काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रकृति पहिचान गर्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।
समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। हिमनदी, चट्टान तथा भू–भागको अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध अध्ययन गरिने मन्त्रालयले जनाएको छ।अध्ययनले बाढीको मूल कारण, घटनाक्रममा सक्रिय प्राकृतिक प्रक्रिया तथा जलवायु परिवर्तनको सम्भावित भूमिकासमेत वैज्ञानिक रूपमा मूल्याङ्कन गर्नेछ। साथै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक तथ्यांकसमेत अध्ययनमा समेट्ने तयारी छ।
मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा हुनेछ। पहिलो चरणमा घटनाको समयक्रम र भौगोलिक क्षतिको अध्ययन, दोस्रोमा तत्कालीन तथा अन्तर्निहित भौतिक कारणको पहिचान र तेस्रो चरणमा जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ।समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिइएको छ। अध्ययनबाट प्राप्त प्रमाणका आधारमा बाढीको वैज्ञानिक प्रकृति र उपयुक्त नामसमेत निर्धारण गरिने मन्त्रालयले जनाएको छ।




