त्रिशूली ३ ए मा रातभर उद्धारःकुन आयोजनामा कसरी गरिँदैछ खोजी ?

१५ भदौ ८३, सोमबार
Share this
698shares

१५ भदौ, काठमाण्डौ।

Advertisement

भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछिको खोजी उद्धार तथा अहिलेसम्मका पछिल्ला अपडेटका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं । दर्शकबृन्द बाढस्पछिको छैठौं दिन पुग्दा ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ ।

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । सात हजार ८९४ सुरक्षाकर्मी उद्धार तथा खोजमा खटिएका छन् ।

Advertisement

बाढीपश्चात सम्पर्कविहीन हुनेको संख्या दुई हजार ५०२ रहेको छ । सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी, चारजना अध्यागमन कार्यालयका कर्मचारी छन् ।

विभिन्न जलविद्युत् आयोजनमा कार्यरत ९३३, विदेशी ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् । यस्तै, रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन छन् ।

Advertisement

प्राधिकरणका अनुसार, हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ । जलविद्युत् आयोजनाका सुरुङबाट २७९ जनाको उद्धार गरिएको जनाइएको छ । नेपाली सेनाले २५४ विदेशी र तीन हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ । सात हजार ८९४ नेपाल प्रहरी, आठ हजार ५२१ जना नेपाली सेना र चार हजार २०३ सशस्त्र प्रहरी खोज तथा उद्धारमा बाढी प्रभावित क्षेत्रमा खटाइएको छ ।

नेपाली सेना र भारतीय उद्धारकर्ताहरूको टोलीले आइतबार चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेको छ। भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको आइतबार पनि खोजी जारी राखिएको छ।

जसका लागि भारत र चीनबाट आएका विशेषज्ञ टोलीसहित नेपाली सेना परिचालन गरिएको हो। सरकारले दिएको जानकारीअनुसार हाल त्रिशूली–३ ‘ए’, ‘बी’, लाङटाङ, चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि विभिन्न प्रयास भइरहेका छन्।

त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको सुरुङको पोर्टसम्म उद्धार टोली पुगिसकेको छ। सुरुङको पोर्टको मुख सफा गर्ने काम भइरहेको छ। पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ । यसका लागि रातभर नै उद्धार अभियान जारी राखिएको थियो ।

उद्धारकर्मीले भित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै अगाडि बढ्ने भनिए पनि सोचेअनुसार सफलता मिलिरहेको छैन। उनीहरूसँग क्यामरासमेत पठाइने भएकाले सुरुङभित्रको वास्तविक अवस्था बाहिरबाटै हेर्न सकिनेछ। पोर्टबाट करिब १८० मिटर अगाडि पुगेपछि सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकिने अनुमान गरिएको छ।

उक्त स्थानमा पुगेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था, स्थान र सुरक्षाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास जारी राखेको छ।

शनिबारदेखि नै ब्लास्टिङ सुरु गरिएको थियो। पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली खटिएको छ।

यसअघि टोलीले सुरुङको मुख्य भाग (‘क्राउन हेड’) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखेको छ।

सुरुङमा उद्धारका लागि आइतबार रातभर उत्खननको काम निरन्तर सञ्चालन गरिएको छ। उत्खननसँगै सुरुङभित्र भेन्टिलेसनको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा अघि बढाइनेछ। उद्धारकर्मी घस्रिएर जान सक्ने गरी ‘क्रल–थ्रु’ बाटो बनाउने तयारी गरिएको छ।

उक्त बाटो हुँदै स्ल्याबको माथिबाट घस्रिएर डक्टको माथिल्लो भागसम्म पुग्ने र त्यहाँबाट सुरुङभित्रको वास्तविक अवस्था निरीक्षण गर्ने योजना छ। अहिले बिहान सबेरै नेपाली सेनाले ‘कन्ट्रोल्ड ब्लास्टिङ’ गर्ने वैकल्पिक योजना बनाएको छ। उद्धार टोलीले सुरुङभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ।

उद्धारपश्चात् उपचारसहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टिम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धारस्थलमा नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारीसहितको टिमलाई यथावत् रूपमा साइटमा बसी नेपाली सेना तथा विज्ञ टोलीसँग समन्वय गरी उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गरी सोको नियमित रूपमा रिपोर्टिङ गर्ने निर्देशन दिइएको छ।

यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोलीले घटनास्थलको भौगोलिक र प्राविधिक अवस्थाको निरीक्षण गर्दै उद्धारको काम अघि बढिरहेको जानकारी सरकारले दिएको छ।

त्यसैगरी, लाङटाङ हाइड्रोको सुरुङमा रेकी तथा खोज पेट्रोल आइतबारदेखि सञ्चालन भइरहेको छ। चिलिमे हाइड्रोको सुरुङमा भारतबाट आएको विज्ञ उद्धार टोली र सनाको टोलीले शव निकालेका हुन्। उनीहरूको टोलीले लाङटाङ र चिलिमेमा टनेल सर्च एन्ड रेस्क्युको काम गरिरहेको छ।

रसुवागढी जलविद्युत आयोजनाबाट हराइरहेका ९३ जनाको खोजी कार्य पनि सुरु गरिएको छ। उपकरण लगेर सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने कार्यको शुभारम्भ गरिएको छ। शनिबारसम्म भौतिकरूपमा खोजी गर्ने कार्य सुरु नै हुन नसकेकोमा आइतबार बल्ल उपकरणसहित उद्धार टोली रसुवागढी आयोजनाको विद्युत्गृह पुगेको छ।

५ दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ। हराइरहेकाहरूमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन्। २ जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना छन्।

सीडब्ल्यूईका ४ जना र भेनस कन्स्ट्रक्सनका ३ जना हराइरहेका छन्। भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये ४ जना २ दिन लगाएर आफैं बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। उनीहरू काठमाडौं आइसकेका छन्। ३ जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए।

रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार उपकरणमार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। यस्तै, लाङटाङ खोला आयोजनाबाट १९ जनाको पहिले नै उद्धार भएकोमा सुरुङमा फसिरहेका ४१ जनाको अझै उद्धार हुन सकेको छैन।

निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरणसहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोजतलास गरे पनि कुनै सफलता मिलेको छैन। मैलुङ खोलाबाट हराइरहेका ७ जनाको अवस्था अझै अज्ञात छ। सरकारसँग पहल गर्दा पनि हराइरहेकाहरूको खोजी कार्य हुन नसकेको गुनासो इप्पानले गरेको छ।

रसुवा र नुवाकोटमा बाढीले क्षति पु¥याएका ११ वटा आयोजनाबाट सम्पर्कविहीन भएकाको संख्या ८९७ छ। रसुवाको माथिल्लो त्रिशूली १ मा सम्पर्कविहीनको संख्या ५७६ छ। रसुवागढी जलविद्युतमा ९३, रसुवा–भोटेकोसीमा ४, लाङटाङ खोलामा ४१, चिलिमेमा ८ र मेलुङ खोलामा ७ व्यक्ति बाढीपछि कुल ७२९ सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

यस्तै, नुवाकोटको त्रिशूली जलविद्युत्, देवीघाट जलविद्युत् आयोजनाबाट १÷१ जना सम्पर्कमा छैनन्। मिडल त्रिशूली गंगामा २ जना सम्पर्कविहीन छन्। त्यसैगरी, माथिल्लो त्रिशूली ३ ‘ए’ मा ४२ र माथिल्लो त्रिशूली ३ ‘बी’ मा १२२ जना सम्पर्कविहीन छन्।

सरकारले भोटेकोसी बाढी पीडितका लागि रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ। यी केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्। यस्तै, उनले प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिएको बताए।

रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको, चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको, साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ

तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको उनले बताए। आइतबारसम्म ९ हजार ४३५ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको पनि प्रधानमन्त्रीले जानकारी दिए। उनले बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको तथा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको उल्लेख गरेका छन्।

साथै, प्रधानमन्त्री शाहले प्रधानमन्त्री राहत कोषमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको जानकारी दिँदै विभिन्न दातृ राष्ट्रबाट उपलब्ध सहयोगबारे पनि विवरण पेस गरेका छन्। बाढीले मुख्य सडकहरूमा क्षति पु¥याएको थियो।

हामीले वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास गरिरहेको बालेनले बताएका छन् । तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ। साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ।

तर, हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेका छन्। प्रधानमन्त्रीले भनेका छन् । उनले बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको र पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको बताएका छन् ।

अन्त्यमा प्रधानमन्त्रीले भनेका छन् । हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पु¥याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top