३० भदौ, काठमाण्डौ ।
अमेरिकामा आयोजना हुने कानुन तथा कृत्रिम बुद्धिमत्ता ग्रीष्मकालीन फेलोसिप २०२७ का लागि आवेदन खुला ।
पूर्ण रूपमा वित्तीय सहयोग उपलब्ध हुने यो फेलोसिपमा विश्वका जुनसुकै देशका नागरिकले आवेदन दिन सक्ने । १० हप्तासम्म सञ्चालन हुने फेलोसिप सन् २०२७ को जुन १४ देखि अगस्ट २० सम्म हुनेछ।

यसअन्तर्गत जुन २१ देखि २५ सम्म अमेरिकाको वासिङ्टन डीसीमा प्रत्यक्ष कार्यक्रम आयोजना गरिनेछ भने अन्तर्राष्ट्रिय आवेदकका लागि भिसा प्रायोजनको सुविधा पनि उपलब्ध हुने ।
फेलोसिपमा छनोट हुनेले प्रतिहप्ता २ हजार अमेरिकी डलर भत्ता, अमेरिका आउने–जाने हवाई टिकट, बसोबास, खाना तथा भिसा प्रायोजन पाउने ।
सहभागीलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान र सीप प्रदान गर्दै यसको विकासलाई सुरक्षित, न्यायपूर्ण र सबैका लागि लाभदायक बनाउनु नै कार्यक्रमको उद्देश्य रहेको इन्स्टिच्युट फर ल एन्ड एआईको जानकारी ।
सहभागीले अनुभवी मार्गदर्शकसँग काम गर्नुका साथै नीति निर्माता, अनुसन्धानकर्ता र विज्ञसँग अन्तरक्रिया गर्ने अवसर पाउने ।
कृत्रिम बुद्धिमत्ताको विशेषज्ञता अनिवार्य नरहेको यस कार्यक्रममा कानुनका विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक तथा नयाँ क्षेत्रमा करियर बनाउन चाहने व्यवसायीले पनि आवेदन दिन सक्ने ।




