काठमाडौं । चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्ले कार्यकारी निर्माता रहेको नयाँ फिल्म ‘बखत्ते’ निर्माण हुने भएको छ । ‘जारी’ निर्देशक तथा कवि उपेन्द्र सुब्बाको निर्देशनमा बन्ने फिल्मको शुक्रबार बिहान ललितपुरस्थित महालक्ष्मी मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो । यस फिल्ममा पनि काफ्लेले गीतकाे रचना गरेका छन् । उनीसँगै दानबहादुर कार्की समेत गीतकाे रचनाकार हुन् । संगीत भने शुशान्त गाैतम, प्रशान्त शिवाकाेटी र समिर खरेलले भरेका छन् ।
फ्रेन्ड्स सिनेमाज्का सञ्चालक तथा वितरक आशिष तामाङ र प्रदीपजी धामीको लगानीमा बन्ने फिल्मको छायांकन आगामी साताबाट काठमाडौंमा सुरु हुनेछ । आन्भी फिल्म्स र कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुने फिल्ममा ‘ऊनको स्वीटर’का जोडी विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा देखिनेछन् ।
मिरुनासँग निर्देशक सुब्बाको यो तेस्रो सहकार्य हो । यसअघि उनले मिरुनालाई लिएर ‘जारी’का दुई श्रृंखला निर्देशन गरेका थिए । फिल्मको लेखन पनि सुब्बा स्वयंले गरेका छन् । विपिनसँग भने सुब्बाकाे पहिलाे सहकार्य हाे । फिल्ममा विपिन र मिरुनासहित शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ ।
फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । शुभमुहूर्त कार्यक्रममा निर्देशक सुब्बाले लामो समय लिएर ‘बखत्ते’ बनाउन लागेको बताए । उनले इमान्दारीपूर्वक कथा लेखेकाले दर्शकले फिल्म रुचाउने विश्वास व्यक्त गरे ।





