२८ भदौ , काठमाण्डौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपास रहेको छ। मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना देखिएको छ। हाल देशभरको मौसम सामान्यतया बदली रहेको छ।
विभिन्न प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भू–भागका साथै सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
देशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
साथै, यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन समेत आग्रह गरिएको छ ।
यसैबीच भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गमा नयाँ ट्रयाक खुलेको छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।
कृष्णभीरमा भासिएकै ठाउँभन्दा माथि नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारीको सहज आवतजावतका लागि तयार पार्ने काम यतिबेला धमाधम भइरहेको छ । पहाड काटेर २५० मिटर ट्रयाक दुवैतिर जोड्ने काम सकिइसकेको छ । ग्राभेल, रोलिङको काम आइतबारबाट सुरू गर्ने र ३–४ दिनमा यही भदौ मसान्तभित्रै सकेर यातायात सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन् ।
त्रिशुलीले सडकको बेस नै कटान गरेर भासिएकाले नयाँ ट्रयाक खोल्नुपरेको उनले बताइन् । नयाँ खोलिएको ट्रयाकले आवतजावतमा दुःख नदिने उनको विश्वास छ । कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु ढुवानी प्रभावित छ । यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ ।
हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा पनि सवारीको चाप बढेकाले काठमाडौँ आउजाउ गर्न असहज भइरहेको छ । कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।




