रुस–युक्रेनमा भीषण हवाई युद्ध, इरानको ‘ऐतिहासिक विजय’ दाबी

१ भदौ , काठमाण्डौ ।

Advertisement

युक्रेनले सन् २०२६ को हालसम्मकै सबैभन्दा ठूलो र भीषण ड्रोन आक्रमण रुसमाथि गरेको छ। रुसी राजधानी मस्कोलाई मुख्य निशाना बनाई गरिएको यस कारबाहीमा कुल ८२२ वटा ड्रोन प्रयोग गरिएको रुसी अधिकारीहरूले पुष्टि गरेका छन्।

मस्कोका क्षेत्रीय गभर्नरका अनुसार रुसी राजधानीतर्फ मात्रै करिब ६०० वटा ड्रोन प्रहार गरिएको थियो, जुन पछिल्लो समयकै सबैभन्दा खतरनाक र व्यापक हवाई आक्रमण मानिएको छ।यस आक्रमणको प्रत्यक्ष प्रभावस्वरूप मस्कोबाट २५ किलोमिटर टाढा रहेको रुसी अनलाइन रिटेलर ‘वाइल्डबेरीज’ को ठुलो गोदाममा भीषण आगलागी हुनुका साथै कम्तीमा तीन जना कर्मचारी घाइते भएका छन्।

Advertisement

रुसी आपतकालीन सेवाका अनुसार यस हमलाका कारण देशका विभिन्न भागमा नागरिक तथा भौतिक पूर्वाधारहरूमा ठुलो क्षति पुगेको छ। प्राप्त विवरणअनुसार रुसको दक्षिण–पश्चिमी क्षेत्र रोस्तोभमा पाँच जना, बेलगोरोडमा एक महिला र मस्को क्षेत्रमा एक ८३ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साता मात्रै रुसले युक्रेनका १३ वटा क्षेत्रमा १५५० भन्दा बढी ड्रोन, करिब १५६० वटा निर्देशित हवाई बम र ६२ वटा मिसाइल प्रहार गरेको जानकारी दिएका छन्। उनले रुसले लगातार नागरिक पूर्वाधारहरूलाई निशाना बनाइरहेको गम्भीर आरोप लगाएका छन्।

Advertisement

यसैबीच, युक्रेनलाई अमेरिकी प्याट्रियट मिसाइल आपूर्ति गर्ने विषयमा ठुलो जटिलता उत्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल बनाउने प्रविधि वा लाइसेन्स दिन औपचारिक रूपमा अस्वीकार गरेसँगै युक्रेनले अब पूर्ण रूपमा आफ्नै घरेलु प्रविधिमा निर्भर हुँदै ड्रोन र ब्यालिस्टिक मिसाइलहरूको उत्पादन र विकासमा विशेष जोड दिइरहेको छ।

यता रुसले पनि जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न प्रमुख सहर तथा क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमणहरू अझ तिब्र बनाएको छ। रुसी आक्रमणमा परी कम्तीमा सात जना युक्रेनी नागरिकको ज्यान गएको छ भने ३९ जनाभन्दा बढी गम्भीर घाइते भएका छन्।

युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने जापोरिजिया क्षेत्रमा रुसी हवाई बम प्रहारबाट एक वृद्ध दम्पतीको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, राजधानी किभको पोचायना जिल्लामा रहेको एक प्रसिद्ध पुस्तक बजारमा रुसी मिसाइल खस्दा ठुलो भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएको छ।

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रुसी आक्रमणका कारण राजधानीमा एक बालकसहित कम्तीमा छ जना नागरिक घाइते भएका छन्।यद्यपि, रुसको रक्षा मन्त्रालयले किभमा गरिएका पछिल्ला आक्रमणहरूले कुनै पनि नागरिक पूर्वाधारलाई असर नगरेको दाबी गर्दै युक्रेनी मिसाइल र ड्रोनका पाटपुर्जा उत्पादन गर्ने मुख्य कारखानाहरूलाई मात्रै लक्षित गरिएको स्पष्ट पारेको छ।

सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस–युक्रेन पूर्णकालीन युद्ध अहिले आएर पूर्णतया ‘हवाई युद्ध’ मा परिणत भएको छ। जमिनको भूभागमा दुवै पक्षले कुनै ठुलो तथा निर्णायक सैन्य सफलता हासिल गर्न नसकेपछि दुवै देशले आकाशमार्फत एकअर्काको सैन्य र आर्थिक क्षमता ध्वस्त पार्ने यो रणनीति अपनाएका छन्।

युक्रेनले रुसी सेनाको आपूर्ति मार्ग र लजिस्टिक केन्द्रहरूलाई नष्ट गर्ने लक्ष्य राखेको छ भने रुसले युक्रेनका ऊर्जा प्रणाली र औद्योगिक क्षेत्रलाई तहसनहस पार्ने रणनीतिमा केन्द्रित रहेको देखिन्छ।अर्कोतर्फ, मध्यपूर्वमा जारी भूराजनीतिक द्वन्द्वका सन्दर्भमा इरानबाट एक महत्त्वपूर्ण र सनसनीपूर्ण राजनीतिक बयान बाहिर आएको छ।

