९ मंसिर , काठमाण्डौ । नेपालको औद्योगिक इतिहाससँग जोडिएको विराटनगर जुट मिल अब निजी क्षेत्रले संचालन गर्ने भएको छ । मिल्सलाई पुनर्जीवन दिने उद्देश्यले रणनीतिक लगानीकर्ता खोज्ने प्रक्रिया सरकारले अघि बढाइएको छ । विराटनगर जुट मिल्स लिमिटेडले मिलको पुनः सञ्चालन, आधुनिकीकरण तथा दीर्घकालीन व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र आह्वान गरेको छ । नेपालको पहिलो आधुनिक औद्योगिक प्रतिष्ठान ‘विराटनगर जुट मिल्स लिमिटेड’ को पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि रणनीतिक लगानीकर्ताहरूसँग आशयपत्र (ईओआई) आह्वान गरिएको छ ।
मिल व्यवस्थापनले एक सार्वजनिक सूचना जारी गर्दै अनुभवी तथा आर्थिक रूपमा सक्षम जुट उद्योगी तथा लगानीकर्ता समूहहरूबाट आशयपत्र माग गरेको हो । सन् १९३६ (वि.सं. १९९३) मा स्थापना भएको ऐतिहासिक विराटनगर जुट मिल्सलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा दीर्घकालीन औद्योगिक लिज मोडलमार्फत अधिकतम ३५ वर्षका लागि सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ । सूचना अनुसार रोयल्टी भुक्तानी, संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) वा निर्माण–सञ्चालन–हस्तान्तरण (बीओटी) मध्ये उपयुक्त मोडलमा सम्झौता गर्न सकिनेछ । लगानीकर्ताले विराटनगर र दमकमा रहेको ६७ बिघा औद्योगिक जग्गा प्रयोग गर्न पाउनेछन् ।वि.सं १९९३ मा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक औद्योगिक प्रतिष्ठान हो । लामो समयदेखि विभिन्न समस्या र चुनौतीको सामना गर्दै आएको यस ऐतिहासिक उद्योगलाई पुनः सञ्चालनमा ल्याएर मुलुकको औद्योगिक विकासमा नयाँ योगदान पुर्याउने लक्ष्यसहित लगानीकर्ताको खोजी गरिएको कम्पनीले जनाएको छ । भारतीय सीमा, प्रमुख व्यापारिक नाका र रेल सञ्जालको नजिक रहेकाले भारत तथा दक्षिण एसियाली बजारमा निर्यात गर्न सहज हुने जनाइएको छ । मिलको आधुनिकीकरणपछि दैनिक १२५ मेट्रिक टन वा सोभन्दा बढी जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य राखिएको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।
नेपाल सरकारले कृषिजन्य सामग्रीको प्याकेजिङमा जुटको बोरा अनिवार्य गर्ने नीति लिएकाले आन्तरिक बजार सुरक्षित रहेको र जुटको धागो, हेसियन क्लथ, बोरा, जियो–टेक्सटाइल तथा वातावरणमैत्री प्याकेजिङ सामग्रीको निर्यात सम्भावना उच्च रहेको सूचनामा उल्लेख छ । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार जुट उद्योगमा लामो अनुभव भएका, आर्थिक रूपमा सबल तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच भएका औद्योगिक समूहलाई प्राथमिकता दिइनेछ । विशेषगरी जुट उत्पादन तथा प्रशोधन क्षेत्रमा स्थापित उद्योग समूहलाई लगानीका लागि आकर्षित गर्ने लक्ष्य राखिएको छ ।प्रस्तावित योजनाअनुसार विराटनगर र दमक क्षेत्रमा रहेका ६७ बिघा औद्योगिक जग्गालाई उद्योग पुनः सञ्चालनको मुख्य आधार बनाइनेछ । भारतसँगको नजिकको भौगोलिक अवस्थिति, सीमा नाका, रेलमार्ग तथा अन्तरदेशीय व्यापारिक मार्गको पहुँचले उद्योग सञ्चालन र उत्पादन निर्यातमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य वस्तु उत्पादन गर्न सक्ने क्षमताको उद्योग विकास गर्ने लक्ष्य राखेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा पाँच हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । यसबाट कोशी प्रदेशको औद्योगिक गतिविधि विस्तार हुनुका साथै स्थानीय स्तरमा रोजगारी र सीप विकासका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ । जुट उद्योगको पुनः सञ्चालनसँगै स्वदेशी बजार र निर्यात व्यापारलाई समेत प्राथमिकता दिइनेछ । कृषि उपजको प्याकेजिङमा जुटका बोरा प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण आन्तरिक बजारमा मागको सम्भावना रहेको कम्पनीको दाबी छ । त्यसैगरी भारत तथा दक्षिण एसियाली बजारमा जुटको धागो, हेसियन कपडा, बोराबोरा, भू–प्राविधिक कपडा तथा वातावरणमैत्री प्याकेजिङ सामग्री निर्यात गर्न सकिने सम्भावना औँल्याइएको छ ।
