२६ भदौ , काठमाण्डौ ।
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरे प्रीतिमापन्ने प्रियन्ते सर्वदेवता ।।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । वैदिक हिन्दु परम्परा अनुसार भाद्रमास कृष्णपक्ष अमावश्य अर्थात् औंसी तिथिमा मनाइने चाडको नाम हो कुशे औंसी यसलाई बाबुको मुख हेर्ने दिन अनि गोकर्ण औंसीको रूपमा पनि चिनिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।
यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।
यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ । मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । यसैदिन रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्दग्थ्यो ।
तर यसपटक भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको छ। ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन् । अरू दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
कुशाग्रे शंकरोदेवास्त्रयो देवाः कुशे स्थिताः।।
अर्थात कुशको मूलमा ब्रह्मा, माझमा विष्णु, टुप्पामा शंकरजी हुनुन्छन् भनिएको छ। यसर्थ कुशको विशेष महत्त्व रहेको पाइन्छ। स्नान गर्दा, दान गर्दा, जप गर्दा, होम गर्दा, स्वाध्याय गर्दा, पूजापाठ गर्दा, विभिन्न प्रकारका पितृकार्य, देवकार्य आदिका लागि कुश अति नै आवश्यक र अनिवार्य वस्तु हो। कुशलाई सात्विक वनस्पतिको रूपमा पनि लिइएको हुनाले यसलाई तत्काल फल दिने आषधिको रूपमा प्रयोग गरिएको पाइन्छ।
आयु वृद्धिका लागि पनि कुशको प्रयोग गरिन्छ। दाह, रक्तपित्त, मृगौलाको पत्थरी आदि रोगको उपचारमा पनि कुशको प्रगोग हुन्छ। जुन मानिसको कुशासनमा प्राण जान्छ उसको सन्तान छैन भने पनि निःसन्देह वैकुण्ठ जान्छ भन्ने वचन शास्त्रहरूमा पाइन्छ। कुशको आशन प्रयोग गर्नु वैज्ञानिक र धार्मिक दुबै रूपले अति उपयोगी र अति महत्त्वपूर्ण पनि छ।
साधकले प्राप्त गर्ने उर्जालाई नाश हुन नदिनका लागि कुश सहयोगीका रूपमा सिद्ध हुन जान्छ।यो कुरा स्वयं गीताले पनि ‘चैलाजिनकुशोत्तरम् ’भन्ने उल्लेख भएबाट कुशासनले गर्दा हाम्रो शरीरमा प्राप्त उर्जालाई पृथ्वीमा जानलाई रोक्ने अर्को साधन पनि कुश हो। देवीदेवताको पूजा गर्दा, यज्ञयज्ञादि कर्म गर्दा ,हवनादि कर्म गर्दा जतिपनि कलश स्थापना गरिन्छ।
ती कलशहरूमा कुश राख्ने गरिन्छ, किनभने यसमा वैज्ञानिक कारण कलशमा कुश राखेपछि कलशमा रहेको जल अपवित्र र अशुद्ध नहोस्, लामो समयसम्म प्रयोगका रूपमा रहेको जल जीवाणु रहित बनोस् भनेर कुशलाई कलशको जलमा राख्ने गरिन्छ। कुशको प्रयोगबाट लक्ष्मी प्राप्ति हुने, यश वृद्धि हुने, तेज वृद्धि हुने साधकमा एकाग्रता हुने हुनाले कुश अनिवार्य रूपमा प्रयोग गर्नुपर्दछ।
धर्मदर्शनले ‘पितृदेवो भवः’ भनि अत्यन्तै स्तुत्य गान गाउँदछ। पिता भनेका देवता हुन्। पिता शब्दको अर्थ हुन्छ पा रक्षणे धातुबाट पिता शब्द बन्दछ। यः पातिः सः पिता जसले रक्षा गर्नुहुन्छ उहाँको नाम नै पिता हो। पितामातालाई बालकलाई जन्माउन हुर्काउन जति दुःख सहन पर्छ त्यसको ऋण चुक्ता गर्नकालागि बालकले सयौँ वर्ष मातापिताको सेवा गरे पनि तिर्न सक्दैन।
यस कुरालाई बुझेर मातापितालाई आदर, प्रेम, सम्मान गर्दै रहनु सन्ततिको कर्तव्य हो। जन्म दिने,यज्ञोपवीत संस्कार गराइदिने, विद्या प्रदान गर्ने, अन्न दिने, भय हटाइदिने समेत यी पाँच क्रिया गरिदिनेलाई पिता भनिएको छ। यसरी नै
पद्यपुराणमा पनि ः
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरे प्रीतिमापन्ने प्रियन्ते सर्वदेवता ।। भनिएको छ। यसर्थ पिता नै धर्म, स्वर्ग, तप र सबै देवता नै पिताको रूप भएकाले जसरी हुन्छ आफ्ना माता पिता खुसी हुनुहुन्छ भने सबै देवता खुसी हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ।




