जनैपूर्णिमा र रक्षाबन्धनको के महत्व छ ? जनै कसरी लगाउने ?

१२ भदौ ८३, शुक्रबार
Share this
703shares

१२ भदौ , काठमाण्डौ ।

Advertisement

येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरू गरिन्छ ।

Advertisement

आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज गरी सप्तऋषिहरूको स्तुति गर्दै तर्पण दिने परम्परा छ ।

आजको दिन गुरु पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ । भविष्यपुराणका अनुसार, देवगुरु वृहस्पतिले अत्यन्त बलशाली दानवराज बलिलाई बाँधेर देवगणहरूको रक्षा गरेको स्मरणमा यो डोरो बाँध्ने प्रचलन सुरु भएको हो ।

Advertisement

अर्थात् “जुन रक्षा (काँचो धागो) ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु , यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीहरूले आजकै दिन पुरानो जनै त्यागी मन्त्रिएको नयाँ जनै यज्ञोपवीत फेर्ने गर्दछन्।

जनै फेर्नुअघि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरिन्छ। शास्त्रीय मान्यताअनुसार जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुनुका साथै मानिस अनुशासित र विवेकशील बन्दछ ।विभिन्न युगमा मर्यादा पुरुषोत्तम श्रीराम, श्रीकृष्ण, शिव, ब्रह्मा, महाराजा जनक र माता पार्वती, सीता, दुर्गालगायत सबैले जनै धारण गर्ने गरेको उल्लेख छ।

प्राचीन समयमा नारीहरूले पनि जनै धारण गर्ने गरेको भए पनि पछिल्लो समय यो परम्परा हटाइएको पाइन्छ। जनै फेर्दा पुरानो जनै त्याग्ने र नयाँ जनै लगाउने छुट्टाछुट्टै वैदिक मन्त्रहरूको प्रयोग गरिन्छ । विशेष गरी नेपालको तराई क्षेत्र र भारतमा प्रचलित ‘राखी’ बाँध्ने परम्परा अहिले देशभर नै विस्तार भएको छ।

दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिई रक्षाको वचन दिने गर्दछन् । यसले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।

श्रावण शुक्ल पूर्णिमा पुरोहितको हातबाट जनै फेर्ने, र दिदीबहिनीको हातबाट रक्षाबन्धन बाँध्ने दिनका रुपमा प्रचलित छ । नेवारी परम्परा अनुसार यस दिनमा क्वाँटी खाने चलन पनि छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले यस विशेष दिनमा भान्जा, ज्वाइँ र ब्राह्मणले श्लोकबाट मन्त्र जप गरिएका जनै फेर्ने र सोही अनुसार रक्षाबन्धन बाँध्ने गरिन्छ ।

यस लेखमा विविध नेपाली चाडपर्वमध्ये अग्रपङ्क्तिमा पर्ने यो पर्व विशेष महत्वका साथ मनाउनुका धार्मिक, सामाजिक र वैज्ञानिक कारण सम्बन्धित चर्चा गर्दैछौ ।जनैपूर्णिमाको धार्मिक महत्व सत्ययुगसँग सम्बन्धित छ । सत्य युगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरु बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा मनाउन थालिएको हो भन्ने मान्यता रहिआएको छ ।

