राष्ट्र संघले पनि भन्यो अझै हिमनदी बाढी आउने गम्भीर जोखिम

१८ भदौ ८३, बिहीबार
Share this
746shares

१८ भदौ , काठमाण्डौ ।

Advertisement

संयुक्त राष्ट्रसंघले समेत नेपालसहित हिमालय क्षेत्र हिमनदी बाढीको गम्भिर जोखिममा रहेको चेतावनी दिएको छ। राष्ट्रसंघकी एक वरिष्ठ अधिकारीले हिमालयी क्षेत्रमा भविष्यमा पनि हिमनदी बाढी आउने गम्भीर जोखिम रहेको चेतावनी दिएकी हुन् ।

यसका कारण जलविद्युत् ऊर्जामा संकट आउनुका साथै नदी किनारमा बस्दै आएका लाखौँ मानिसहरू विस्थापित हुनुपर्ने स्थिति सिर्जना हुन सक्ने उनले बताएकी छन् । रोयटर्ससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघकी सहायक महासचिव कन्नी विग्नराजाले यो खतराबाट लाखौँ मानिसहरू प्रभावित हुन सक्ने बताएकी हुन् ।

Advertisement

सन् २०२० मा शोधकर्ताहरूले नेपाल, चीन र भारतमा ४७ वटा सम्भावित रूपमा जोखिमपूर्ण हिमनदी तालहरूको पहिचान गरेका थिए । तर, पछि यो वास्तविक संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको थियो । विग्नराजाले जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेकाले हिमालयी क्षेत्रमा हिमनदी बाढीका साथै हिमनदी ताल फुटेर आउने बाढीको खतरा निरन्तर बढिरहेको बताइन् ।

नेपालमा गत साता आएको भीषण बाढी पनि हिमनदीको एक भाग तहसनहस भएर खसेका कारण आएको थियो । उक्त बाढीमा परी अहिलेसम्म एक हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको पुष्टि भएको छ। यस बाढीबाट नेपालका १० भन्दा बढी जलविद्युत् आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

Advertisement

ती आयोजनाका सुरुङहरूमा ठूलो संख्यामा कामदारहरू फसिरहेका छन्, जसको उद्धारका लागि प्रयास जारी रहे पनि हालसम्म उनीहरूको अवस्था थाहा पाउन सकिएको छैन । नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका ४७ वटा हिमताल र हिमनदीहरू उच्च जोखिममा रहेको बताइन्छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले हिन्दकुश पर्वत क्षेत्रमा सो अध्ययन अनुसार जोखिममा रहेकामध्ये ४२ वटा हिमताल र हिमनदी नेपालकै सबैभन्दा ठूलो नदी कोशीको जलाधार क्षेत्र (बेसिन) मा रहेका छन्।

यस्तै, ३ वटा गण्डकी बेसिनमा र २ वटा कर्णाली बेसिनमा रहेको अध्ययनले देखाएको छ। सन् २०२० र २०२२ मा गरिएको अध्ययनले नेपालका ठूला नदी प्रणालीमा जोडिएका यी हिमतालहरू कुनै पनि बेला फुट्न सक्ने र यसले ठूलो विनाश ल्याउन सक्ने चेतावनी दिएको छ।

अध्ययनअनुसार जोखिमयुक्त अधिकांश हिमतालहरू तिब्बती क्षेत्रमा रहेका छन्। कोशी, गण्डकी र कर्णाली नदीको बहाव प्रणालीमा जोडिने ती खतरनाक हिमतालमध्ये २५ वटा चीनको तिब्बतमा, २१ वटा नेपालमा र एउटा भारतमा पर्दछन् ।

तिब्बत र भारतमा रहेका जोखिमयुक्त तालहरू फुटेमा त्यसको प्रत्यक्ष र भयावह प्रभाव नेपालमा पर्ने अध्ययनको निष्कर्ष छ। प्रतिवेदनअनुसार कोशी, गण्डकी र कर्णाली बेसिनमा ३ हजार ६ सय २४ हिमतालहरू पहिचान गरिएको छ, जसमध्ये ४७ वटा सम्भावित खतराको सूचीमा छन्।

