काठमाडाैं । सिक्किमको ग्यालसिङ जिल्लास्थित रिम्बीमा गएको भीषण पहिरोपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ गाेलेले अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्। मुख्यमन्त्रीले अविरल वर्षाका कारण रिम्बीको अवस्था गम्भीर रहेको भन्दै नागरिकको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताएका छन्। उनले प्रभावित क्षेत्रको निरन्तर निगरानी गर्न तथा जनधनको सुरक्षा सुनिश्चित गर्न सम्भव सबै उपाय अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन्।
पहिरोबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मुख्यमन्त्रीले कठिन परिस्थितिमा रिम्बीका बासिन्दासँग सरकार साथमा रहेको बताएका छन्। उनले भारी वर्षाका कारण थप जोखिम हुनसक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न आग्रह गरेका छन्।
सरकारले रिम्बीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने मुख्यमन्त्रीले बताएका छन्।




