२६ भदौ , काठमाण्डौ ।
विनशाकारी बाढीबाट अकल्पनीय क्षतिपछि नेपालले गरेको माग वमोजिम संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज) ले जवाफ पठाएको छ। विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन गरी पठाएको हो ।
१० भदौको रसुवा बाढीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर १५ भदौमा पत्राचार गरेको थियो । हानि तथा जोखिम सम्बोधन कोषको बोर्डलाई नेपालले पठाएको पत्रको जवाफ एक हप्तापछि प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

बोर्डले २४ भदौमा पठाएको जवाफमा नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ। कोषका सहअध्यक्षद्वय क्यामिला मिनर्भा रोड्रीगिज तावरेज र जर्ज ब्रोस्टिनले पठाएको पत्रमा भनिएको छ, ‘यस क्रममा, हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हानी तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यादेश, संरचना, ढाँचा, नीति तथा कार्यविधिको सीमाभित्र रहेर विभिन्न विकल्पहरूबारे विचार गर्न हामी बोर्डलाई सिफारिस गर्दछौं।’
सहअध्यक्षहरूको हैसियतमा, विनाशकारी भोटेकोशी बाढीका कारण नेपालमा भएको ठूलो जनधनको क्षति तथा नोक्सानीप्रति हामी नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण नेपाली जनताप्रति ऐक्यबद्धता जनाइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीलाई पत्रमा ‘प्रारम्भिक मूल्याङ्कन, आधिकारिक तथ्यांक, भू–उपग्रहबाट प्राप्त सूचना तथा क्षतिको अनुमान उपलब्ध गराउन नेपाल सरकार तयार रहेको जनाएकोप्रति हामी विशेष आभार व्यक्त गर्दछौं,’ भनिएको छ ।
बोर्डका सदस्य रिचर्ड शर्मनले कोषले नेपाललाई बढीमा २० मिलियन डलर (३ अर्ब ४ करोड रुपैयाँ) उपलब्ध गराउने सम्भावना रहेको न्यूयोर्क टाइम्स आफ्नो एउटा रिपोर्टमा उल्लेख गरेको छ। १० भदौमा आएको बाढीले रु. ७ खर्बको भौतिक क्षति गरेको सरकारको प्रारम्भिक मूल्याङ्कन छ। यो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणको ¥यापिड ड्यामेज एसेसमेन्ट हो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले कोषबाट पत्र प्राप्त गर्नु ऐतिहासिक भएको बताएका छन् । नेपालले क्षतिपूर्ति मात्र होइन वातावरण संरक्षणमा पु¥याएको योगदान बापत्को पनि रकम पाउनु पर्ने विज्ञहरूले बताउँदै आएका छन् ।
नेपाल कार्बन डाइअक्साइड न्यून उत्पादन गर्ने देशमध्ये एक हो। नेपालले हिमाल, वनस्पति, वनजंगल तथा जैविधक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। बोर्डका अनौपचारिक बैठकमा नेपालले रु. तीन अर्ब भन्दा बढी (२० मिलियन) क्षतिपूर्ति दाबी गर्नुपर्ने विषयमा छलफल भएको उल्लेख छ ।
बोर्डको दशौं बैठक २०२६ डिसेम्बरमा फिलिपिन्सको मनिलामा हुँदैछ। एघारौं बैठक भने २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुन लागेको छ। रसुवा बाढीको विषय २४ सेप्टेम्बरमा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा पनि प्रधानमन्त्री वालेन्द्र शाहले उठाउने तयारी गरेका छन् । परराष्ट्र मन्त्री शिशिर खनालले नेतृत्व गर्ने तय भएको सभामा रसुवा बाढीपछि प्रधानमन्त्री आफैं जान लागेका हुन्।
१० भदौमा आएको रसुवा बाढीका कारण १ हजार ३७७ जनाको ज्यान गइसकेको छ भने ५ हजार १३० जना सम्पर्कविहीन छन् । साढे सात हजार घाइते छन् । यता भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानमा अलपत्र परेका ३० जनाको नेपाली सेनाले बिहीबार हेलिकप्टरमार्फत जीवित उद्धार गरेको छ ।
सैनिक मुख्यालयले बिहीबार साझ जारी गरेको अपडेटअनुसार बाढीपछि हालसम्म हेलिकप्टरमार्फत ४ हजार १११ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८२८ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् । विभिन्न जलविद्युत् आयोजनाका टनेलमा पनि नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्वीक रियाक्सन टिम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेको छ । लाङटाङ हाइड्रोमा सेनाका २५ जनाको टोलीले टनेलभित्र खोजी गरिरहेको छ । चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले टनेलभित्रको लेदो हटाइरहेको छ ।
हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण भइरहेको र टनेलसम्म पुग्न ३५ मिटर बाँकी रहेको सेनाले जनाएको छ। सडकको ट्र्याक खोल्ने काम भने सम्पन्न भएको छ । माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–१ टनेलमा पनि सेनाको टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोली र त्रिशूली–३ ‘बी’मा पनि संयुक्त टोलीबाट खोजी कार्य भइरहेको छ ।
