११ भदौ ,काठमाण्डौ ।
रसुवामा आएको अकल्पनीय भीषण बाढीपछिको खोजी तथा उद्धार कार्य आज विहानैबाट तीव्र रुपमा सुरु भएको छ । गएराति प्रहरीले दिएको जानकारी अनुशार १५७ जनाको शव भेटिएको छ । २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । प्रहरीले राति ११ः०५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढी प्रहरी चौकीका ९ जनामध्ये एक, स्यार्पुबेंसीका ८ जनामध्ये पाँच, मैलुङका ८ जनामध्ये तीन, बेत्रावतीका १० जनामध्ये नौ र हाकुका ६ जनामध्ये पाँच जना सम्पर्कमा आएका छन् ।

बाढीपछि विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जना रहेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बगेर चितवनसम्म आइपुगेका ६४ जना मानिसको शव चितवनको सुरक्षा निकायले भेटेको जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार चितवनको सिमानाभित्र पर्ने त्रिशूली नदी र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले ६४ जनाको शव बाहिर निकालेको हो । अहिले बिहान खोजी तथा उद्दार सुरु भएको जनाइएको छ । भेटिएका शवलाई भरतपुर अस्पतालमा व्यवस्थापन गरिएपनि ३० भन्दा बढी शव एकैपटक व्यवस्थापनका लागि समस्या हुँदा स्थापनको लागि वैकल्पिक स्थानको खोजी भइरहेको एसपी पौडेलले बताएका छन् ।
त्यस्तै, बाढी तथा अन्य घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा चार, वीर अस्पतालमा तीन, वीरेन्द्र सैनिक अस्पतालमा एक, ग्रिन सिटी अस्पतालमा एक, नर्भिक अस्पतालमा तीन र त्रिशूली अस्पतालमा नौ जना उपचाररत छन् ।
प्रहरीले सम्पर्कविहीन रहेका आफ्ना कर्मचारीको खोजी तथा उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार राति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रमा अलपत्र परेका र जोखिममा रहेकाहरूको शीघ्र उद्धारका लागि हवाई साधन परिचालन गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णयअनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पहरूमा उपचार गरिनेछ ।
घाइतेहरूको अवस्थालाई प्राथमिकीकरण गरी गम्भीर प्रकृतिका बिरामीहरूलाई भने तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ । उद्धार कार्यलाई व्यवस्थित बनाउन घाइतेको स्वास्थ्य अवस्था हेरी सोही बमोजिम वर्गीकरण गरेर उपचार र ढुवानी प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।
यसैगरी, बाढी प्रभावितहरूका लागि आवश्यक पर्ने राहत सामग्रीहरू स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन सुरु गरिएको छ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ ।
प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन सम्पर्क अधिकृत तोकेको जनाएको हो । यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।
उता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबारे प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको प्रतिवेदनले औँल्याएको छ ।
भूकम्प गएको केही समयपछि तिब्बततर्फबाट ठूलो बाढी आएको र यसले विभिन्न स्थानका जलमापन केन्द्रका उपकरणहरू बगाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै समाप्त भइसकेको छैन ।
महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ ।घटनाको समयक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो ।
बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको सूचना प्राप्त भए लगत्तै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो । यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार र दिउँसो १ः०० बजे मुग्लिङ पार गर्दै ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
बाढीको तीव्रता र बहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्रका उपकरणहरू बाढीले बगाएका कारण ती स्थानको यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यद्यपि, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतहले १२.१ मिटरको खतराको तह पार गरी अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको छ ।
महाशाखाले निष्कर्ष निकाल्दै चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्था अझै सामान्य नभएकाले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको जनाएको छ । यस्तै रसुवा र नुवाकोट क्षेत्रबाट निरन्तर थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै आधिकारिकता र विश्वसनीयता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व सूचना महाशाखाले स्पष्ट पारेको छ ।
महाशाखाले हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठुलो बाढी आउने कुनै विश्वसनीय आधार नदेखिएको भन्दै नागरिकहरूलाई संयमित रहन र अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको हो । विभिन्न माध्यम र फोनमार्फत थप ठुलो बाढी आउन लागेको जानकारीहरू प्राप्त भइरहेको सन्दर्भमा महाशाखाले एक विज्ञप्ति जारी गर्दै स्थिति स्पष्ट पारेको हो ।
महाशाखाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना देखिएको छैन । त्यसैले आज बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकहरूलाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन महाशाखाले हार्दिक अनुरोध गरेको छ ।
भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि चीनका राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । बाढी तथा पहिरोका कारण चीन–नेपाल सीमावर्ती सिगात्से क्षेत्रको केरुङ सीमा बन्दरगाहमा समेत ठूलो असर परेको छ ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले बुधबार राति ८ बजेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको र २६५ जना बेपत्ता रहेको जनाएको छ । राष्ट्रपति सीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्न, जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
उनले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन र उद्धार कार्य वैज्ञानिक ढंगले सञ्चालन गर्न पनि निर्देशन दिएका छन् । साथै, बाढी, पहिरो तथा अन्य सम्भावित दोस्रो चरणका विपद्बाट थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता तथा प्रभावित व्यक्तिहरूको संख्या यकिन गर्न, व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गर्न र जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् । उनले चीनको विदेश मन्त्रालयलाई सम्बन्धित देशहरूसँग सूचना आदानप्रदान तथा समन्वय बढाएर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री झाङ कुओछिङको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेर उद्धार तथा प्रतिकार्यको निर्देशन गरिरहेको छ । चीनका तीन केन्द्रीय सरकारी निकाय– अर्थ मन्त्रालय, आपत्कालीन व्यवस्थापन मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले सिगात्से क्षेत्रमा उद्धार तथा राहतका लागि संयुक्त रूपमा २२ करोड चिनियाँ युआन (करिब ३ करोड ३० लाख अमेरिकी डलर) छुट्याएका छन् ।
यसैबीच, स्थानीय मौसम विभागले केरुङ क्षेत्रमा आइतबारसम्म वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । तल्लो भू–भागमा बाढी, पहिरो तथा अन्य सम्भावित विपद् आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।




