काठमाडौं । मौसमजन्य सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि काठमाडौं महानगरपालिकाले पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र सक्रिय बनाउने निर्णय गरेको छ। बुधबार कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मंगाल, नाली तथा क्याचपिटको नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउने निर्णय गरेको हो।
बंगालको खाडीमा विकसित मौसम प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि महानगरले विपद् पूर्वतयारी र प्रतिकार्यबारे छलफल गरेको हो।बैठकमा कार्यवाहक प्रमुख डंगोलले सम्भावित जोखिमबारे नागरिकलाई समयमै सूचना पुर्याउने, विपद्का घटना भए तत्काल सहयोग उपलब्ध गराउने तथा वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन निर्देशन दिइन्।उनले पानीको प्रवाह रोकिन सक्ने जोखिमयुक्त स्थानमा पुनः सरसफाइ गर्न तथा आवश्यक जनशक्ति, साधन र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइन्। जोखिमयुक्त क्षेत्रको नियमित निगरानी गर्न र जात्रा सञ्चालन हुने क्षेत्रमा विपद् व्यवस्थापनको छुट्टै प्रणाली परिचालन गर्न पनि उनले आग्रह गरिन्।
‘पानीको प्रवाह रोकिने जोखिमयुक्त स्थानको दोहोर्याएर सरसफाइ गर्न जनशक्ति, साधन र उपकरण परिचालन गर्नु, प्रतिकार्यका लागि आवश्यक जनशक्ति, साधन तथा उपकरण तैनाथ राख्नु र जोखिमयुक्त भनेर पहिचान गरिएका ठाउँको नियमित निगरानी गर्नु,’ डंगोलले भनिन्।महानगरका प्रमुखका सल्लाहकार जलस्रोत तथा जलविज्ञान विज्ञ प्रा. डा. नरेशमान शाक्यले काठमाडौंमा यसअघि ठूलो वर्षा हुँदा ११० देखि १२० मिलिमिटरसम्म पानी परेको र यस वर्ष १३३ मिलिमिटरसम्म वर्षा हुन सक्ने आकलन रहेको बताए। उनले यसबाट आत्तिनुपर्ने अवस्था नरहे पनि सचेत हुनुपर्ने बताए।उनका अनुसार जोखिम मूल्यांकन गर्दा कति मिलिमिटर वर्षा भयो भन्नेभन्दा पनि कति अवधिमा कति पानी परेको छ भन्ने विषय महत्वपूर्ण हुन्छ। त्यसका आधारमा सम्भावित जोखिमको क्षेत्र पहिचान गरी आवश्यक सूचना प्रवाह गर्नुपर्ने उनले बताए।

महानगरले विपद् प्रतिकार्यका लागि ६ वटा र्याफ्टिङ बोट, ६ वटा पानी तान्ने पम्प, ५ वटा जेट मेसिन र २०० जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको जनाएको छ। डुबान समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति तथा नियमित सरसफाइका लागि दैनिक ३०० जना सरसफाइकर्मी परिचालन गरिएको छ। महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य सामग्री तथा उद्धार सामग्रीलाई तयारी अवस्थामा राखी आवश्यकताअनुसार ‘फास्ट रेस्पोन्स’मार्फत परिचालन गर्ने तयारी गरिएको विपद् व्यवस्थापन विभागका प्रमुख एवं समितिका सदस्यसचिव अनिरुद्र नेपालले जानकारी दिए।
बैठकको निर्णयअनुसार वडा तहका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन पत्राचार गरिएको छ। मौसमसम्बन्धी रियल टाइम सूचना प्रवाहका लागि सूचना प्रविधि विभागले जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी महानगरपालिकाका वेबसाइट तथा अन्य सूचना प्रणाली सक्रिय बनाउनेछ।विपद्को समयमा नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा महानगरभित्रका केही विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्ने तयारी पनि गरिएको छ। यसका लागि केही विद्यालयको निरीक्षणसमेत गरिएको महानगरले जनाएको छ।

विपद्बाट प्रभावित महानगरवासीलाई विपद् व्यवस्थापन कोषबाट आर्थिक सहयोग उपलब्ध गराउने संयन्त्रबारे पनि बैठकमा छलफल भएको छ। सहयोगका लागि विपद् व्यवस्थापन समितिका संयोजक, सम्बन्धित वडाका वडाध्यक्ष वा तोकिएका वडा सदस्य, विपद् व्यवस्थापन विभागका प्रमुख र सम्बन्धित क्षेत्र हेर्ने नगर प्रहरी अधिकृत सम्मिलित चार सदस्यीय समितिले सिफारिस गर्ने व्यवस्था गरिएको छ। बैठकमा विभिन्न वडाका डुबान सम्भावित क्षेत्रबारे जानकारी गराइएको थियो। स्वास्थ्य विभाग, महानगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस लगायतका अधिकारीले विपद् प्रतिकार्यमा स्रोतसाधनको एकीकृत परिचालन र आपसी समन्वयमा जोड दिएका थिए।