जमिनतर्फ पनि रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी जारी रहेको सेनाले जनाएको छ । सेनाले त्रिशूली र धुञ्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बिहीबार २१ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
सेनाका अनुसार हालसम्म ३ हजार ५८० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा नेपाली सेनाले नुवाकोट–५, देवीघाटस्थित तादी खोलामा ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको एड्भान्स मोड्युलर प्यानल ब्रिज (एक्रो ब्रिज) जडान गरी सडक सुचारु गरेको छ। अधिकतम ६० टन भारवहन क्षमता रहेको उक्त पुल सञ्चालनमा आएपछि नुवाकोट तथा आसपासका नागरिकको आवतजावत सहज भएको छ ।
साथै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता हुने सेनाले जनाएको छ। बिहीबार साँझ ६ बजेसम्म चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेल भित्रको लेदो फाल्ने कार्य गरिरहेको थियो । हेभी इक्वीमेन्ट लैजानको लागि ब्लाष्टिङ्ग गरि बाटो निर्माणको कार्य भइरहेको र टनेलसम्म पुग्न ३५ मिटर बाँकी रहेको उल्लेख छ ।
सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको समेत बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रबाट बाहिर चिसो हावा आएको र भित्र आवाज गएको जानकारी प्राप्त भएको बताएका छन्।
उनले नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार करिब १०५ मिटर भित्रबाट बाहिरपट्टि चिसो हावा आएको र हावा दोहोरो बहाब भएको पाइएको हिजो अपरान्ह जानकारी दिएका थिए । उनले अगाडि भनेका छन्, ‘भित्र आवाज गएको र इको आएको जानकारी प्राप्त भएको छ।’
यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा कर्मचारी तथा मजदुर फसेको आशंकामा नेपाली तथा विदेशी विज्ञसहितको टोलीले खोज तथा उद्धार प्रयास गरिरहेको छ। त्यसका लागि जलविद्युत् गृहभित्रको लेदो फाल्ने क्रम जारी छ भने स्याफ्रुबेँसीदेखि चिलिमे विद्युत्गृह पोर्टलसम्म सडक निर्माणलाई तीव्रता दिइएको छ।
यसका लागि आवश्यक थप अपरेटर र मेसिन स्पेयसपार्टसको व्यवस्था गरिएको छ। सडक खुलाउन आवश्यक परेको स्थानमा विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी पनि छ। धुन्चेतिरको बिजुलीलाई चिलिमेको विद्युत्गृहसम्म पु¥याउने पाइलट वायर जोडिएको छ। ड्रोनमार्फत पाइलट वायर जोडिएको छ।
यससँगै धुन्चेको एबीसी केबुलबाट स्याफ्रुसम्म हेलिकप्टरमार्फत ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ। खोज तथा उद्धार टोली सुरुङ छिचोलेर विद्युत्गृहभित्र छिर्ने प्रयासमा छ। यसका लागि नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि खटिएका छन्।
विद्युत्गृहसम्म पुग्न करिब दुई सय मिटर बाँकी रहेको जनाइएको छ। विद्युत्गृह करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको छ। विद्युत्गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ठूलो ब्याट्री बैंक (पर्याप्त बत्ती हुने) लगायत आवश्यक खाद्य सामग्री छन्।
विद्युत्गृहमा ६ जना रहेको आकलन गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली र विदेशी टोली खटिइरहेका छन्। यसैबीच स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार बिहीबार माथिल्लो त्रिशूली १ मा थप एक जना शव फेला परेको छ। कोरियाली लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको यस आयोजनालाई बाढीले क्षतिग्रस्त बनाएको छ।
नेपाली सेनाको १६ जनाको सर्च टोलीले डिसेन्डर क्षेत्रमा बिहीबार खोजी गरे पनि कसैलाई नभेटेको जानकारी दिएको छ। तर, बिहीबार हाकुबेसीस्थित फूलबारी त्रिशूलीको बायाँ किनारमा एउटा शव भेटिएको छ। सो शवको पहिचान गरेर नेपाल प्रहरीलाई जानकारी दिइएको प्रवद्र्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।
अडिट नम्बर १, ३ र हेडवक्र्स क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरबाट मिनी एक्स्काभेटर लगायतका उपकरण एयरलिफ्ट गरेर लैजानका लागि कम्पनीले सेनासँग समन्वय गरे पनि सेनाले सीमित ठाउँ र जटिल भौगर्भिक अवस्थाको कारण बिहीबार पनि अवतरण गराउन सकेको छैन।
सेनाले आज भने आफ्नो एमआई १७ हेलिकप्टरमार्फत बिहान मैलुङ क्याम्पमा लग्न सकिने जानकारी कम्पनीलाई दिएको छ। यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावसँग कम्पनी व्यवस्थापनले संक्षिप्त बैठक गरेर हालको उद्धार अवस्थाबारे समेत जानकारी गराएको छ।
यसैगरी बिहीबार नै सम्पर्कविहीन कर्मचारीहरूको नजिककका हकदारहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्य सुरुवात भइसकेको कम्पनीले जानकारी दिएको छ। भदौ १० गते बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए। त्यसमध्ये हालसम्म ८७८ जना सम्पर्कमा छन्। सम्पर्कविहीन ५४५ मध्ये ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिक छन्।




