२८ भदौ , काठमाण्डौ ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ । पहिचान नभएका शवहरूलाई डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ ।

हालसम्म मृतक र तिनका आफन्तको नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ । बाढीमा परेका ४ हजार ८९ जना अझै बेपत्ता छन् । प्रभावित क्षेत्रमा खोजी, उद्धार र सहायताका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी खटाइएको छ ।
चिलिमे, त्रिशूली लगायतका जलविद्युतका सुरुङमा अझै खोजी अभियान जारी छ । शनिबारसम्ममा एक हजार ३८४ जनाको शव फेला परेको छ। तर १०३ वटा मात्रै शवको सनाखत भएर आफन्तलाई बुझाइएको छ। नेपाल प्रहरीका प्रवक्ता काफ्लेले शव चिन्न सकिन्छ कि भनेर प्रहरीले आफ्नो वेबसाइटमा एक हजार ३३४ वटा शवका तस्बिर अपलोड गरेको बताए।
यसअघि आफन्तले वेबसाइटमै राखेका कतिपय तस्बिर हेरेर शवको सनाखत गरेका थिए। अहिलेसम्म जसले आफन्तको शव पनि पाएका छैनन्, उनीहरू डीएनएको रिपोर्ट पर्खिरहेका छन्। डीएनए परीक्षणका लागि बाढीमा हराइरहेका व्यक्तिका आफन्तको रगत संकलन भइरहेको छ। हालसम्म एक हजार ७७९ जना रगत संकलन गरिएको प्रहरीले जनाएको छ।
डीएनएका लागि रगत दिने आफन्तको संख्या दिनदिनै बढ्दो छ। बाढीपछि चार हजारभन्दा बढी मानिस हराइरहेका छन्। अब अहिलेसम्म भेटिएका शव कसका हुन् भनेर थाहा पाउन डीएनए नै अन्तिम विकल्प देखिएको छ। सनाखत हुन नसकेका शव भने जमिनमुनि पुरिएको छ।
पुरिएका शव पनि डीएनए मिलेमा आफन्तलाई निकालेर बुझाउने तयारी छ। अहिलेसम्म आफन्तको अत्तोपत्तो नलागेपछि कतिपय परिवारले भने जिवित भेटिने आश मारेका छन्। उनीहरूले कुशको शव बनाएरै अन्तिम संस्कार गरिसकेका छन्। तर, कतिपय भने डीएनए गरेर भए पनि शव लिएर मात्रै अन्तिम संस्कार गर्न कुरिरहेका छन ।
शवबाट नमुना संकलन गरेर सामाखुशीस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को ल्याबमा डीएनए परीक्षण भइरहेको छ। अब शव पहिचान गर्ने विकल्प नै डीएनए भएको र नेपालसँग चार वटा मात्रै उपकरण रहेकाले विभिन्न देशले पनि सहयोग गरेका छन्।
कोरियाले दिएका चार वटा उपकरण प्रहरीको ल्याबमा सञ्चालनमा आएका छन्। अरु उपकरण भने जडान गर्नै बाँकी छ। खुलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख डीएनए विज्ञ निराजन थापाले अहिलेकै हिसावले काम हुँदा साढे दुई महिनाजति डीएनएका लागि समय लाग्ने बताए।
यसअघि चीनले दिएका तीन वटा उपकरण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा लगिएको थियो। तर शवको डीएनए गर्नका लागि ती उपकरण प्रयोगमा आएका छैनन् । यसअघि ल्याएका उपकरणबाट काम नभएपछि चीनियाँ विज्ञ टोलीले अरु मेसिन मगाएको छ। ती उपकरण नेपाल आइसकेका छैनन्।
दक्षिण कोरियाले दिएका चार वटा उपकरण प्रहरी प्रयोगशालामा जडान गरिएको छ। ती सञ्चालनमा रहेको प्रहरी प्रवक्ता काफ्लेले बताए। प्रहरीसँग यसअघि दुई वटा उपकरण थिए। तीबाट पनि शवको डीएनए भइरहेको छ। भारतबाट आएका मेसिन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छन्। जडान गरेर सञ्चालनमा ल्याउन बाँकी छ।
ती जडान भए पनि शवको डीएनएका लागि नभएर रगतबाट हुने डीएनएमा मात्रै काम लाग्नेछ। अहिले संकलन गरिएका शवका डीएनए नमुनामध्ये नौ सय जति विधि विज्ञान र नास्टमा पठाइएको छ। बाँकी प्रहरीको ल्याबमा छन्। डीएनएको रिपोर्ट आउन समय लाग्ने भएपछि नेपाल प्रहरीले प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि ल्याब सञ्चालनको तयारी गरेको छ।
अहिले हेटौँडामा उपकरण खरिद गरेर जडानको काम भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए। ल्याब सञ्चालनका लागि आवश्यक बजेट सरकारसँग माग गरिसकिएको छ। यसअघि प्रहरीसँग एउटा मात्रै ल्याब हुँदा वर्षमा तीन सय जति मात्रै डीएनएको रिपोर्ट आउने गरेको थियो। यसअघिका विभिन्न आपराधिक घटनाकै दुई हजार आठ सय जति नमुना परीक्षण गर्न बाँकी छ।
एउटा शवको डीएनए गर्न चार दिनसम्म लाग्ने फरेन्सिक विज्ञको भनाई छ। प्रहरीले शवको डीएनएबाहेक मृतकको औँठाछाप भिडाएर पनि शवको पहिचान गर्ने प्रयास गरिरहेको छ। यसका लागि शवको औँठाछाप लिने र पहिले ती व्यक्तिले विभिन्न प्रयोजनका लागि दिएका औँठाछापसँग भिडाएर पनि पहिचान गर्ने प्रयास भइरहरको प्रहरीले जनाएको छ।
