काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा उपहार विजेताको घोषणा गरेको हो।
साउन महिनाको दोस्रो १६ दिनका लागि प्रत्येक दिन एक–एक जना गरी १६ जना र सहभागीमध्येबाट थप एक जनालाई बम्पर उपहारका लागि छनोट गरी कुल १७ जना उपभोक्ता छनोट गरिएको थियो।
उनले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबारका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन् ।

पुडासैनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन्।
उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकमको बिलबाट आफूलाई उपहार परेको बताए।
‘मेरो घर बाराको सिमरा हो। म नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छु,’ उनले भने, ‘मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेपछि गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ। त्यहीँ गरेको कारोबारबाट १० लाख रुपैयाँको उपहार परेको थाहा पाएँ। एकदमै खुसी लागेको छ। सबैतिरबाट बधाई आइरहेको छ।’
उनले हरेक कारोबारको बिल लिन र दिन पनि अनुरोध गरेका छन् ।