दुधकोशी बेसिनका ९ वटा हिमताल खतराको सूचीमा छन्, जसमा इम्जा, लुम्दिङ, चामलाङ, होङ्गु–१ र होङ्गु–२ रहेका छन्। यी हिमतालहरूको क्षेत्रफल तीव्र रूपमा विस्तार भइरहेकाले माथिबाट बरफ खसेर फुट्ने उच्च जोखिम छ। यस्तै, यी हिमतालहरूको निकास बाँधको छेउमै रहेको र बाहिरी भाग अत्यधिक भिरालो भएकाले पनि जोखिम बढी देखिएको छ।

यसैगरी, अरुण बेसिनमा ४ वटा हिमताल खतराको सूचीमा छन्। करिब २.७ किलोमिटर लामो र ६०० मिटर चौडा यो तालको पानी बरुण खोला हुँदै अरुण नदीमा मिसिन्छ। सन् २०२० को अध्ययनअनुसार यसमा करिब ११ करोड २३ लाख घनमिटर पानी रहेको मापन गरिएको थियो।

यसैगरी, तमोर बेसिनमा ४ वटा र तामाकोशी बेसिनमा एउटा (छो रोल्पा) हिमताल जोखिममा छन्। हिमनदी पग्लिएर बनेको छो रोल्पाको आकार तीव्र रूपमा बढिरहेको र यसको बाँध कमजोर भएकाले उच्च जोखिम छ। त्रिशूली बेसिनमा एउटा र मस्र्याङ्दी बेसिनमा रहेको ठूलागी हिमताल पनि जोखिमको सूचीमा छन्।

तिब्बततर्फ रहेका २५ वटा जोखिमयुक्त हिमतालमध्ये २४ वटा सप्तकोशी बेसिनअन्तर्गत नै पर्दछन्। युनिभर्सिटी अफ साउथ फ्लोरिडाका भूगर्भशास्त्रका प्राध्यापक जेसन गलीले द न्युयोर्क टाइम्सबाट नेपालका लागि हिमनदीहरु टाइम बमका रुपमा रहेको टिप्पणी गरेका छन् ।

बुधबारको विपदको विषयमा अहिलेसम्म थाहा भएको कुरा के हो भने हिमनदीको एउटा विशाल हिस्सा टुक्रिएर ४ हजार फिट तल भोटेकोसीको सहायक नदीमा बजारियो। सुरुमा यसलाई भूकम्प भन्ने ठानियो। किनभने यसका कारण ५.२ म्याग्निच्युडको कम्पन पैदा भएको थियो।

केही समयमै बाढी तल झर्न थाल्यो र चट्टान तथा पानीको विशाल लहरले केरुङ बन्दरगाह छोपिदियो। हिमालयमा आउने धेरैजसो विनाशकारी बाढीका लागि हिमताल जिम्मेवार हुन्छन्। तीव्र गतिमा पग्लिन थाल्नुअघि नेपालका हिमनदीहरूले पहाडलाई तलतिर धकेल्ने गर्थे।

जसका कारण ढुंगा, माटो, बालुवाको सयौँ फिट अग्ला थुप्रा बन्थे। हिमनदी विज्ञहरू तिनलाई ‘मोरेन’ भन्छन्। पृथ्वीको सतह तात्दै गएसँगै हिमालमा पनि तापक्रम तीव्र गतिमा बढेको छ। हिमनदीहरू खिइँदै गएका छन्। र, ती ढुंगा,माटो, बालुवाका थुप्रोहरूले हिमनदी पग्लेर आएको पानीलाई छेक्न थालेका छन्। यो प्रक्रियाले ठुल्ठूला तालहरू बन्न थालेका छन्।

ती ताल फैलिँदै गएर हिमनदीलाई विस्थापित गर्न सक्छन्। अथवा, कुनै कारणवश अचानक फुटेर ठूलो विनाश गर्दै बाढी आउन सक्छ। सन् २०२४ मा खुम्बु क्षेत्रमा पहिरो गएर हिमनदीमा ठोक्किएको थियो। जसका कारण ढुंगामाटोको थुप्रोले छेकिएर बनेको एउटा त्यस्तै तालबाट बाढी चलेको थियो।

