काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले घरायसी प्रयोगकर्ताको आवश्यकता र बजेटलाई लक्षित गर्दै नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिजअन्तर्गत डुअल–ब्यान्ड राउटरसहित ८० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका पाँचवटा इन्टरनेट प्याकेज बजारमा ल्याएको हो।
कम्पनीका अनुसार नयाँ सिरिजमा ८० एमबीपीएसको ‘स्मार्ट प्याक’, १२० एमबीपीएसको ‘पावर प्याक’, १६० एमबीपीएसको ‘पावर प्लस प्याक’, २०० एमबीपीएसको ‘स्पिड प्याक’ र ३०० एमबीपीएसको ‘स्पिड प्लस प्याक’ समावेश छन्।
८० एमबीपीएसको प्याकेज विद्यार्थी, साना परिवार तथा सामान्य इन्टरनेट प्रयोगकर्ताका लागि लक्षित छ। १२० एमबीपीएसको प्याकेज सीमित संख्यामा उपकरण प्रयोग गर्ने परिवारका लागि, १६० एमबीपीएसको प्याकेज धेरै उपकरण प्रयोग गर्ने ठूला परिवारका लागि तथा २०० एमबीपीएसको प्याकेज अनलाइन गेमिङ र घरबाटै काम गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। त्यस्तै, ३०० एमबीपीएसको प्याकेज घर, कार्यालय तथा उच्च गतिको इन्टरनेट आवश्यक पर्ने प्रयोगकर्तालाई लक्षित गरिएको छ।

कम्पनीले ‘होम सिरिज’मार्फत सुलभ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउनुका साथै गुणस्तरीय, स्थिर र भरपर्दो इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। यसका लागि इन्टरनेट कभरेज, राउटरको गुणस्तर, सेवा स्थिरता, प्रयोगकर्ता अनुभव र ग्राहक सेवामा विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ।
नयाँ प्याकेजमा उपलब्ध डुअल–ब्यान्ड राउटरले २.४ गिगाहर्ज र ५ गिगाहर्ज दुवै ब्यान्डमा इन्टरनेट सञ्चालन गर्न सक्नेछ। यसले घरका विभिन्न स्थानमा कभरेज सुधार गर्नुका साथै एकैपटक धेरै उपकरणमा इन्टरनेट प्रयोग गर्दा सेवा स्थिर राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ। भिडियो कल, अनलाइन कक्षा, स्ट्रिमिङ, गेमिङलगायत डिजिटल गतिविधिमा सहज अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
वाइफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले नयाँ ‘होम सिरिज’ सार्वजनिक गर्दै ग्राहकको आवश्यकता र सेवाको गुणस्तरअनुसार कम्पनीले निरन्तर सुधार गरिरहेको बताए। ‘हामीले मूल्य बढाएका छैनौँ, बरु हाम्रा ग्राहकका लागि सेवाको गुणस्तर बढाएका छौँ। नेपालकै विश्वासिलो र गुणस्तरीय ब्रोडब्यान्ड कम्पनी बन्ने हाम्रो लक्ष्य हो ।’ उनले भने।
कम्पनीका अनुसार ग्राहकले घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता र बजेटअनुसार आफूलाई उपयुक्त प्याकेज छनोट गर्न सक्नेछन्।