जनैपूर्णिमामा आधारित एक किंवदन्ती यस्तो छ– “सत्य युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भीषण युद्ध चल्यो । अजंग शरीर भएका दैत्यहरूलाई हराउन सक्नु सामान्य कुरा थिएन । वर्षौँसम्म युद्ध चलिरह्यो । कयौं कोसिसका बाबजुदपनि इन्द्रले असुरहरूलाई पराजित गर्न सकेनन् । अन्ततः असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेरै छाडे । युद्धमा नमीठो हार बेहोरेका देवगण धर्म संस्कार विहीन भएर जीवनयापन गर्नु पर्यो । धर्ममा आस्था राख्ने देवराज इन्द्रलाई यस्तो जीवन सह्य भएन । यसरी बाँच्नु भन्दा मर्नु नै उपयुक्त विकल्प हुने ठानेर उनले अन्तिम युद्धको संकल्प गरे । श्रावण शुक्ल चतुर्दशीको दिन देवगुरु बृहस्पतिले इन्द्रको कल्याण र विजयको कामना गरे । भोलिपल्ट पूर्णिमाको शुभ मुहूर्त हेरि इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरे । जसको प्रभावका कारण इन्द्रले युद्धमा दैत्यहरूलाई हराउन सफल भए ।”
सो दिनदेखि आजसम्म ब्राह्मण वा आचार्य गुरुहरूले विशेष मन्त्र पाठ गरी रक्षा बन्धन र जनै बाँधिदिन्छन् । जुन मन्त्र यस्तो छः “येन बद्धो वलीः राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल । अर्थात् जुन रक्षासूत्रले अत्यन्त बलशाली राजा वली बाँधिएपछि सारा देवगण सुरक्षित भए, म त्यही रक्षासूत्रले बाँधी तिमीलाई सुरक्षित गर्दछु ।”

ब्राह्मण र क्षेत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल बितेपछि विधिपूर्वक व्रतबन्ध कर्म गराइन्छ । पुरोहितले मन्त्रेको जनै ६ वटा काँचो धागो अर्थात् ६ सूते धागोलाई दुई बेग्लै गाँठो पारेर सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ ।

जसलाई वार्षिक रुपमा जनैपूर्णिमाको दिन फेर्ने चलन छ । जनैको लम्बाइ ९६ अंगुल हुन्छ । जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । ६४ कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्दछन् । त्यस्तै ३२ विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् ।

ब्राह्मण पुरोहितले मन्त्रेको जनैको डोरो हातको नाडीमा धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र आध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ । साथै यसलाई पवित्रता र सुरक्षाको बन्धन पनि मानिन्छ ।

जनैपूर्णिमाको दिन दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको रक्षाबन्धन÷राखी बाँधेर, टिका लगाएर मिठाई खुवाउछन् । दाजुभाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा दिदि बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

एक शास्त्रिय कथा अनुसार, यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बांध्ने सन्दर्भमा ‘जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ’ प्रतिज्ञा दिएको हुन्छ । यसर्थ रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनको श्रेष्ठता एवंम निडरतासँग छ ।

यसरी बाँधिएको धागो गाई तिहारका दिन निकालेर गाइको पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास छ । “क्वाँटी” खाने परम्पराले यसको झनै महत्व थपेको छ । पानीमा भिजाई राखिएको गेंडागूडिहरुमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । क्वाटीमा विभिन्न ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।

यसरी हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । क्वाँटी पकाउने आ–आफ्नै तरिका हुन्छ, भूटेर, झोल बनाएर अथवा खसी वा कुखुराको मासु मिसाएर समेत क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ ।

नेवारी संस्कृतिमा यसको विशेष महत्व छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी” भनिन्छ । जनैपूर्णिमाको दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधाममा मेला लाग्ने गर्दछ ।

रक्षा बन्धनको परम्परा अनुशासनको विधि पनि हो । यो सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले मानवलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ ।

जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । हाम्रा पुर्खाहरूले मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ भन्ने गरेको सुन्नु भएकै होला । यसको पछाडि वैज्ञानिक कारण रहेको छ ।

जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । यसरी कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ एवंम पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ ।

जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ । तर पछिल्लो समय जनै पुर्णिमाको महत्व नयाँ पुस्ताले भने फुल्दै जान थालेका छन् । पश्चिमा संस्कृतिले नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको धर्मशास्त्रीहरु बताउँछन् ।

तर, रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि देश शोकमा डुबेको अवस्थामा यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा तथा राखी पर्वको उत्साहमा केही कमी देखिएको छ। विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै धेरै स्थानमा पर्व सादगीपूर्ण रूपमा मनाइदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top