२८ साउन, काठमाण्डौ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि आज स्वदेश फर्किँदै छन् । जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका देउवा उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए ।
उनी आज थाई एयरवेजको उडानमार्फत मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।

इतर पक्षले देउवाको आगमनलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने रणनीति बनाएको हो । कांग्रेसमा अहिले आधिकारिकताको विवाद फेरि सर्वोच्च अदालतमा पुगेका बेला देउवाको आगमनपछि अब के होला भन्ने कौतुहल छ ।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्नेछन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको ठूलो समूह पनि स्वागतका लागि विमानस्थल पुग्नेछ ।
सुदूरपश्चिमबाट देउवाको स्वागतका लागि ठूलो संख्याका कार्यकर्ताहरू काठमाडौं आएका छन् । देउवाले विमानस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम छ । त्यसपछि उनलाई नेता–कार्यकर्ताले बाजागाजासहित स्कर्टिङ गरेर लैजाने तयारी छ ।
त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्वीरसहित उपस्थित हुन निर्देशन दिइएको छ । स्वदेश फर्किएलगत्तै देउवाले भोलिदेखि सुरु हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।
देउवाको स्वागतको लागि ठूलो संख्यामा कार्यकर्ता भेला हुने भएपछि सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज कँडेलले सुरक्षाको उचित प्रबन्ध मिलाइएको जानकारी दिए । देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।
त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् । स्वदेश फर्किएलगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने र साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मीन विश्वकर्माले जानकारी दिएका छन् ।
यसअघि उनी साउन २६ गते राति नौ बजेपछि नेपाल फर्किने तयारी थियो । तर राति आउँदा स्वागतमा समस्या हुनसक्ने भन्दै उनको स्वदेश फर्किने सयम दुई दिनपछि दिउँसोको लागि सारिएको हो । देउवा दम्पती सिंगापुरमै रहँदा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
कांग्रेसमा असन्तुष्टि चुलिएको बेला पूर्वसभापति देउवा आज स्वदेश फर्किन लागेका हुन् । देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्न लागेको छ। भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ ।
राष्ट्रिय भेलाको सम्मुखमा देउवा स्वदेश फर्किन लागेका हुन् । सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन हुने तय गरिएको राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।
स्वदेश फर्किन लागेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ ।
विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन कार्यकर्ताहरूलाई आग्रह गरिएको हो । देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी कांग्रेसको संस्थापनइतर पक्षले गरेको हो ।
इतर पक्षले देउवाको आगमनलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने रणनीति बनाएको हो । यता काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित (एस्कर्ट) जाने व्यवस्था मिलाइएको छ । चर्चा भएजस्तो धरपकडको कुनै योजना नभएको उनले बताए ।
प्रहरीका अनुसार उनलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डेनगेटसम्म भेला हुने अनुमति दिइने छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन द्वारमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ । यो कार्यको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ ।
