२९ भदौ , काठमाण्डौ ।
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन् ।
भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन् ।
यसैबीच त्रिशूली– ३ ‘ए’ को सुरुङबाट १०औँ दिनमा जीवित उद्धार गरिएका प्राविधिक सञ्जय साह घर पुगेका छन् । तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह ८ दिनको अस्पताल बसाइपछि गाउँ फर्किए । बाढीमा परेर ९ दिनसम्म सम्पर्कविहीन साहलाई १०औँ दिन त्रिशूली ३ ‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो ।
एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् । साहलाई परिवारका सदस्य र आफन्तले केक काटेर र मिठाई बाँडेर स्वागत गर्दै खुसी साटासाट गरे । भेटिने आश मर्दै गएको बेला छोराको उद्धार भएको सामाजिक सञ्जालमा देखेपछि भगवान्को चमत्कार नै भएको महसुस भएको सञ्जयका बुबा रामफल साह बताउँछन् ।
सञ्जयकी पत्नी लक्ष्मी साह भन्छिन्, ‘मेरो श्रीमान् भेटिनु हुन्छ भन्ने आश मारिसकेको बेला मेरो सिन्दूर, छोरीको बाबालाई भगवान्ले दोस्रो जन्म दिएर पठाउनु भएकोमा भगवान्, सुरक्षाकर्मी तथा सबैलाई धन्यवाद दिन्छु ।’ सञ्जयले त्याहा पनि आफ्नो घटनाको बृतान्त सुनाएका छन् ।
उनले भनेका छन, बाढी आउने जानकारी आउनासाथ हामी सावधान भयौँ तर हामीसँग समय कम थियो । साथीहरूलाई निस्किन भन्दाभन्दै र आफूबाहिर निस्किने प्रयास गर्दागर्दै पानीले दिएन । एकै ठूलो छालले छोप्यो साथीहरू कहाँ कहाँ कसरी पुग्नुभयो ? थाहा भएन । म फसेको अँध्यारो डरलाग्दो सुरुङभित्र दिन हो कि रात पत्तै हुँदैनथ्यो । दुई तीन दिन भेन्टिलेसनमा बसेर बिताएँ । एक गेडा खानेकुरा थिएन । माटो मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर सुकिरहेको घाँटी रसाउनुको विकल्प थिएन तर नडराई महामन्त्र जप गरे । अनि हिम्मत बढ्यो । पुनर्जीवन पाएकामा खुसी लागे पनि साथीहरू अहिलेसम्म सम्पर्कमा नआएपछि दुःख लागेको छ । उद्धारकर्मीले चलाएको मेसिनको आवाज सुनेपछि बाँच्ने आशा जागे जाग्यो ।
साहले सुरुङमा बिताएको १० दिन मानवले गर्न नसक्ने संघर्ष थियो । प्रत्येक क्षण बाँच्नका लागि सङ्घर्ष भए पनि परिणाम भने मृत्यु देखिन्थ्यो । चारैतिर अँध्यारै अँध्यारो भएपछि रात र दिन छुट्याउन कठिन थियो । बाढीले सुरुङको स्वरूप नै परिवर्तन भएपछि बाटो पहिचान गर्ने अवस्था नभएपछि मरेतुल्य भएको महसुस भएको उनले बताएका छन् ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले विपद्को समयमा चिलिमेमा फसेका ६ जनाको उद्धार कार्यमा खटिएका आफूहरूमाथि नकारात्मक प्रचार नगर्न आग्रह गरेका छन्। विदेशी तथा स्वदेशी सञ्चारमाध्यममा आएका आफूविरुद्धका समाचार तथा रिपोर्टप्रति आपत्ति जनाएका छन्।
देश विपद्मा रहेका बेला इन्टरनेटमा उपलब्ध रिपोर्टलाई तोडमोड गरेर आफूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको उनको आरोप छ। उनले भनेका छन्, ‘पहिले स्वदेशीहरूले सकेसम्म खुट्टा ताने, अहिले भने विदेशी मिडिया नै लागेका छन्। देश विपत् मै भएका बेला इन्टरनेट मै भएका रिपोर्टहरू लाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोज्नु यो उपयुक्त समय होइन। यसको जवाफ म कता आएर दिनु पर्ने हो म तयार छु।’
