प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडौँ — कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ  । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन  ।

कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने, निर्दाेषलाई दोषीका रूपमा प्रस्तुत गर्ने र सत्यतथ्य अनुसन्धान नगरी अपराध ढाकछोप गर्न खोज्नेहरू सजायका भागिदार हुन् ।

‘कसैले कुनै कसुरदारलाई बचाउने नियतले निजले गरेको कसुरसम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन,’ संहिताको दफा ९३ मा भनिएको छ, ‘यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

सरकारले कानुनी व्यवस्थाअनुसार तत्काल मुद्दा चलाउनुपर्ने अधिवक्ता सरोज गिरी बताउँछन् । ‘निर्मला प्रकरणमा प्रहरीले मानसिक स्थिति कमजोर भएका दिलीपसिंह विष्टलाई यातना दिएर कसुर कबुल गर्न लगाएको र प्रमाणहरू नष्ट गरेको सरकारकै प्रतिवेदनमा आइसकेको छ,’ उनले भने ।

प्रहरीले निर्मलाको सुरुवाल धोएको र शव पखालेको भिडियो सार्वजनिक भएको औंल्याउँदै प्रतिवेदनमा यसलाई प्रमाण नष्ट पारेको उल्लेख गरिएको छ । ‘निर्मलाको बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तुहरू, भित्री वस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालिएको तथा भित्री वस्त्र नै लोप भएको,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले प्राप्त अन्य प्रमाणसमेत लुकाएको छानबिन समितिले जनाएको छ । ‘२०७५।४।११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको घटनास्थल लासजाँच मुचुल्का र दसी सनाखत मुचुल्कामा मृतक पन्तको जीउमा रहको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेस्ट र खरानी रंगको पेन्टीलगायत साइकल, कापी बरामद गरेर प्रहरीले लगेको उल्लेख रहेको,’ प्रतिवेदनमा भनिएको छ, ‘तर बरामद गरी लगिएका उल्लिखित वस्तुहरू हाल नभेटिएको ।’आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.