आज हरितालिका तीज, के छ महिमा ? कसरी सुरु भयो ?

२९ भदौ ८३, सोमबार
Share this
705shares

२९ भदौ , काठमाण्डौ ।

Advertisement

हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउने धार्मिक मान्यता छ । तीजका अवसरमा आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको विहानै देखि भीड लागेको छ ।

Advertisement

दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीहरुका लागि चार वटा रुट तय गरिएको छ । मित्रपार्क, उमाकुण्डतर्फबाट जाने दर्शनार्थीहरु बासुकीनागको उत्तरतर्फको ढोकाबाट, गौशाला–जयबागेश्वरीतर्फबाट जाने दर्शनार्थीहरु जयबागेश्वरीबाट देब्रेतर्फको बाटोबाट १ नम्बर गेट अगाडि राखिएको अस्थायी आकाशेपुल हुँदै, सिनामंगलतर्फबाट जाने दर्शनार्थीहरु तीलगंगा पर्यटन काउण्टरसँगै रहेको गेट, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुल पार गरी पूर्व मुहार र पिंगलास्थानतर्फबाट जाने दर्शनार्थीहरु पिंगलास्थानको ढोका हुँदै दक्षिण मुहारको दर्शन गरी फर्किने व्यवस्था गरिएको छ ।

Advertisement

मन्दिर बाहिर पाँच वटा लाइन र मन्दिर प्रवेश गरेपछि ८ वटा लाइनमा विभाजन गरी दर्शन गराइने पनि कोषले जनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरको प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ ।

वृद्ध, अशक्त, शारीरिक अपांगता भएका र स–साना बालबालिका भएका दर्शनार्थीलाई प्राथमिकता पूर्व सहज दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज विशिष्ट व्यक्तिहरुका लागि कोषको कार्यालय परिसरमा सवारी पार्किङको व्यवस्था गरिएको र अन्यका लागि भण्डारखाल, सिफलचौर, वनकाली पार्किङ र तीलगंगा आँखा अस्पताल अगाडिको खाली स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

उमाकुण्ड पार्किङ क्षत्रे भने आज बन्द गरिने कोषले जनाएको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ ।

सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तीजको व्रतको प्रचलन शुरु भएको मान्यता छ। नारीहरुले तीजमा नाचगान गरेर रमाइलो पनि गर्छन्। नारीहरु आज विशेष गरी रातो, त्यसवाहेक हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् ।

तर अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ ।

हिजोआज तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । महिलाहरुको उन्मुक्तिका रुपमा मनाईने महान पर्व हरितालिका तिजको संस्कार र संस्कृतिमा समयको रफ्तार सँगै निकै परिवर्तनहरु देखा पर्न थालेका छन् ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो भन्ने कुरामा कुनै दुईमत छैन । तर, यसको महत्व पहिले र अहिलेमा फरक पो पर्न थालेको होकि भन्ने भान आज भोलि एक महिना अघिबाट लाग्ने तिजको दरको माहोलले प्रस्ट पार्ने गरेको छ । तीजको परम्परामा द्वितीयाका दिन हिजो माइतीघरमा सबै दिदीबहिनीहरू जम्मा भइ दर खान्छन् ।

यस दिनलाई दरखाने दिन पनि भनिन्छ । तृतीयाका दिन नुहाइधुवाई गरी मन र शरीरलाई शुद्ध र सफा बनाइ भगवान् शिवको पूजाआराधनापछि भगवानका गुणगान गाइएका, आफूले जीवनमा भोगेका वेदना र पीडाका गीतहरू र अन्य सामाजिक विषयवस्तुका गीतहरू गाएर महिलाहरू समूह बनाइ नाचगान गर्ने प्रचलन र परम्परा हो ।

साथै यस दिन निराहार र निर्जला व्रत बसी विभिन्न मठमन्दिर गइ भगवान शिवको आराधना र पूजा गर्ने प्रचलन पनि छ । तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको छ ।

पार्वतीले शिव स्वामी पाएको धार्मिक कथनअनुसार विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ । तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले आदिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ ।

विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको कुरा बुझ्न सकिन्छ। हिजो दर खाएर सुरु भएको तीज चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने गर्दछन् ।

 

शिव पुराणअनुसार हरितालिका तीजका दिन पार्वतीले भगवान् शिव पति पाउँ भनेर १०८ वर्षसम्म तपस्या गरेको भन्ने धार्मिक मान्यता छ । त्यसैको नक्कल गरी अहिले पनि निर्जला व्रतको प्रावधान राखिएको छ । तर पोषणविद्हरू भने निर्जला जस्तो कठोर व्रत बस्न नहुने तर्क गर्छन् ।

उनीहरु व्रत बस्दा फलाहार गरेर व्रत बस्नु उपयुक्त हुने सुझाव दिन्छन् । अर्काेतर्फ महिलाले व्रत बसेर पतिको आयु बढ्छ भन्ने तर्क धार्मिक रूपमा स्वीकार्य भए पनि यसको वैज्ञानिक आधार नरहेको उनीहरुको तर्क छ । हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ ।

पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने घर न थर भएका, विष भाङ, धतुरो खाने दिगम्बर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन् । पार्वतीले चुपचाप आँसु बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जलि नदिई विद्रोहमा उत्रिइन् ।

पार्वतीले आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गर्ई पानी पनि नखाई व्रत सुरु गरिन् । हरितालिकाको शाब्दिक अर्थलाई केलाउँदा ‘हरिता’ र ‘अलिका’ भन्ने शब्दबाट बनेको हो । यसमा रहेको हरिता भन्ने शब्दले हरण गरिएको भन्ने अर्थ र अलिकाको अर्थ साथीहरूद्वारा भन्ने अर्थ बुझाउँछ ।

साथीहरूद्वारा हरित पार्वतीले निर्जला व्रत बसेकोले यसदिन महिलाहरूले निर्जला व्रत बस्ने गरेको परम्परा छ । तीजको साँझ १०८ सुते बत्ती प्रज्वलन गरिन्छ र ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्रमाको पूजा गर्ने गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top