एमालेका दुई प्रतिवेदन एक गर्ने जिम्मेवारी प्रदीप ज्ञवालीको काँधमा

१ असोज ८३, बिहीबार
Share this
689shares

काठमाडौं । नेकपा एमालेभित्र नेताहरूले तयार पारेका दुईवटा प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई दिइएको छ। बिहीबार ओली निवास गुण्डुमा बसेको नेताहरूको बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको एक पदाधिकारीले जानकारी दिए।

Advertisement

एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो। प्रवास कमिटीबाट समेत भर्चुअल माध्यममार्फत सुझाव मागिएको थियो।

ती सुझावका आधारमा कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिइएपछि कार्यदल संयोजक बादलले अर्को प्रतिवेदन तयार पारेका थिए। बादलको प्रतिवेदनमा पोखरेलको प्रतिवेदनका अधिकांश निष्कर्षको खण्डन गरिएको छ।

Advertisement

भदौ २७ देखि २९ गतेसम्म बल्थली रिसोर्टमा कार्यदलको निर्णायक बैठक बसे पनि बैठकले ठोस निष्कर्ष निकाल्न सकेको थिएन। त्यसपछि दुईवटा प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी बादलसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिइएको थियो। असोज १ गते बस्ने अर्को बैठकमा एकीकृत मस्यौदा प्रस्तुत गर्ने मोटामोटी सहमति गर्दै बल्थलीको आवासीय बैठक सकिएको थियो।

उक्त बैठकमा सहभागी एक नेताका अनुसार कार्यदल संयोजक बादलले आफूले तयार पारेको प्रतिवेदन अध्यक्ष ओलीकै धारणा रहेको बताएका थिए। अध्यक्षलाई ‘माइनस’ गरेर कोही अघि बढ्न नसक्ने भन्दै उनले ओलीको बचाउ गरेका थिए।

Advertisement

महासचिव पोखरेलको प्रतिवेदनमा भने पार्टीको समग्र जीवनलाई अघि बढाउने ‘ग्राउन्ड रियालिटी’ समेटिएको अधिकांश पदाधिकारीको धारणा थियो। आफू अल्पमतमा पर्ने अवस्था देखिएपछि बल्थली बैठकबाटै बादलले ओलीको सल्लाहमा मध्यमार्गी उपाय निकाल्दै असोज १ गते पुनः बैठक बस्ने प्रस्ताव गरेको ती नेताको भनाइ छ।‘बल्थली बैठकबाट सबै कुराको टुंगोमा पुग्ने भनिएको थियो। तर सोचेजस्तो वातावरण नदेखिएपछि बादलजीले अर्को बैठकमा टुंग्याऔँ भन्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने।

तर, बिहीबार बसेको बैठकमा पनि दुई प्रतिवेदनबीच सहमति जुट्न सकेन। नेताहरूले आ–आफ्नो प्रतिवेदनका निष्कर्षको बचाउ गर्दै अघि बढेपछि अध्यक्ष ओली नेताहरूप्रति थप असन्तुष्ट बनेका थिए। तर कार्यदलको प्रतिवेदनमा समेटिएका भावनाअनुसार पार्टीलाई अघि नबढाए जनतामाझ जाने आधार नहुने भन्दै महासचिव पोखरेलले अडान लिएपछि नेताहरूले प्रस्ताव गरेको मध्यमार्गी विकल्पमा ओली सहमत भएको ती नेताको भनाइ छ।

‘दुईवटै डकुमेन्टलाई मर्ज गर्ने जिम्मेवारी प्रदीपजीलाई दिऊँ भन्ने प्रस्ताव अध्यक्ष कमरेडकै हो,’ ती नेताले भने, ‘दुवै प्रतिवेदनलाई मर्ज गरेर अघि बढ्ने विषयमा ज्ञवालीजीको नाममा नेताहरूले इन्कार नगर्दा सहमती भन्ने बुझियाे। अब उहाँबाट कस्तो ड्राफ्ट आउँछ, त्यसपछि सहमत हुने–नहुने कुरा बुझिहालिन्छ।’

एमालेभित्र तीन धार

पछिल्लो समय एमालेभित्र ओलीलाई तत्काल नेतृत्वबाट हटाउनेदेखि सम्मानजनक बहिर्गमनको बाटो खोज्नेसम्मका विभिन्न धार देखिएका छन्। यसअघि विधान संशोधन गरेर ओलीलाई तीन कार्यकाल नेतृत्वमा निरन्तरता दिन मुख्य भूमिका खेलेका नेताहरू विष्णु पौडेल र शंकर पोखरेलसमेत निर्वाचनपछि ओलीको पक्षमा नरहेको नेताहरूको दाबी छ। अहिले भने ओलीको पक्षमा नेता रामबहादुर थापा ‘बादल’ बलियो रूपमा उभिएका छन्।

त्यस्तै, तेस्रो धारका रूपमा केही नेताहरूले तत्काल नेकपा एकता गरेर अन्तरिम व्यवस्थाको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिनुपर्ने भन्दै लबिङ गरिरहेका छन्।प्रचण्डसँग निरन्तर संवादमा रहेका नेताहरूले अध्यक्ष ओली पनि नेताहरूले आग्रह गर्दैमा तत्काल नेतृत्व छाड्नेभन्दा विद्यादेवी भण्डारीमार्फत विस्तारै नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा पुगेको दाबी गरेका छन्।‘अध्यक्ष ओलीजीको इच्छा पनि नेताहरूले भन्नेबित्तिकै नेतृत्व नछाड्ने, बरु विद्याजीमार्फत विस्तारै नेतृत्व हस्तान्तरण गर्ने मूडमा पुग्नुभएको छ,’ ती नेताले भने।

उनका अनुसार माओवादी धारका दोस्रो तहका नेताहरूलाई समेत बलियो पोजिसनमा ल्याएर भण्डारीलाई महाधिवेशनअघिको नेतृत्व लिन आग्रह गर्ने विषयमा छलफल भइरहेको छ।‘यसमा अहिले नेतृत्व छाड्दिनँ भन्ने ओलीजी र नेतृत्व छाडिहाल्नुस् भन्ने शंकरजीबीच पनि कुरा मिलाउन सहज हुनेछ। देशभरका कार्यकर्तामा उत्साह भर्न पनि विद्याजीलाई नेतृत्व लिन आग्रह गर्ने कुरा छ,’ ती नेताले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top