२ भदौ , काठमाण्डौ ।
अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। जाजरकोटमा बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको छ भने सात जना घाइते र तीन जना बेपत्ता छन्। उता, स्याङ्जामा पछिल्लो २४ घण्टामा १४० मिलिमिटर वर्षा रेकर्ड भएको छ भने बर्दिया, दाङ र प्युठानमा पनि धेरै भारी वर्षा भएको छ।
लगातारको वर्षाका कारण सडक तथा जनजीवन प्रभावित भइरहेका बेला पहिरोले अवरुद्ध मुग्लिन–काठमाडौं सडक भने आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।यस्तै मौसम पूर्वानुमान महाशाखाले आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन्। पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय केदार कार्की रहेका छन् ।
पहिरोमा परी गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता हुनेमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य एक जना रहेका छन् ।
बाढीपहिरोमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा परेका छन्।
अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो । आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।
बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङजामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्याङजामा यो अवधिमा १४० मिमिलिटर वर्षा रेकर्ड भएको छ । यसलाई धेरै भारी वर्षा भएको भनिन्छ । धेरै भारी भन्नाले २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु हो । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनलाई भने अति भारी वर्षा भएको मानिन्छ ।
सोही अवधिमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ । यस्तै पछिल्लो २४ घण्टामा बर्दियाको राजापुरमा १३७ मिलिमिटर वर्षा भएको छ भने दाङको नयाँबस्ती स्टेशनमा १२४.२ मिलिमिटर र प्यूठानको सेउलीबाङमा १२२.६ मिलिमिटर एवं दाङको गढवामा १०३ मिलिमिटर वर्षा भएको छ । यो पनि धेरै भारी वर्षा हो ।
ग्लिन–काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित सडकमा गएराति १०ः२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो । पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सडक अवरुद्ध बनेका कारण राजमार्गका विभिन्न स्थानमा जाम भनेक कायमै रहेको छ ।
आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका केही ठाउँमा धेरै भारी वर्षा भइरहेको । गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने महाशाखाले जनाएको छ ।
वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ ।