यता देउवा दम्पतीले आफ्नो बसाइबारे आधिकारिक रूपमा अहिलेसम्म केही खुलाएका छैनन् । अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उनीहरूविरुद्ध लाग्ने गरेको छ । यति लामो अवधिसम्म विदेश बसाइ र ‘उपचार खर्च’को स्रोत के हो भन्ने प्रश्न पनि उठेको छ । देउवा दम्पतीले ‘विदेशमा उपचाररत’ रहेको बाहेक अरू खुलाएका छैनन् ।
२५ चैतमा देउवाले फेसबुक पोस्टमार्फत ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु, वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ, अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,’ भनेका थिए ।
यसबारे कांग्रेस पनि मौन छ । कांग्रेस प्रवक्ता देवराज चालिसे देउवा उपचारका क्रममा विदेशमा रहेको भन्नेबाहेक अरू कुरामा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउँछन् । नेपालको सार्वजनिक ठेक्कापट्टासँग जोडिएका व्यक्तिको ‘सेल्टर’ र कारोबारको पहिलो गन्तव्य सिंगापुर, हङकङ र दुबईलगायत देश रहेकाले देउवा दम्पतीको विदेश बसाइ र यसको कनेक्सन भए–नभएको खोजबिनको विषय भएको छ ।
एकातिर सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धानमा परेका व्यक्ति, अर्कातिर उनीहरूकै अपारदर्शी विदेश बसाइ र उपचार, यो खोज्नुपर्ने विषय नै हो । नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताएअनुसार विदेशमा उपचारका लागि भनेर देउवा दम्पतीले विदेशी मुद्रा सटहीको सुविधा लिएका छैनन् ।
विदेश घुम्न जानेको हकमा एक जनाले अधिकतम ३ हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउँछन् । २०८२ साउनमा ल्याइएको आव २०८२÷८३ को मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नेपालबाट विदेश भ्रमणमा जाने यात्रुका लागि प्रतिव्यक्ति ३ हजार अमेरिकी डलरसम्मको सटही सुविधा लिन सकिने व्यवस्था गरेको थियो ।
त्यसअघि यो सुविधा प्रतिव्यक्ति २५ सय डलरसम्म सीमा थियो । यसबाहेक विदेश जाँदा अरू विदेशी मुद्रा लैजानुपरे प्रयोजन खुलाएर राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । उपचार शीर्षकमा देउवा दम्पतीले विदेशी मुद्रा लैजान अनुमति लिएको नदेखिएको राष्ट्र बैंकका ती अधिकारीको भनाइ छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत कात्तिकमै देउवा दम्पती, छोरा जयवीरसिंह देउवा र केही नातेदारका नाममा भएका चल÷अचल सम्पत्ति रोक्का राखेको थियो । अनुसन्धान अधिकारीहरूका अनुसार त्यो अझै कायम छ ।
एकातिर चल÷अचल सम्पत्ति रोक्का, अर्कोतिर लामो समयदेखि विदेशमा बस्दाको खर्चको जोहो कसरी भइरहेको छ भन्ने विषयबारे यकिन पुष्टि हुन नसकेको अनुसन्धानमा संलग्न विभागकै अधिकारीको भनाइ छ । पूर्वप्रधानमन्त्री देउवाका भतिज भानु देउवाले देउवा दम्पतीले अनुसन्धानकारी निकायहरूलाई नेपाल आउन चाहेकोबारे जानकारी गराएको तर यताबाट त्यसबारे जवाफ नगएको बताए ।
उनले देउवा दम्पतीको विदेश बसाइको खर्च आफन्त, इष्टमित्र÷शुभचिन्तकहरूबाट व्यवस्थापन भइरहेको बताए । देउवा नेपाल फर्केपछि उनी विभागमा आफैं गएर बयान दिन्छन् वा दिँदैनन् भन्ने यकिन भएको छैन । स्वकीय सचिव भानुले नेपाल फर्केपछि त्यसबारेमा छलफल हुने बताएका छन् ।
अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत दुवै जनाले आफूहरू ‘स्वास्थ्य उपचारका क्रममा विदेश’मा रहेको बाहेक अरू खुलाएका छैनन् । राहदानी खरिद प्रकरणको अनुसन्धानका लागि तीन दिनभित्र उपस्थित हुन अख्तियारले २ असारमा बुढानीलकण्ठस्थित निवासमा म्याद तामेली गरेपछि ३ असारमा आरजु राणाले अख्तियारलाई इमेल लेखेर उपचारका क्रममा विदेशमा रहेकाले उपस्थित हुन नसक्ने जानकारी गराएकी थिइन् ।
अनुसन्धानमा संलग्न सम्पत्ति शुद्धीकरण र अख्तियारका अधिकारीहरूले बताएअनुसार विदेशमा उपचार र बसाइबारे भएको खर्चको स्रोतबारे देउवा दम्पती पक्राउ परेका बेला वा आफैं बयानमा उपस्थित भएका बेला सोधिने विषय हो ।






