काठमाडाैं । बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्धार, राहत, उपचार र पुनर्स्थापनाका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्ट पुगेर जिल्लामा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए।
उद्धार कमाण्डको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा जीवित उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए। पछिल्लो समय नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताए।
उद्धारसँगै विस्थापितहरूका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरण भइरहेको जानकारी पनि सेनाले गराएको थियो। बाढी प्रभावित क्षेत्रमा तत्काल बेलिब्रिज निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको थियो। ब्रिफिङपछि अर्थमन्त्री वाग्लेले उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक कुनै पनि स्रोतको कमी हुन नदिने बताए। उनले सुरक्षाकर्मीलाई आवश्यक पर्ने सहयोगका लागि समयमै जानकारी गराउन आग्रह गर्दै ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ’ भन्ने आश्वासन दिए।

नुवाकोट र रसुवाका जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै आफन्तहरूले तत्काल उद्धारको पहल गरिदिन अर्थमन्त्रीसँग आग्रह गरेका थिए। जवाफमा वाग्लेले सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै उद्धारमा खटिएका नेपाली सेना तथा अन्य सुरक्षा निकायमाथि विश्वास गर्न परिवारजनलाई आग्रह गरे।
त्यसपछि अर्थमन्त्री वाग्ले बाढीले ठूलो क्षति पुर्याएको ढुङ्गे बजार र ऐतिहासिक देवीघाट बजार पुगे। उनले प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै स्थानीय तथा पीडित परिवारसँग भेटेर क्षतिको अवस्थाबारे जानकारी लिए। स्थानीयले तत्काल राहत, उद्धार, सडक तथा पुल पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा ध्यानाकर्षण गराएका थिए।
देवीघाटमा वाग्लेले हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताए। अर्थमन्त्रीले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुलको पनि निरीक्षण गरे। त्यसपछि तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र तथा चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर बाढीबाट उद्धार गरिएका स्थानीयसँग भेट गरे।
बाढीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएका नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उनीहरूको उचित उपचार तथा पुनर्स्थापनाको व्यवस्था मिलाउने बताए। उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि उनले स्वास्थ्य सामग्री तथा स्रोतसाधनको अवस्थाबारे जानकारी लिए।
यसैबीच अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाबारे छलफल गरे।
जिल्ला समन्वय समितिको हलमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोतसाधन उपलब्ध गराउने स्पष्ट पारे। उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भन्ने चिन्ता नगरी प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन स्थानीय तह, राजनीतिक दल र सबै सरोकारवालालाई आग्रह गरे।
दिनभरको स्थलगत निरीक्षणपछि वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगे। त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री बिक्रम तिमिल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीहरूले विपद्पछिको उद्धार, राहत र खोजी कार्यबारे जानकारी गराएका थिए।
ब्रिफिङमा जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई अहिलेको मुख्य प्राथमिकता बनाइएको जानकारी दिइएको थियो। साथै नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले शव संकलन, खोजी तथा राहत वितरणलाई तीव्र बनाएको जनाइएको थियो।




