काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अलग भएका नेताहरूले ‘हुंकार मधेश अभियान’ अघि बढाउने घोषणा गरेका छन् । पुराना राजनीतिक शैली र व्यक्तिबाट देशको राजनीति अघि बढ्न नसक्ने निष्कर्षसहित उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् । असोज २ गते जारी विज्ञप्तिमा उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रमले जनता निराश बनेको र विभिन्न आन्दोलन तथा संघर्ष भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको उल्लेख गरेका छन् ।
पार्टी छाड्नेमा महासचिव केशवकुमार झासमेत छन् । त्यस्तै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव लगायत छन् । उनीहरूले मातृभूमिलाई सुहाउने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माण गर्नुपर्ने भन्दै उनीहरूले सामाजिक–सांस्कृतिक चेतना विकासका लागि अभियान, राजनीतिक चेतनाका लागि संघर्ष र आर्थिक चेतनाका लागि ‘विद्रोहको तयारी’ गर्ने बताएका छन् ।
विज्ञप्तिमा ‘औपनिवेशिकताको अन्त्य नभएसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव नहुने’ र लोकतन्त्र तथा शान्तिबिना समृद्धि हासिल गर्न नसकिने दाबी गरिएको छ । उनीहरूले अहिलेसम्मका उपलब्धिका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिँदै ‘विचारसहितको विकल्प र विकल्पसहितको विद्रोह’का लागि अबको यात्रा ‘हुंकार मधेश अभियान’सँग हुने बताएका छन् ।

साथै, समाजका विभिन्न क्षेत्रका सक्षम र योग्य व्यक्तित्वलाई एकताबद्ध गरी विस्तृत योजनासहित छिट्टै सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।