त्यसबेला नजिकैको थामे गाउँबाट १० करोड ग्यालेन पानी बग्न पुगेको थियो। भाग्यवश, त्यो घटनामा कसैको ज्यान गएन। तर, बाढीले गाउँको स्कुल, हेल्थपोस्ट, कयौँ लज र घर ध्वस्त पा¥यो। हिम पहिरो, हिमनदी टुक्रिने घटना, चट्टान र बरफ मिश्रित पहिरोलाई वैज्ञानिकहरूले हिमनदीजन्य दुर्घटना भन्ने गरेका छन्।

र, तथ्यांक हेर्दा चीन–नेपाल सीमा क्षेत्रमा सन् १९०० यता यसपालिको जस्तो हिमनदीजन्य दुर्घटना दर्जनौँ पटक भइसकेका छन्। हिमनदीको ठूलो टुक्रा ४ हजार फिटमाथिबाट तल बजारिँदा बरफ धुलोपिठो भएर पानीमा परिणत भएको हुनसक्ने केही वैज्ञानिकहरूको आकलन छ।

पृथ्वीलाई तताइरहेको कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रणमा नलिने हो भने हिमालय पर्वत, काराकोरम, पामिर, हिन्दुकुश र तियानसान सबैलाई समेट्ने एसियाको उच्च भाग तात्नेछ। जसका कारण बाँकी रहेका हिमनदीमध्ये ७५ प्रतिशत सन् २१०० सम्ममा नष्ट हुनेछन्।

मोरेनले छेकेका र बरफ पग्लिएर बनेका खाल्डाखुल्डीमा जम्मा हुने पानीले हजारौँ हिमनदीलाई हिमतालमा परिवर्तन गर्नेछ। जेसन गलीका अनुशार त्यस्ता प्रत्येक हिमताल तल्लो भूभागमा बस्ने मानिसहरूका लागि विस्फोट हुन तयार टाइम बम बन्न सक्छ।

केही वर्षअघि थामेमा आएको बाढीले साना हिमताल पनि आफैँमा खतरनाक हुनसक्छन् भन्ने देखाएको थियो। त्यसमाथि ठूलो हिमताल बनाउन र ठूलो विपत्ति ल्याउनमा पनि तिनको महत्त्वपूर्ण भूमिका हुन्छ।अरु थुप्रै नेपाली हिमनदीजस्तै ङोजुम्पा हिमनदीलाई पनि आसपासका पहाडबाट झरेका ढुंगामाटोको बाक्लो तहले ढाकेको छ।

जेसन भन्छन् , पहिलेपहिले यसरी ढाकेको ढुंगामाटोले बरफलाई पग्लिनबाट रोक्ने हिमनदीविज्ञहरूको धारणा थियो। तर, अहिले हामीलाई थाहा भइसकेको छ– हिमतालले हिमनदी पग्लिने गति तीव्र बनाउँछ। पग्लिएको पानीभित्रको लेदो र हिलोका कारण हिमतालको पानी गाढा खैरो रङको हुन्छ।

घाम लागेको दिन कालो टिसर्ट लगाउँदा हामीलाई गर्मी भएझैँ त्यो कालो रङले हिमतालको पानीलाई पनि तताउँछ र वरिपरिको बरफ पगाल्छ। तातो पानीले हिमनदीलाई भित्रभित्र खोक्रो बनाउन सक्छ। जहाँ अनेकौँ सुरुङ बन्न पुग्छन्। ती सुरुङ भत्किँदा नयाँ खाल्डाखुल्डी बन्छन् र ती खाल्डामा पानी जम्मा भएर नयाँ हिमताल बन्छन्।

यसरी क्यान्सरका बिरामीको शरीरमा ट्युमर बढेझैँ तीव्र गतिमा बढिरहेका हिमतालले हिमनदीलाई नै निलिदिन सक्छ। उनी भन्छन्, म हिमनदी विज्ञानमा केन्द्रित भूगर्भशास्त्री हुँ। र, भविष्यमा यस्ता बाढी आउन नदिन के गर्ने, मलाई थाहा छैन। तर, एउटा कुरा भने मलाई निश्चित रूपमा थाहा छ, यस्ता बाढी फेरि पनि आउने छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top