देउवाको आक्रमक रुपःराजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् ?

२९ साउन ८३, शुक्रबार

२९ साउन , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ ।  सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्वास्थ्य उपचारका लागि साढे पाँच महिना विदेश बसेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । कांग्रेस इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ ।

Advertisement

बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरुले बताएका छन् । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ । शनिबार बन्दसत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ।

दिउँसो खानापछि १ बजेपछि फेरि बन्दसत्र चल्ने कार्यतालिका छ। भेलाको बन्दसत्रमा पूर्वउपसभापति निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस हुने छ। उक्त प्रतिवेदनमा विशेष महाधिवेशन गर्दा गत फागुन २१ को निर्वाचनमा कांग्रेसले भोगेका पराजयको निर्मम समीक्षा हुने विश्वकर्माले बताएका छन् ।

Advertisement

‘सर्वोच्च अदालतको निस्सा दिने आदेशअघि एउटा परिस्थिति थियो। अब त्यो भेला वर्तमान परिस्थिति र पार्टीको आगामी नीतिमाथि केन्द्रित हुन्छ,’ उनले भनेका छन्, ‘पार्टीको राजनीतिक, आर्थिक र विधान सम्बन्धी विषयमा घनिभूत छलफल हुन्छ। हामी किन नियमित महाधिवेशनको पक्षमा उभिएका थियौँ, विशेष महाधिवेशन गर्दा भोग्नु परेको क्षतिका विषयमा कुरा हुन्छ।’

यस्तै प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र नेता रमेश लेखकको विधान संशोधन सम्बन्धी प्रस्ताव भेलामा पेस हुने विश्वकर्माले बताए। संस्थापन पक्षले विशेष महाधिवेशनमा गरिएको विधान संशोधनलाई चुनौती दिने गरी लेखकले विधानमा संशोधन प्रस्ताव तयार पारेको बुझिएको छ।

उक्त प्रतिवेदनमा दुई दिन छलफल गरेर पार्टीको आगामी राजनीतिक, सांगठनिक, आर्थिक कार्यदिशा तय गरिने उनको भनाइ छ।भेलामा प्रचार–प्रसार समिति संयोजन मीन विश्वकर्मा, आर्थिक व्यवस्थापन दीपक खड्का, प्रशासन समन्वय मोहनबहादुर बस्नेत र भोजन व्यवस्था पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले गरिरहेका छन्।

यस्तै जितजंग बस्नेतले स्वयंसेवक परिचालन, विद्या तिमिल्सिनाले सांस्कृतिक, राजु श्रेष्ठले मञ्च तथा हल व्यवस्थापन, उमेशजंग रायमाझीले स्वास्थ्य सेवा र किरण पौडेलले विदेशस्थित नेपाली जनसम्पर्क समन्वय गरिरहेका छन्।

ट्रेड युनियन समन्वय हरिशरण नेपाली, भ्रातृ संस्था समन्वय गोविन्दबहादुर शाह, शुभेच्छुक संस्था समन्वय ईश्वरी न्यौपाने, आदिवासी जनजाति समन्वय गणेश लामा र दलित समुदाय समन्वय नृप वडको जिम्मा छ। उषा राउतलाई महिला, कुन्दनराज काफ्लेलाई युवा विद्यार्थी परिचालन र भीमसेनदास प्रधानलाई पेसागत बुद्धिजीवी परिचालनको काम दिइएको छ।

इतर पक्षका नेताहरू राष्ट्रिय भेलाले पार्टीका एकताको परिस्थिति निर्माण गर्ने बताउँछन्। नेता शेखर कोइरालाले पार्टी एकताको उद्घोष गर्न भेलामा सहभागी हुन लागेको बताएका छन्। यस्तै पूर्वउपसभापति पूर्णबहादुर खड्काले पनि राष्ट्रिय भेलामार्फ देउवाले एकताको सन्देश दिने बताउँछन्।

‘हाम्रो अभिभावक (शेरबहादुर देउवा) भदौ २४ गतेको घटनामा धेरै ठूलो आक्रमणमा परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ। उहाँ थप स्वास्थोपचारका लागि विदेश जानुभएको थियो,’ उनले भने, ‘आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौँ। यसबाट हामी सबै खुसी र उत्साहित भएका छौँ। अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ।’

बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठकले पनि देउवाले अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। विदेशबाट फर्किएका देउवा विमानस्थलबाट हिजो सिधै इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि महाराजगन्जको चुनदेवीमा खोलेको सम्पर्क कार्यालय पुगेका थिए।

जहाँ देउवालाई सभापतिको कुर्सीमा राखिएको थियो भने बाहिर सभापतिकै नामसहितको बोर्ड राखिएको छ। सम्पर्क कार्यालयमा देउवा भने कडा रुपमा प्रस्तुत भए । उनले कानुनी प्रक्रिया र अदालतसँग नडराउने बताएका छन् ।

देउवाले भने, ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनू भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । किनभने अहिलेसम्म ५० वर्ष काम ग¥या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन ।’

उनले थपे, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्लान् यहाँ ?’ देउवाको आगमन, उनको अभिब्यक्ति, विमानस्थलमा देखिएको भिड, सर्वाेच्च अदालतले फैसला पुनरावलोकलनका लागि दिएको निस्साबाट उनी पक्षीय समूह थप उत्साहित भएको छ ।

यद्यपि देउवाको नामा विहीबार जारी अलिमा भने एकताको आह्वान गरिएको छ । उनले आफू नेता नभइ नागरिक भएर फर्किएको बताएका छन् । गत पुस २७–३१ मा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा उभिएका कांग्रेसका नेताहरू सभापति गगन थापामाथि दबाब बढाउन राष्ट्रिय भेलासम्म पुगेका छन्।

राष्ट्रिय भेला संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाले उद्घाटन कार्यक्रमको अध्यक्षता गर्ने छन् भने देउवाको प्रमुख आतिथ्य रहने छ। नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलाको आसन विशिष्ठ अतिथिका रूपमा हुने छ।

राष्ट्रिय भेला स्थलमा करिब ५५ सय कुर्सीको व्यवस्था मिलाइएको छ। मञ्चमा निवर्तमान सभापति देउवा र भेलाका संयोजक शशांक कोइरालालाई विशेष कुर्सीको व्यवस्था मिलाइएको छ। उद्घाटन सत्रमा अतिथिहरूको भाषणा सुन्न मन्चको अगाडिपछाडि गरी ६ वटा डिजिटल बोर्ड राखिएको छ।

राष्ट्रिय भेलाका प्रतिनिधिलाई ओमसाई क्याटरिङले दुई दिनको खाना खुवाउने छ। भेलाको भोजन व्यवस्थापन उपसमितिका संयोजक पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले शनिबार र आइतबार मात्र खानाको व्यवस्था गरिएको बताए। बसाइको व्यवस्था भने भेलामा सहभागी प्रतिनिधि आफैले मिलाउनुपर्ने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top