पाराग्लाइडिङको विश्वकप नेपालमा हुने

पाराग्लाइडिङको विश्वकप नेपालमा हुने

काठमाडौँ, असोज २९
नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ ।

हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने उक्त प्रतियोगिता कार्तिक १५ देखि १९ गतेसम्म हुनेछ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णपदकका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको सहभागिता रहने महासचिव राउतले जानकारी दिए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ । छ चरणको अङ्कलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिनेछ ।

प्रतियोगिताका विजयी टोलीले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५००, १ हजार २०० र ७०० युरो प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७५० र ५०० युरो प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताको लागि रु एक करोड ६० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.