उनले आफू अफ्रिकादेखि युरोप र एसियाका प्रत्येक देशमा काम गरेको रिपोर्ट नै बुझाउन तयार रहेको बताएका छन्। उनले लेखेका छन्, रातभरि काम, विदेशी मिडियामा आएका कुराको खण्डन । रातभरि नसुतीकन खोला किनारमा जीवन उद्धारको काम गरेका छौँ। सुत्ने बढीमा २–४ घण्टा हो, १८+ दिन भयो, शरीरमा घाउ र बिबिरा आएका छन्, खुट्टा लेदोले खाएर घाउ भएको छ। सुत्न सकेका छैनौँ, फिल्ड छोड्न नै सकेका छैनौँ। राति अलिकति केही कुरा बिग्रियो भने मनमा पाप नै गरियो कि जस्तो हुन्छ। भित्र जीवित ६ जना भगवान् हुनुहुन्छ, सकेको धर्म गर्ने हो भनेर लागेको छु। विडम्बना, यसरी काम गर्दा पहिले स्वदेशीहरूले सकेसम्म खुट्टा ताने, अहिले भने विदेशी मिडिया नै लागेका छन्। देश विपत् मै भएका बेला इन्टरनेट मै भएका रिपोर्टहरू लाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोज्नु यो उपयुक्त समय होइन। यसको जवाफ म कता आएर दिनु पर्ने हो म तयार छु।
मलाई किन अमेरिकाको मात्र भन्छौ ? सकिन्छ भने चिनियाँ एजेन्ट पनि भन, चीनको मन्त्रालय अन्तर्गत बसेर काम गरेको छु, चिनिया रिपोर्ट अनलाइनमै छ। किर्गिस्तानमा काम गरेको छु, रसियन एजेन्ट भन। भारतमा ६ महिना योग–ध्यान सिकेको छु, भारतले नेपालभरि बाट २५ जना इन्जिनियर लाई दिने अवार्ड पनि दिएको छ, भारतीय एजेन्ट भन।
के–के प्रमाण चाहिने हो, अफ्रिकादेखि युरोप र एसियाका प्रत्येक देशमा काम गरेको रिपोर्ट नै बुझाउन तयार छु। तर यसरी जोखिम मोलेर टेन्ट र फिल्डमा खोला किनारमा पानीमा भिज्दै विशुद्ध मानव धर्म पालन गर्दा विदेशी मिडियालाई मानवता देखाउन अनुरोध गर्दछु।
खुट्टै तान्नु परे पनि यो उद्धार सकेपछि तान्न विदेशी र स्वदेशी मिडियालाई हार्दिक अनुरोध गर्दछु। यस्तो दैवी विपत्ति पर्दा झन् दुःख दिनुभन्दा सकिन्छ भने सहयोग गरिदिनुस्, सक्दै सक्नुहुन्न भने पनि नकारात्मकता नफैलाइदिनुहुन अनुरोध गर्दछु। हाम्रो सम्पूर्ण समय नकारात्मकतासँग होइन दैवी प्रकोप सँग लड्न चाहन्छौँ। सहयोग गरिदिनु होला।
म हरेक कुरामा सकारात्मकता खोज्छु, मेरो प्रतिस्पर्धी कसैलाई १ शब्द गाली गर्दिन चाहे त्यो प्रदीप ज्ञवाली हुन् चाहे चन्द्र भण्डारी। मेरो प्रतिस्पर्धी शेरबहादुरलाई शुद्ध उहाँकै गाउँमा उहाँकै समर्थकहरूका बिचमा लाइनमा बसेर मालाले स्वागत गर्ने मान्छे हुँ। नकारात्मकता र गाली एक छिन हिट होला तर दीर्घकालीन शान्ति र विकासको लागि सकारात्मक नै अचुक अस्त्र हो भन्नेमा म दृढ विश्वास गर्छु।
जीवनभरि सात्त्विक जीवन शैली अपनाएको छु, सात्त्विक नै सोच्छु। सकारात्मकता सोच्छु र त्यही नै फैल्याइदिन अनुरोध गर्दछु। सम्भवतः हामीले जीवित उद्धार गर्न सक्यौँ भने विश्वलाई नै झकझक्याउने काम हुनेछ। योभन्दा ठूलो धर्म जीवनमा अरू केही पनि हुँदैन भनेर काम गरेका छौँ।
६ जनालाई जीवित उद्धार गर्न व्यग्र प्रतीक्षामा छौँ, प्रार्थना गरिरहेका छौँ। हजुरहरूको भरपुर सहयोगको अपेक्षा गरेका छौँ। अरूले जे जे भनेपनि भगवान रुपी जनताले निष्पक्ष न्याय गर्नेछन् भन्नेमा म ढुक्क भएर काम गर्दै छु। अन्तर्राष्ट्रिय खोज पत्रकारिता पोर्टल द ग्रेजोनले अमेरिकी सरकार समर्थित विभिन्न नियोगका आन्तरिक तथा गोप्य दस्तावेजहरू भन्दै सार्वजनिक गर्दै नेपालको पछिल्लो राजनीतिक नेतृत्व अमेरिकी रणनीतिक योजना र तालिममार्फत सत्तामा पुगेको दाबी गरेको छ ।
प्रतिवेदनका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा काठमाडौं महानगरका तत्कालीन मेयर बालेन शाह, गृहमन्त्री तथा हामी नेपाल एनजीओका संस्थापक सुदन गुरुङ र तथा सांसद सागर ढकाललाई अमेरिकी नियोगहरूले सर्टलिस्ट गरेका थिए ।
दस्तावेजका अनुसार, यी नेताहरूलाई संसद्मा पु¥याउन सामाजिक सञ्जालमा कसरी पपुलर हुने, पब्लिक स्पिकिङ कसरी गर्ने, कुन अडियन्सलाई कस्तो कुरा बोलेर प्रभावित पार्ने र कसरी म्यानिपुलेट गर्ने भनेर विशेष तालिम दिइएको दाबी गरिएको छ । यही विषयमा सांसद् ढकालले आक्रोश प्रकट गरेका छन् ।