तेहरानले अमेरिका र इजरायलद्वारा सञ्चालित ‘अन्यायपूर्ण युद्ध’ मा इरानले सैन्य र राजनीतिक दुवै दृष्टिबाट ऐतिहासिक विजय हासिल गरेको दाबी गरेको छ। इरानी प्रेस टिभीले आइतबार इरानी संसद्का सभामुख मोहम्मद गालिबाफको आधिकारिक भनाइलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेको छ।

टेलिग्राममार्फत सार्वजनिक गरिएको वक्तव्यमा सभामुख गालिबाफले भनेका छन्, “इरान अमेरिका र इजरायलको यस अन्यायपूर्ण युद्धका सामु दृढता र साहसका साथ उभियो। म पूर्ण विश्वासका साथ भन्न सक्छु कि सैन्य रूपमा पनि र राजनीतिक रूपमा पनि हामी यस युद्धमा साँच्चिकै विजयी भएका छौँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सैन्य पूर्वाधार र शक्ति पूर्ण रूपमा नष्ट भइसकेको दाबी गरिरहेको समयमा इरानी सभामुखको यो भनाइले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।

सभामुख गालिबाफले इरान र अमेरिकाबीच भएको समझदारी पत्र (एमओयू) लाई ‘राष्ट्रिय गर्व र विजयको ठुलो स्रोत’ को रूपमा परिभाषित गर्दै यसले अन्तर्राष्ट्रिय तथा कूटनीतिक मोर्चामा इरानको स्थिति र सफलतालाई थप मजबुत बनाउने बताएका छन्।

यसैबीच, इरानी सशस्त्र बलका सेनाध्यक्षले पनि देशका सबै माग पूरा नभएसम्म र क्षेत्रबाट ‘अमेरिकी–यहदी शत्रुहरू’ लाई पूर्ण रूपमा पराजित नगरेसम्म आफ्नो अडानबाट पछि नहट्ने कसम दोहो¥याएका छन्। यसै सन्दर्भमा, इरान ओमानसँग हर्मुज जलसन्धिमा नयाँ जहाज मार्ग तोक्ने अन्तिम सम्झौताको नजिक पुगेको छ।

इरानी परराष्ट्रमन्त्री अराघचीले जलमार्ग पुनः खोल्ने कुरा अन्य सर्तहरू—विशेष गरी इरानमाथिको प्रतिबन्ध अन्त्य गर्ने र रोक्का गरिएका इरानी सम्पत्तिहरू फिर्ता गर्ने विषयमा निर्भर रहने स्पष्ट पारेका छन्।अर्काेतर्फ इरानी सेनाले पहिलो पटक अमेरिकी सेनाको टाउकाको मूल्य तोकेको छ ।

अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर बराबरको इनाम दिने इरानी सेनाले आइतबार घोषणा गरेको छ । यदि यो कार्य कुनै महिलाले गरेमा इनाम दोब्बर हुने बताइएको छ । इरानी समाचार संस्था इर्नाले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गरी लेखेको छ, “यो योजना ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो सङ्ख्याको अनुरोध’ आएपछि तयार पारिएको इरनाले यो जानकारी दिएको हो।

मध्यपूर्व युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ भएको कुनै जानकारी छैन। अपवाद स्वरूप अप्रिलमा एउटा खसेको अमेरिकी पाइलटलाई उद्धार गर्न छोटो मिशन चलाइएको थियो । हातमीले अमेरिकी सैनिक कहाँ र कहिले मार्ने वा पक्रने भन्ने कुनै विवरण भने दिएका छैनन् ।

उनले भने, “आक्रमणकारी अमेरिकी सैन्य व्यक्तिलाई मार्ने वा पक्रेर बुझाउने जो कोहीले इस्लामी गणतन्त्र इरानको सेनाबाट ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको इनाम पाउनेछ।” तोमान १० हजार इरानी रियल बराबरको अनौपचारिक एकाइ हो।

उनले थपे, “यस्तो काम गर्ने साहसी इरानी महिलाहरूले दोब्बर इनाम पाउनेछन्।” तेहरान र वासिङ्टनबीचको युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो। त्यतिबेला अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गरेका थिए। करिब ४० दिनको लडाइँपछि अप्रिलमा युद्धविराम भएको थियो।

त्यसपछि जुनमा शान्ति वार्ताको रूपरेखा बने पनि पछि त्यो असफल भएको थियो । त्यसयता इरान र अमेरिकाले बेलाबेलामा एक अर्कालाई आक्रमण गर्दै आएका छन् । लडाइँ मुख्यतया दक्षिणी इरान र हर्मुज जलमार्ग वरपर केन्द्रित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top