लगानीकर्तालाई आकर्षित गर्न कम्पनीले पुराना दायित्वबाट पूर्ण रूपमा अलग राख्ने व्यवस्था प्रस्ताव गरेको छ । मिलको विगतका ऋण, वित्तीय दायित्व, श्रमिकसम्बन्धी समस्या तथा अन्य ऐतिहासिक दायित्वको भार नयाँ लगानीकर्ताले बेहोर्नु नपर्ने उल्लेख गरिएको छ । यसले नयाँ लगानीकर्तालाई पुरानो आर्थिक समस्याको जोखिमबिना उद्योग सञ्चालन गर्ने अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ । उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी वा दीर्घकालीन औद्योगिक भाडा सम्झौताको व्यवस्था प्रस्ताव गरिएको छ। सम्झौताको अवधि बढीमा ३५ वर्षसम्म रहनेछ । लगानीको प्रकृतिअनुसार रोयल्टी भुक्तानी, संयुक्त लगानी वा निर्माण, सञ्चालन तथा हस्तान्तरण विधिबाट उद्योग सञ्चालन गर्न सकिने विकल्पसमेत खुला राखिएको छ । सरकारी स्वीकृति तथा प्रक्रियागत सहजीकरणका लागि नेपाल सरकारको सहयोगमा आवश्यक व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।
लगानीकर्तासँग वार्ता तथा छलफलका आधारमा समझदारीपत्र तयार गरी शीघ्र सम्झौता प्रक्रियामा प्रवेश गर्ने लक्ष्य राखिएको छ । लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार प्राप्त हुने सुविधासमेत उपभोग गर्न सक्नेछन् । यसअन्तर्गत विदेशी लगानीबाट प्राप्त मुनाफा तथा लाभांश विदेश लैजान पाउने सुविधा, उत्पादनका लागि आवश्यक मेसिनरी तथा पार्टपुर्जा आयातमा भन्सार सहुलियत र सुरुआती अवधिमा न्यूनतम भाडा तथा रोयल्टी भुक्तानीमा छुटको व्यवस्था प्रस्ताव गरिएको छ ।
कम्पनीले लगानीकर्ताका लागि केही कडा योग्यता मापदण्डसमेत निर्धारण गरेको छ । जुट वा जुटसँग सम्बन्धित उत्पादन तथा प्रशोधन उद्योगमा कम्तीमा २० वर्षको निरन्तर र सफल अनुभव भएको हुनुपर्नेछ । त्यस्तै, दैनिक कम्तीमा १०० मेट्रिक टन उत्पादन क्षमताको जुट उद्योग स्थापना, सञ्चालन तथा व्यवस्थापन गरेको प्राविधिक अनुभव अनिवार्य गरिएको छ । लगानीकर्तासँग स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री र वितरण सञ्जाल हुनुका साथै जुटको धागो, हेसियन कपडा, बोरा, भू–प्राविधिक सामग्री वा मूल्य अभिवृद्धि गरिएका जुटजन्य वस्तु निर्यात गरेको प्रमाणित अनुभव हुनुपर्नेछ । उद्योगको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने आर्थिक र प्राविधिक क्षमता पनि आवश्यक पर्नेछ ।
आशयपत्र पेस गर्ने लगानीकर्ताले कम्पनीको विस्तृत विवरण, पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणित कागजात बुझाउनुपर्नेछ । प्रारम्भिक छनोटमा परेका लगानीकर्तालाई उद्योग परिसरको स्थलगत निरीक्षण गराइनेछ । साथै, उद्योगको सम्पत्ति विवरण, जग्गासम्बन्धी अभिलेख तथा कानुनी कागजात समेटिएको तथ्याङ्क कक्षमा पहुँच उपलब्ध गराइने कम्पनीले जनाएको छ । छनोट भएका लगानीकर्तासँग आशयपत्र पेस भएको एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गर्ने कम्पनीको लक्ष्य छ । त्यसपछि दुवै पक्षबाट आवश्यक अध्ययन तथा छलफल पूरा गरी दीर्घकालीन सार्वजनिक–निजी साझेदारी वा भाडा सम्झौता गरिनेछ ।
इच्छुक लगानीकर्ताले आशयपत्रको बाहिरी खाममा विराटनगर जुट मिलको पुनः सञ्चालन, आधुनिकीकरण तथा सञ्चालनसम्बन्धी आशयपत्र स्पष्ट रूपमा उल्लेख गरी पहिलो पटक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पेस गर्नुपर्नेछ । आशयपत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं वा विराटनगर जुट मिल्स लिमिटेड, विराटनगर–१५, मा बुझाउन सकिनेछ ।



