२९ भदौ , काठमाण्डौ ।
नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाका दिनमा विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत तीन दिनदेखि ग्यास विक्रेतामार्फत कार्यालय परिसरमै ग्यास ल्याएर सोझै बिक्री वितरणको व्यवस्था गर्दै आएको थियो।

तर, भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनमा समेत कार्यालय जुट्नुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री वितरण स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बताए ।
यद्यपि, ग्यासको बिक्री वितरण पूर्णरूपमा बन्द भने नहुने कार्यालयले जनाएको छ। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जानकारी कार्यालयले दिएको छ। नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो करिब ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो। त्यस्तै, इण्डियन आयल कर्पोरेशनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ।
भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ र बीपी राजमार्ग हुँदै करिब ३ लाख ९९ हजार ५२९ वटा ग्यास सिलिण्डर काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वितरण गरिएको छ। निगमका अनुसार यस अवधिमा दैनिक औसत ४० हजार सिलिण्डर उपभोक्तासम्म पु¥याइएको छ र वैकल्पिक मार्गबाट आपूर्ति निरन्तर भइरहेको छ।
यसैबिच, भदौ १० गतेको बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ। कृष्णभीरको सडक पूर्ण रुपमा खुलाउन गृह मन्त्रालयलगायत सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।
सडक सञ्चालनमा आएपछि सोही मार्गबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने र काठमाडौँमा वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउने भएकाले आपूर्ति अवस्था थप सहज हुने निगमको विश्वास छ।
आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन निगमले उच्चस्तरीय समन्वय टोली गठन गरेको छ। साथै, सिलिण्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य रोक्न गृह मन्त्रालयसँगको समन्वयमा बजार अनुगमनलाई पनि तीव्रता दिइएको छ।
सरकारी अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २ सय ग्यास सिलिण्डर फेला पारेर उपभोक्तालाई वितरण गरिएको निगमले जनाएको छ। अनियमितता गर्ने विक्रेतालाई नियमानुसार दण्ड तथा जरिवाना समेत गरिएको छ।ग्यास सिलिण्डरको बिक्री–वितरणलाई थप पारदर्शी र व्यवस्थित बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी समेत भइरहेको निगमले जनाएको छ।
निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न, संयमित भएर नियमित प्रक्रियामार्फत ग्यास खरिद गर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। यस्तै निगमले आत्तिएर अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।
निगमले अतिरिक्त सिलिन्डर खरिद गर्दा अर्को व्यक्तिलाई आवश्यक परेको ग्यास नपुग्न सक्ने भन्दै आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न अनुरोध गरेको हो । निगमले गत वर्षका तीन महिना र चालु वर्षका तीन महिनामा बिक्री भएको एलपी ग्यासको तुलनात्मक विवरणसमेत सार्वजनिक गरेको छ ।
विवरणअनुसार २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५ सिलिन्डर बिक्री भएकोमा २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बिक्री भएको छ । त्यस्तै, २०८२ श्रावणमा ३१ लाख २१ हजार ४८ सिलिन्डर बिक्री भएकोमा २०८३ श्रावणमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।
२०८२ भाद्रमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएको थियो । चालु वर्ष २०८३ भाद्र २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर सक्रिय रहेको जनाएको छ ।
साथै, आपूर्ति तथा बजार अवस्थाबारे अद्यावधिक सूचना दैनिक रूपमा जानकारी गराउँदै जाने प्रतिबद्धता जनाएको छ । निगमले उपभोक्ताको धैर्य, सहयोग र समझदारीका लागि धन्यवादसमेत दिएको छ । नेपालमा मासिक करिब ४७ हजार मेट्रिकटन ग्यास खपत हुँदै आएको छ।




