अवार्ड्स एशियामा नेपालको प्रदर्शनले नेपाली क्रिएटिभ, डिजिटल, इभेन्ट तथा एक्टिभेसन एजेन्सीहरूले क्षेत्रीय मञ्चमा आफ्ना कामलाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाएको छ। साथै, नेपाली नयाँ पुस्ताका क्रिएटिभ तथा मार्केटिङ प्रोफेसनलमा रहेको प्रतिभा र सम्भावनालाई समेत यस उपलब्धिले उजागर गरेको छ।







