मेस्सीले फुटबल त्याग्न सक्ने, लेखे भावुक सन्देश

२८ साउन ८३, बिहीबार

२८ साउन, काठमाण्डौ ।

Advertisement

विश्व चर्चित फुटबल स्टारका रुपमा करोडौं समर्थक बटुलेका लियोनेल मेस्सी बुबाको निधनपछि यतिबेला एक्लिएका छन् । बाबुप्रति भावुक श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफूले अब फुटबलमा कति समयसम्म निरन्तरता दिने भन्नेमा अनिश्चित रहेको बताएका छन्।

लामो समयदेखि बिरामी रहेका बुबा जर्जको गत साता ६८ वर्षको उमेरमा निधन भएपछि अहिले मेसी दुःखमा छन्। उनले बुधवार सामाजिक सञ्जालमा भावुक स्टाटस लेखे । “मलाई थाहा छैन, तपाईँविना म के गर्नेछु। कसरी अगाडि बढ्ने भन्ने पनि थाहा छैन। पहिले म केवल फुटबल खेल्थेँ, तर अब म अझै धेरै समय फुटबल खेलिरहन्छु की खेल्दिनँ भन्नेमा पनि साँच्चिकै निश्चित छैन,” मेसीले सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement

मेसी १४ वर्षको उमेर हुँदा देखि नै बुबा जर्ज उनका एजेन्ट थिए र उनले आफ्ना छोरालाई विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक बनेको देखे। आठ पटकका ’बालोन डी’ओर विजेता मेसीले थपेका छन्, “तपाईं सुरुदेखि नै मेरो साथमा हुनुहुन्थ्यो। अन्तिम समयसम्म पनि हामी निकै नजिक थियौँ। हामीले यो यात्रा सँगै पूरा गर्न सकौँ भनेर तपाईंले अझ केही समय किन धैर्य गर्न सक्नुभएन ?”

जर्जको अर्जेन्टिनाको रोजारियोस्थित अस्पतालमा निधन भएपछि मेसी परिवारसहित स्वदेश फर्किएका थिए। आइतबार रोजारियोको बाहिरी क्षेत्रमा पर्ने पेरेज सहरको एक समाधिस्थलमा उनको निजी अन्त्येष्टि गरिएको थियो।

Advertisement

मेसीले आफ्नो श्रद्धाञ्जलीमा लेखेका छन्, “बुबा, तपाईं अब हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन। यो वास्तविकता मेरो मनमा बसेकै छैन, अथवा भनौँ, म यसलाई स्वीकार गर्न चाहन्नँ।” “तपाईंलाई फेरि कहिल्यै देख्न पाउँदिनँ, हामी फेरि कहिल्यै कुरा गर्न पाउँदैनौँ भन्ने कल्पना गर्न पनि मलाई निकै गाह्रो भइरहेको छ। तपाईं पीडामा हुनुहुन्थ्यो र यो नै तपाईंका लागि राम्रो हो भन्ने मलाई थाहा छ। तर तपाईंले हामीलाई धेरै चाँडै छोड्नुभयो। हामीसँग अझै धेरै कुरा सँगै रमाउन बाँकी थियो।”

विश्वकपका क्रममा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएको खेलमा मेसीले पहिलो गोल गरेपछि जर्ज भावुक भएर रोएका थिए। त्यतिबेला उनले त्यो भावुकताको कारण “फुटबलसँग पूर्ण रूपमा सम्बन्धित विषय नभएको बताएका थिए। पछि उनको परिवारले जर्ज स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेको जानकारी दिएको थियो।

मेसीले थपे, “तपाईंले मलाई अन्तिम पटक एउटा विश्वकप खेल्न आग्रह गरिरहनुभएको थियो। विश्वकप सुरु हुन केही दिन मात्रै बाँकी हुँदा तपाईंको स्वास्थ्य अचानक बिग्रियो।” आफ्नो खेल हेर्न बुवा पहिलोपटक अनुपस्थित भएको भन्दै मेसीले लेखेका छन्,’’“हरेक खेल सकिएपछि म तपाईंको सन्देशको प्रतीक्षा गर्थेँ र तपाईंको सन्देश नपाउँदा तपाईंलाई सम्झन्थेँ।त्यतिबेला मैले अवस्था कति गम्भीर भइसकेको रहेछ भन्ने महसुस गर्न थालेँ। त्यसका बाबजुद पनि, म सकेसम्म टाढासम्म पुग्ने र तपाईंलाई कम्तीमा एउटा खेल हेर्ने समय दिने बारे सोचिरहेँ। हामी फाइनलसम्म पुग्यौँ, तर तपाईं त्यहाँ हुन सक्नुभएन।”

बिरामी बुवालाई विश्वकपको ट्रफीसहित भेट्ने धोको पुरा नभएको मेसीले उल्लेख गरेका छन् । “म त्यो विश्वकप जितेर ट्रफी तपाईंलाई ल्याउन र नयाँ ट्रफी देखाउन चाहन्थेँ। तर म सफल हुन सकिनँ। मेरो खुट्टामा कुनै शक्ति बाँकी थिएन। यसपटक मैले आफ्नो शारीरिक सीमाभन्दा पनि माथि जाने प्रयास गरेँ, तर सकिनँ। मैले आफूलाई कहिल्यै पूर्ण रूपमा ठीक महसुस गर्न सकिनँ।”