यसका लागि सिंगापुरले पनि एउटा उपकरण दिएको छ। त्यसबाहेक नेपालले आफूसँग भएका उपकरणबाट पनि काम गरिरहेको काफ्लेले बताएका छन् । शव पहिचानमा सहयोग गर्न चीन, भारत, दक्षिण कोरिया र सिंगापुरबाट उपकरण तथा जनशक्ति आएको छ।
यसैबीच गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विशेषगरी ग्रामीण समुदायमा गम्भीर क्षति पु¥याएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार बाढीले करिब एक हजार ८०० हेक्टर कृषियोग्य जमिन (विशेषगरी धानबाली) नष्ट गरेको छ भने हजारौँ पशुपन्छी मरेका छन्।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको यामअगावै उत्पादन पुनस्र्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गरेकी हुन्।
एफएओको प्रारम्भिक मूल्याङ्कनअनुसार कृषियोग्य जमिन, माछापोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आम्दानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ। बाढीपश्चात् नेपाल सरकारले गरिरहेको राहत तथा उद्धार कार्यमा सहयोग गर्दै एफएओले आपत्कालीन पशु स्वास्थ्य सेवा सञ्चालन तथा कृषि र ग्रामीण जीविकोपार्जनमा परेको क्षतिको मूल्याङ्कनलगायतका कार्य अघि बढाइरहेको छ।
एफएओकी उपमहानिर्देशक बेथले हालैको बाढीले मानवीय रूपमा अत्यन्त पीडादायी क्षति पु¥याएको बताइन्। उनले भनिन्, ‘एक हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, हजारौँ अझै बेपत्ता छन् र सम्पूर्ण समुदाय नराम्ररी प्रभावित भएका छन्।’
बाढीले घर र भौतिक संरचना मात्र नष्ट नगरी धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य स्रोतसमेत समाप्त गरिदिएको उनले उल्लेख गरिन्। खेतहरू माटो र गेग्रानले पुरिएका छन्, माछापोखरी बगेका छन्। सडक, पुल तथा बजारमा क्षति पुगेका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको उनले बताइन्।
एफएओको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब एक हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ, जसबाट झन्डै सात हजार ७०० मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान छ। किसान परिवारका लागि यसले वर्तमान बाली मात्र गुमाएको होइन, आगामी उत्पादन र आम्दानीका अवसरसमेत सङ्कटमा पारेको एफएओले जनाएको छ।
प्रभावित क्षेत्र नेपालका महत्त्वपूर्ण पशुपालन केन्द्रमध्ये एक हो। प्रभावित ११ वटा पालिकामा बाढीअघि करिब तीन लाख ५० हजार गाईभैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा थिए। यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो । यससँगै अमेरिकाले हालसम्म कुल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ ।
प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको बताइएको छ ।
यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराइने बताइएको छ । सम्पर्कविहीन बनेका दुर्गम समुदायसम्म पुग्न हवाई तथा स्थल यातायातको प्रयोग गरी मानवीय सहायता आपूर्ति शृंखलामा देखिएका अवरोध हटाउने प्रयास भइरहेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कैथोलिक रिलिफ सर्भिसमार्फत ६ लाख ८५ हजार डलरको सहायता भोजन, आश्रय, खानेपानी, सरसफाइ, सुरक्षा तथा वित्तीय सहयोगका लागि उपलब्ध गराइएको अमेरिकाले जनाएको छ । यसअन्तर्गत अत्यावश्यक आश्रय सामग्री, भोजन, कम्बल, प्लास्टिक सिट, पाल, सौर्य बत्ती तथा डिग्निटी किट वितरण गरिँदै गरेको बताइएको छ ।
बालबालिकाको सहयोगका लागि ‘बालमैत्री’ स्थानसमेत सञ्चालन भइरहेको अमेरिकाले जनाएको छ ।अर्कातर्फ, झपिगो, एफएचआई–३६० र युनिसेफमार्फत स्वास्थ्य, पोषण तथा सरसफाइका लागि ३ लाख ६५ हजार डलर उपलब्ध गराइएको जनाएको छ ।
उता, एफबीआईका फोरेन्सिक विशेषज्ञले विपद्पीडितको पहिचानका लागि नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका बताइएको छ । यी मानवीय तथा फोरेन्सिक विशेषज्ञले अमेरिकी नागरिकका परिवार तथा यस त्रासदीका सम्पूर्ण पीडितको पहिचानमा अधिकारीलाई सहयोग गरिरहेका छन् ।
अमेरिकी सेनाले नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत अभियानका लागि ५ हजार विशेष विपद् पीडित पुनःप्राप्ति सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–इन्ड लोडर उपलब्ध गराएको अमेरिकाले जनाएको छ । चार सदस्यीय अमेरिकी सैन्य सिभिल अफेयर्स टोली मानवीय तथा विपद् सहायता परियोजना सञ्चालन गर्न घटनास्थलमै परिचालित रहेको अमेरिकाले जनाएको छ ।