मेसीका बुवा जर्ज होरासियो मेसी र आमा सेलिया मारिया कुच्चित्तिनी दुवै इटालियन मूलका परिवारबाट आएका थिए । उनीहरू रोसारियोको गरीब छिमेक लास हेरासमा हुर्किएका छिमेकी थिए । किशोरावस्थामै माया बस्यो । सन् १९७८ जुन १७ मा उनीहरूले रोसारियोको कोराजन दे मारिया चर्चमा विवाह गरे ।

साधारण कामदार परिवार थियो, जहाँ जर्जले स्टील कारखाना असिन्दारमा सुपरभाइजरको काम गर्थे भने सेलियाले चुम्बक कारखानामा काम गर्नुका साथै घर सफा गर्ने काम पनि गर्थिन् । उनीहरूका चार सन्तान भए, रोड्रिगो , माटियास , लियोनल र मारिया सोल । जर्ज मेसी केवल बुवा मात्र थिएनन् ।

उनी लियोका पहिलो कोच पनि थिए । उनले स्थानीय क्लब ग्रान्डोलीमा सानै उमेरदेखि छोराको प्रशिक्षण गराए । जब ११ वर्षको उमेरमा लियोनललाई ग्रोथ हर्मोनको कमी पत्ता लाग्यो, उपचार महँगो थियो । न्यूवेल्स ओल्ड ब्वाईजले सहयोग गर्न चाहेन । त्यसपछि जोर्जले ठूलो जोखिम उठाए ।

सन् २००० मा १३ वर्षको लियोनललाई लिएर बार्सिलोना गए । परिवारसँगै स्पेन सर्ने योजना थियो तर पछि सेलिया अन्य तीन छोराछोरीसहित रोसारियो फर्किइन् । जर्ज छोरासँगै बार्सिलोनामा बसे । पहिलो तीन वर्ष लियोनलले आमालाई चार महिनामा एकपटक मात्र भेट्थे । यो समय दुवैका लागि अत्यन्त पीडादायक थियो ।

जर्जले बार्सिलोनाका अधिकारीहरूलाई छोराको उपचार खर्च बेहोर्न सहमत गराए । त्यहीँबाट लियोनलको करिअर सुरु भयो । पछि जर्ज नै उनका एजेन्ट र व्यवसायिक प्रबन्धक बने । बार्सिलोनाका ठूला सम्झौताहरू, पेरिस सेन्ट–जर्मेन (पिएसजी) जाने निर्णय र इन्टर मियामी सर्ने प्रक्रियासम्म जर्जको हात थियो ।

मेसीले धेरै पटक भनेका छन्, ‘मेरो बुबाको आलोचनाले मलाई अझ राम्रो बन्न प्रेरित ग¥यो । म सधैं उनको स्वीकृति चाहन्थें ।’ मेसीले आफ्नो ढाडमा आमाको अनुहारको ठूलो ट्याटू कोरेका छन। यो उनको सबैभन्दा व्यक्तिगत ट्याटू हो । आमा सेलियाले सधैं भन्छिन्, ‘लियो दैवी छोरा, राम्रो भाइ, उत्कृष्ट बुबा र अद्भुत पति हुन् ।’

उनी छोराको हरेक ठूलो क्षणमा साथ दिइन। विश्वकप जितदेखि लिएर कठिन हारसम्म । परिवारको आलोचना सहेर पनि उनी छोराको पक्षमा दृढ रहिन् । यस्तै मेसीको पिँडुलामा तीन छोराका नाम र जन्म मिति अंकित छन् । मैदानमा जब उनी दौडिन्छन्, ती ट्याटूले उनलाई सम्झाउँछन्– उनी कसका लागि खेलिरहेका छन् ।

सन् २०१२ नोभेम्बर २ मा मेसीका छोरा थियागोको जन्म भयो । मेसीले त्यसदिन फेसबुकमा लेखे, ‘आज म संसारको सबैभन्दा खुशी मानिस हुँ । मेरो छोरा जन्मियो । भगवानलाई धन्यवाद ।’ थियागोको नाम र हातको छाप उनले आफ्नो पिँडुलामा ट्याटू कोरे ।

बुबा बन्नु उनको जीवनको सबैभन्दा ठूलो परिवर्तन थियो । ‘मेरो छोराले मेरो जीवनलाई बलोन डी’ओरले भन्दा बढी परिवर्तन गर्यो,’ उनले एक अन्तर्वार्तामा भनेका थिए । सन् २०१५ सेप्टेम्बर ११ मा मातेओ आए । र सन् २०१८ मार्च १० मा सिरो । तीन छोरा– थियागो, मातेओ र सिरो । थियागो १३ वर्षका, मातेओ १० वर्षका र सिरो ८ वर्षका छन् ।

तीनै जना फुटबल खेल्छन् र हाल इन्टर मियामीको युवा एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् । दुई छोरा भइसकेपछि एन्टोनेलासँग मेसीले विवहा गरेका थिए । सन् २०१७ जुन ३० मा रोसारियोमै विवाह भयो । लगभग २६० जना पाहुना विवहाम थिए ।

अर्जेन्टिनी मिडियाले यसलाई ‘शताब्दीको विवाह’ भनेका थिए । सन् २०२३ मा मेसी इन्टर मियामीमा आबद्ध भएपछि उनी अहिले परिवारसँगै मियामीमा बस्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top